रामु ओली
छक्का पन्जा ३ ले नेपालगन्जमा ऐतिहासिक ५१ औं दिन मनाउँदा चलचित्रका निर्माता र निर्देशक समेत रहेकी दिपाश्री निरौलाले नेपालगन्जमा हिन्दी चलचित्र भन्दा पनि नेपाली चलचित्र चल्न थालेको टिप्पणी गरिन् । छक्कापञ्जाका सबै श्रृंखलाले राम्रो बजार बनाएको नेपालगन्ज पछिल्ला दिनमा नेपाली फिल्मका लागि उर्वर बन्दै गएको छ ।
उसो त पहिले पनि नेपाली चलचित्र नेपालगन्जमा चल्दै नचल्ने स्थिति थियो भन्ने होइन तर, पछिल्ला दिनमा नेपाली चलचित्रको क्रमिक स्तरमा सुधारसंगै नेपाली चलचित्रले नेपालगन्ज जस्तो सिमावर्ती शहरमा पनि राम्रो ब्यापार गरिरहेको छ । दिपाश्रीको टिप्पणी त्यही कुराको सन्देश थियो । केही वर्षअघि सम्म नेपाली कलाकारको उपस्थिति नेपालगन्जले पाउनु अनौठो प्रायः हुन्थ्यो । अहिले कलाकारहरुको आगमन पनि निरन्तर भइरहेको छ, नेपालगन्जमा । यो नै नेपाली चलचित्र, हल ब्यवसायी र नेपाली सिने जगतका कलाकारको लागि खुसी हुने ठाउँ भने पक्कै हो ।
गत माघको अन्तिम साता अहिलेका हटकेक मानिने मेघास्टारको ट्याग समेत प्राप्त गरेका नायक अनमोल केसीले नेपालगन्ज पहिलो पाइला टेके । अनौठो के पनि छ भने अनमोलले नेपालगन्ज लाई यति महत्वका साथ हेरे कि बाँकेको खजुरामा आयोजित महोत्सवलाई उनले आफ्नो जीवनकै पहिलो महोत्सवको रुपमा औपचारिकताका साथ उभ्याए । त्यो भन्दा अगाडी उनी कुनै महोत्सवमा सहभागी नै भएका थिएनन् । उनी संगै उनका बाबु सदाबहार नायक भुवन केसी पनि नेपालगन्ज ओर्लिए । र उनी संगै साथमा थिए लामो समय पछि नेपाली चलचित्रमा कमब्याक गरेकी नायिका निरुता सिंह ।
‘नाम चलेका तथा ठुला कलाकारहरुको पहिलो रोजाई धरान संगै चितवन, पोखरा हुँदै गर्दा नेपालगन्ज उनीहरुको नजरमा पर्नै सकेन,’ चलचित्र पत्रकार रामचन्द्र पौडेल यसबारे आफ्नो धारणा राख्छन, ‘नेपाली चलचित्रकर्मीले नेपालगन्जलाई उपेक्षा गरिरह्यो ।’ पौडेलको बुझाइ छ, ‘नेपालगन्जमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्न नसक्ने उनीहरुको आंकलन नै त्यसको मुख्य कारण थियो ।’ हुन पनि चलचित्रका निर्माणपक्ष नेपालगन्जमा देखिदै नदेखिने, नत प्रोमोसनको लागि आउने नत चलचित्र निर्माणका लागि नै यस क्षेत्रमा आउने यहि कारण नेपालगन्जबासिको नेपाली चलचित्र संग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेको हो ।
केही दिन अधि मात्रै चलचित्र यात्राको टिम नेपालगन्ज उत्रन चाहन्थे । उनीहरु आफ्नो रिलिजको तयारी गरिरहेको चलचित्र यात्रा को प्रोमोशन लागि नेपालगन्ज छुटाउन चाहँदैनथ्यो । उनीहरु आउने र कार्यक्रम समेत तय भैसकेको अवस्थामा चलचित्रको आन्तरिक समस्याको कारण अन्तिम समयमा यात्राको नेपालगन्ज आउने कार्यक्रम रद्ध भयो । तर पनि यात्रा टिम अझै पनि नेपालगन्ज आउन चाहिरहेका छन् । एकपछि अर्को गर्दै नेपाली चलचित्रका हस्ती नेपालगन्ज उत्रने चाहना राख्नुमा नेपालगन्जमा स्थापित क्युएफएक्स बागेश्वरी पहिलो कारण हो भनेर भन्न सकिन्छ ।
सदाबहार नायक भुवन केसी गत महिना मात्रै दुई पटक नेपालगन्ज आए । नायक केसीको शब्दलाई सापट लिने हो भने, ‘नेपालगन्जले नेपाली चलचित्रको भविष्य कोर्न सक्छ । ऐतिहासिक पुरानो शहर नेपालगन्ज मध्य र सुदुर पश्चिमको फिल्म ट्रेण्डको सुरुवातकर्ता पनि हो ।’ चलचित्र पत्रकार रामचन्द्र भने नेपाली चलचित्र निर्माण पक्षले नेपालगन्जको व्यापार हेरेकै कारण उनीहरुको नेपालगन्ज प्रति हेर्ने नजरमा परिवर्तन आएको बताउँछन् । महानगरको परिकल्पना गरेको नेपालगन्ज नेपाली चलचित्र क्षेत्रको लागि नयाँ र ठूलो बजारको रुपमा रहेकोमा दुई मत छैन ।
‘नेपालगन्ज मध्य र सुदुर पश्चिमको सिने हब बन्न सक्छ,’ बागेश्वरीका क्युएफएक्स का म्यानेजर निरजमान शाक्य भन्छन् । नेपालगन्जमा स्तरिय हल स्थापना हुनु र क्युएफएक्सले कलाकार भित्र्याउन त्यस्तो किसिमको वातावरण तयार गर्ने काम गर्नुले पनि नेपालगन्ज स्टारहरुको आकर्षण बन्दै गएको धारणा शाक्यको छ । ‘कलाकारसंग कोर्डिनेसनको कारण र म आफै पनि कलाकार लाई नेपालगन्जमा ल्याउन र चलचित्रको बजार तयार गर्न क्रियाशील छु’ शाक्यले दैनिक नेपालगन्जसँग भने । उनले चलचित्र पत्रकारहरुसंग समन्वय गरेर कलाकार बोलाउने र उनीहरुको लागि ब्यवस्थापन गर्ने सम्मको काम गरिरहेको बताए । ‘विशेषगरी काठमाडौंको हलमा कलाकार र दर्शक बिचको जुन किसिमको आत्मियता हुन्छ त्यो किसिमको अवस्था सृजना गर्नु मेरो उद्देश्य हो,’ क्युएफएक्स बागेश्वरीका म्यानेजर शाक्यले भने ।
लामो समय सम्म नेपालगन्जमा चलचित्र कलाकारको खडेरी नै परेको भन्ने गरिन्थ्यो । तर, पछिल्ला बर्ष चलचित्र प्रमोसन मात्रै हैन चलचित्र निर्माण समेत नेपालगन्ज आकर्षणको केन्द्र बनिरहेको छ । ‘यो बर्ष चलचित्रका कलाकारको ओइरो नै नेपालगन्जमा लागेको भन्दा पनि हुन्छ,’ पत्रकार रामचन्द्रको भनाइ छ । नेपाली चलचित्रका दिपक राज गिरि, रेखा थापा, प्रियंका कार्की, आयुषमान, केदार घिमिरे, सन्दिप क्षेत्री, नाजिर हुसेन, केकी अधिकारी, हेमराज बिसीलगायतका कलाकारहरु नेपालगन्ज आएर आफ्नो चलचित्र निर्माण तथा प्रमोसन गरिसकेका छन् । रज्जा रानी, कोहलपुर एक्सप्रेस, ग्याङ स्टार ब्लुज, मलिका जस्ता ठुला चलचित्रले नेपालगन्जलाई कथाबस्तु वा केन्द्र बनाएर छायाङ्कन समेत गरिसकेका छन् ।