भेरी प्राविधिकले तयार गर्यो सात हजार बढी प्राविधिक जनशक्ति

भेरी प्राविधिक शिक्षालय नेपालगन्जले स्थापनादेखि हालसम्म ७ हजार बढी प्राविधिक जनशक्ति उत्पादन गरेको छ । शिक्षालयको शुक्रबार आयोजना रजत जयन्तीका अवसरमा शिक्षालयका इन्जिनियर पारस खड्काले ७ हजार ५ सय ८५ जना जना दक्ष प्राविधिक जनशक्ति तयार गरेको जानकारी दिएका हुन् ।

 
भेरी प्राविधिक शिक्षालयमा प्राविधिक एसएलसी तर्फ मेकानिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, अटोमोबाइल्स इन्जिनियर, रेफ्रिजेनेरेशन, सिभिल, कम्प्युटर एप्लिकेशन एण्ड सेक्रेटरियल तथा डिप्लोमा तर्फ मेकानिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियरिङ्ग लगायतका विषय अध्यापन हुने गरेको छ ।

 
शिक्षालयले रजत जयन्ती मनाउँदासम्म डिप्लोमा प्रा÷एसएलसी तर्फ २ हजार १ सय ८४ पुरुष र ५ सय ८७ महिला गरी २ हजार ७ सय ७१ जना दक्ष जनशक्ति तयार गर्न सफल भएको इन्जिनियर खड्काले बताए । छोटो अवधी तर्फको अध्यापनमा ४ हजार १ सय १४ जना जनशक्ति शिक्षालयले तयार गरेको छ । जसमा ४ हजार १ सय ५९ पुरुष र ६ सय ५५ महिला रहेका छन् ।

 
प्राविधिक शिक्षा अध्ययन गरेका अधिकांस विद्यार्थी रोजगारी तथा स्वरोजगारीमा रहेको शिक्षालयका इन्जिनियर खड्काले बताए । ‘प्रा.एस.एल.सी अध्ययन गरेका ७७ प्रतिशत रोजगार र १३ प्रतिशत माथिल्लो शिक्षा अध्ययरत् छन्’, खड्काले भने । १० प्रतिशत प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी भने हाल बेरोजगारकै अवस्थामा रहेको अनुमान शिक्षालयले गरेको छ ।

 
डिप्लोमा अध्ययन गरेका अधिकांस विद्यार्थीहरु सम्बन्धित इन्जिनियरिङ्ग क्षेत्रमै कार्यरत रहेको इन्जिनियर खड्काले जानकारी दिए । ‘डिप्लोमा अध्ययन गरेका ४२ प्रतिशत सम्बन्धित क्षेत्रमै कार्यरत् छन्’, खड्काले भने, ‘११ प्रतिशत स्वरोजगार र ४७ प्रतिशत अन्य इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा अध्ययनरत् हुनुहुन्छ ।’
शिक्षालय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन २०४५ अन्तर्गत २०५० साल चैत्र १ गते शिलान्यास भएको थियो ।
दक्ष जनशक्तिले अर्थतन्त्र बलियो
दक्ष जनशक्तिले देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले बताएका छन् । शुक्रबार नेपालगन्जमा आयोजित भेरी प्राविधिक शिक्षालयको रजत जयन्तीका अवसरमा बोल्दै नगर प्रमुख डा. राणा दक्ष जनशक्ति देशको भविष्य भएको धारणा राखेका हुन् ।

 
नगर प्रमुख डा. राणाले देशमा औद्योगिक कलकारखाना नहुँदा प्राविधिक जनशक्ति बेरोजगार हुनुपर्ने स्थिति विद्यमान रहेको उल्लेख गरे । उनले मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रबाट उत्पादनमूलक उद्योग सञ्चालनमा जोड दिए ।

 
दक्ष प्राविधिक जनशक्तिले कुनै न कुनै हिसाबले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने नगर प्रमुख डा. राणाको भनाइ थियो । हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या र तिनीहरुबाट प्राप्त रेमिट्यान्सले मुलुक धानिरहेको अवस्था उल्लेख गर्दै नगर प्रमुख डा. राणाले भने, ‘दक्ष भएर विदेशिनु परेपनि त्यसले नेपाल आउने रेमिट्यान्सलाई बढाउँछ ।’ वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा अदक्ष जनशक्ति भन्दा अर्धदक्ष र दक्ष जनशक्तिले बढी योगदान पुर्याउन सक्ने नगर प्रमुख डा. राणाको भनाइ थियो ।

 
प्राविधिक शिक्षा अध्ययन गरेमा रोजगार प्राप्त नभएपछि स्वरोजगार बन्ने सम्भावना रहेको उल्लेख गर्दै नगर प्रमुख डा. राणाले भने, ‘प्राविधिक शिक्षा विद्यार्थी र मुलुक दुवैका लागि लाभदायक छ ।’ भेरी प्राविधिक शिक्षालयका प्रमुख अच्युत राज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, प्रा.शि.व्या.ता.प. प्रदेश ५ कार्यालय निर्देशक अरविन्द कुमार चौधरी, भेरी प्राविधिक शिक्षालयका पूर्व प्रमुख भीमकान्त लामिछाने, विद्यार्थी, शिक्षालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया