बाँके/बर्दिया : ५० प्रतिशत भन्दा कम मुद्दा फस्र्यौट

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलले अदालतले लक्ष्य अनुसार प्रगति हासिल गरेको दाबी गरेका छन् । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास र मातहत बाँके तथा बर्दिया जिल्ला अदालतको चौमासिक समिक्षा बैठकलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश पौडेलले न्याय सम्पादनको कामलाई छिटो छरितो र पहुँचयोग्य बनाउन सबै लागि पर्नु पर्ने बताए ।

 
उच्च अदालत नेपालगन्ज संगै बर्दिया र बाँके जिल्ला अदालतका न्यायाधीशलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलले न्यायाधीशले आधार र कारण खुलाएर तथ्य, प्रमाण र कानूनका आधारमा न्याय निरोपण गर्नु पर्नेमा जोड दिए । न्यायाधीश, न्यायाधीश जस्तो भएर आफ्नो पदिय मर्यादामा बस्नु पर्ने पौडेलले बताए ।

 
कार्यक्रममा उच्च अदालत नेपालगन्ज इजलासका रजिष्ट्रार हिरण्य प्रसाद भण्डारीले २०७५ फागनु मसान्त सम्मको मुद्दाको लगत प्रस्तुत गदै जम्मा १३२६ मुद्दा मध्ये ६३१ फछ्र्यौट भइसकेको र ६९५ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिए । उनले कुल लगतको ४७.५८ प्रतिशत मुद्दाको फछ्र्योट भएको जानकारी दिए ।

 
यसै गरि बाँके जिल्ला अदालतका श्रेस्तेदार यदुराज शर्माले ंंंंंकुल बार्षिक लक्ष्यको फाल्गुण सम्मको फछ्र्यौट प्रतिशत ४०.९१ प्रतिशत रहेको जानकारी गराएका थिए । २ वर्षे नाघेका मुद्दा संख्याः १४०, १८ महिनादेखि २ बर्षभित्रको बाँकी मुद्दा संख्या २०७ रहेको बताए । नयाँ मुद्दा दर्ता हुन आई पुरानो मुद्दासँग लगाउ कायम हुन जाने गरेको, सम्बन्धित निकायमा आदेशानुसारको जवाफका लागी पटक पटक ताकेता गरेतापनि त्यस्ता निकायबाट समयमा जवाफ प्राप्त हुने नगरेको, बाहिरी जिल्लाबाट तामेल भई आउनु पर्ने म्यादहरु समयमा तामेल भई नआउनाले त्यस्ता मुद्दाको कारवाहीमा ढिलाई हुने गरेको, बाँके जिल्ला अदालतमा दरबन्दी भएका एकजना जिल्ला न्यायाधीश लामो समयदेखि काजमा रहेको र पक्ष तथा पक्षका कानून व्यवसायीबाट बारम्बार स्थगित गराउने प्रवृतिका कारण मुद्दा फैसलामा ढिलाई हुने गरेको बताए । जम्मा मुद्दा ४०७५ रहेको फागुन मसान्तसम्ममा १३९२ मुद्दा फछ्र्यौट भएको र २६८३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी गराएका थिए ।

 
यसै गरि बर्दिया जिल्ला अदालतका श्रेस्तेदार यम प्रसाद वास्कोटाले अदालतमा बिचाराधिन १०५४ मुद्धा मध्ये फागुन मसान्त सम्ममा ४७० थान मुद्दा फछ्र्यौट भएको र ५८४ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी गराएका थिए । मुद्दा फछ्र्यौट प्रतिशत हिसावले ४४.५९ प्रतिशत रहेको वास्कोटाले बताएका थिए । चौमासिक बैठकमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बिष्णुदेश पौडेल र न्यायाधीशहरु हेमराज पन्त, शान्तिसिंह थापा, ऋषि प्रसाद अधिकारी सहभागिता रहेको थियो ।

 
चौमासिक समिक्षा कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीशहरु ओम प्रसाद अर्याल, राम प्रसाद बश्याल र दिलिपराज पन्थका साथै बर्दिया जिल्ला अदालत न्यायाधीश किरण कुमार पोखरेल र दिल प्रसाद सापकोटा, नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बिकाश आचार्य र उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमको सहभागिता रहेको उच्च अदालत नेपालगन्ज इजलासका रजिष्ट्रार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए ।

 
समिक्षा बैठकमा मिसिलको ब्यवस्थापनमा समस्या रहेको, पुराना मिसिल फेला नपर्ने समस्या रहेको बिषयमा छलफल भएको थियो । पहिलेको तुलना न्याय सम्पादनको कार्य गति लिदै गएको औल्याइदै आगामी दिनमा लक्ष्य अनुसार न्याय सम्पादनको कार्यलाई अगाडी बढाउने सोच रहेको रजिष्ट्रार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया