महानगर गाथा

‘कुनै पनि अभियानलाई जोड्ने भनेको कि खेलकुदले हो, कि धर्मले, कि त पैसाले’ सायद उनलाई धर्मको कार्ड फाल्नु सहज लाग्यो !

 
सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् ।

 

सनातन धर्मको श्लोकले भन्छ– ‘सबै सुखी होउन्, सबै रोगमुक्त रहुन्, सबै राम्रा कामको साक्षी बनुन् र कसैलाई पनि दुखको भागिदार बन्न नपरोस् ।’ नेपालगन्ज बेलासपुरका स्थायी बासिन्दा दिवाकर खनाल सनातन हिन्दु धर्मका सच्चा अनुयायी हुन् । कतिपय उनलाई चरम कट्टरपन्थी मान्छन् । उनलाई अतिवादी भनेर आलोचना गर्नेहरु पनि सहरमा छन् । तर खनाल भने धार्मिक पहिचान सबैको आ–आफ्नै मौलिक हक भएको बताउँछन् । ‘म धार्मिक मान्छे हुँ, यसमा दुई मत छैन ।’– उनी सगौरव सुनाउँछन् ।

 
हुनपनि धर्मको अर्थ अन्तरनिहीत गुणलाई धारणा गर्नु हो, उत्तरदायित्व बहन गर्नु हो । सत्मार्गमा हिड्नु हो । प्रकृतिको नियमको पालना गर्नु हो, कर्मको फल प्राप्ति गर्नु हो । खनाल पनि धार्मिक हुनुको तर्क यस्तै यस्तै दिन्छन् ।
‘हिन्दु सनातन धर्मले सबैको राम्रो होस् भनेको छ, तसर्थ म यस धर्मको अनुयायी हुँ भन्दा कहिंकतै हिच्किचाहट छैन ।’ उनले भने –‘कट्टर भन्नुस् या जे भन्नुस् । म सबैजना सुखी होउन्, खुशी होउन् भन्ने मान्यता राख्ने मान्छे हुँु ।’

 

 

सबैको राम्रो सोच्ने खनालका बैगुन पक्ष के थिए र ? तत्कालिन सशस्त्र द्वन्द्वरत पक्षले उनीमाथि गोली चलायो, ज्यानै लिनेगरी २०५८ सालमा । तत्कालीन माओवादी सशस्त्र द्वन्द्व सहरकेन्द्रित थियो । सहरमा सफाया अभियान चलाइएको थियो । यसैक्रममा उनीमाथि पनि केही आरोप थिए । एक दिन अपरान्ह बेलासपुर निवास जाँदै गर्दा उनीमाथि अचानक आक्रमण भयो । उनको शरिरमा आठ गोली लागेको थियो । ‘६ गोली त वारपार भयो, अन्य गोली उठ्नै खोज्दा पाखुरामा पुनः प्रहार गरिएको थियो ।’ उनी सम्झिन्छन्– ‘मेरो ज्यानै लिनेगरी आक्रमण भएपनि मेरो ब्रह्मले भन्यो, –तँलाई केही हुँदैन ।’ भगवान गणेश रक्षाकवच भएर आएको उनी बताउँछन् । धम्बोजी चोकनजिकै बेलासपुर जाने मोडमंै उनीमाथि आक्रमण भएको थियो । वरपरका सहयोगीमार्फत उनी नेपालगन्ज शिक्षण अस्पताल पुराइए । त्यहाँ प्राथमिक उपचार भयो । लगत्तै हेलिकप्टरमार्फत काठमाडौं लगियो । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भयो । दश दिनपछि उनी डिस्चार्ज भए ।

 

 

उनी आक्रमण हुनुअघि उनले सुरक्षा थ्रेटको कुनै महसुस गरेका थिएनन् । उनको निडर र निर्भिक स्वभाव थियो । कसैले ज्यानै लिनेगरी आक्रमण गरिहाल्नेमा उनी आश्वस्त थिएनन् । आफ्नो नियमित काममा आउजाउ गर्थे । खनाल रोजिन उद्योग आफैं हेर्थे । बिजनेसको सिलसिलामा युरोप जाने तयारीमा थिए । यसैबीच उनीमाथि यति ठुलो आक्रमण गरिएको थियो । यो आक्रमणले तनाव सिर्जना गर्नु स्वभाविक थियो । सुरक्षा थ्रेट त्यत्तिकै थियो । उनीमाथि राजावादी भएको आरोप थियो । धर्मको कट्टर हिमायती भएको आक्षेप पनि थियो ।

 

 
‘धर्मको कट्टर हिमायती, राजावादी आदि आरोप थिए ममाथि ।’ उनी भन्छन्–‘म समयसापेक्ष चलेको थिएँ, राजाको सवारीमा स्वागतद्वार बनाएको थिएँ । मैले गरेको काम त्यही हो ।’ त्यति ठुलो आक्रमणबाट बाँचेकोमा त्यतिबेला आम नेपालगन्जीयामाझ आश्चर्यको घटना थियो ।

 

 
उनी सगौरव सुनाउँछन्–‘मैले पाप नगरेकै कारण भगवानले मलाई बचाउनुभयो ।’ २०५८ साल भदौमा उनीमाथि आक्रमण भएको थियो । प्रत्यक्षदर्शीहरु अहिले पनि भन्ने गर्छन्–‘दिवाकरको आँट र मनोबलका कारण ज्यान गएन ।’ उच्च मनोबल धार्मिक आस्थाकै कारण आर्जन भएको उनको बुझाइ छ ।

 

 
माओवादी द्धन्द्ध चरमोत्कर्षमा पुगेका बेला भएको आक्रमणले परिवारमै मानसिक तनाव बढायो । तसर्थ पारिवारिक दवावले गर्दा उनी थप उपचार गर्नेगरी अमेरिका गए । जहाँ उनका छोरा दिनेश्वर र छोरी दिप्तिका अध्ययनका सिलसिलामा थिए । उनीहरु अहिले पनि अमेरिकामै राम्रो जागिरे छन् । तसर्थ पारिवारिक वातावरणमै उनी १४ बर्ष अमेरिका बसे । नेपालमा दशबर्षे सशस्त्र द्वन्द्वले बिश्राम लियो । संविधानसभा निर्वाचन भयो । देश शान्तिको मार्गमा प्रवेश गर्यो । उनी अमेरिकाको विलासितामा पनि नेपालगन्जलाई धेरै मिस गर्थे । उनी अमेरिका बसाई छोट्याउने निष्कर्षमा पुग्न थाले ।

 

 
जन्मिएको हुर्किएको माटोलाई कसले भुल्न सक्छ र ? फेरि उनी नेपालगन्जका स्थापित उद्योगी व्यवसायी पनि त थिए । अहिले पनि उनी नेपालगन्जमा व्यक्ति नभइ व्यक्तित्व हुन् । दिवाकर खनाल एकहिसाबले नेपालगन्जका एउटा ब्रान्ड हुन् । एउटा विचारको जबर्जस्त नेतृत्व गर्छन् । एउटा वर्ग र समुदायमाझ उनको लोकप्रियता कम आँक्नु हर कोहीका लागि जोखिम मोल्नु सरह नै हुनेगर्दछ अहिलेपनि ।

 

 
एक समय स्थानीय निकायको निर्वाचनमा होमिएर अति निकटतम प्रतिद्वन्द्वी बनेका खनालको अब राजनीतिमा फर्कने मनसाय छैन । व्यापार गर्ने हेतुले उनी यतिबेला हस्पिटालिटी बिजनेसमा होमिएका छन् । जुन ठाउँमा ज्यान लिने उद्देश्यले गोली हानेर ढालिएको थियो, त्यहींनिर उनले बडेमानको के कम्प्लेक्स होटल ठड्याएका छन् । बलियो र आकर्षक त्यत्तिकै । ‘सात रेक्टरको भुकम्पले पनि नढल्ने हिसाबले निर्माण गरेका छौं ।’ उनी भन्छन्–‘आफ्नो हैसियत र यहाँको क्षमताका हिसाबले निर्माण भएको हो ।’ सम्पुर्ण रुपमा वातानुकुलित होटल के कम्प्लेक्स ३६ कोठाबाट सेवा दिइरहेको छ ।

 

 
उनी पर्यटनका क्षेत्रमा धेरै गर्ने योजना बुनिरहेका छन् । नेपालगन्जकै पहिलो लक्ष्मी चलचित्र मन्दिर परिसरमा निकट भबिष्यमा अत्याधुनिक र सुविधासम्पन्न मल्टिप्लेक्स मल निर्माण गर्ने तयारी छ । १५ कट्ठा क्षेत्रफलमा सपिङ कम्प्लेक्सका साथै सिनेमा हल समेत रहने उनी बताउँछन् । यो भन्दा पनि अत्यन्तै महत्वाकांक्षी परियोजना पनि उनीसँग छ । यद्यपी यो भने उनी गोप्य राख्न चाहन्छन् । ‘नेपालमै नभएको परियोजना नेपालगन्जमा दिने चाहना छ, त्यसको बजेट एक अरबमाथि छ ।’ हाल उनी यति नै भन्छन् –‘अमेरिकामै यसको रिसर्च भइरहेको छ ।’

 

 
एक सय पचास बर्ष अघि नेपालगन्ज आएका खनाल परिवारका एक जल्दोबल्दो दिवाकर खनालले पनि दशरथ पुत्र रामले १४ बर्षे वनवासबाट फर्के झैं अमेरिकाबाट नेपाल फर्कने निधो किन गरे त ? मैले उनलाई यो सोधें । उनीसँग यसका केही कारण रहेछन् । पहिलो आफ्नो देश, माटो, समाज र साथीभाइलाई सम्झिए । दोस्रो अमेरिकामा सिकेको ज्ञान र सीप र अनुभव आफ्नो ठाउँमा बाँड्दा हुने फाइदाको जोडघटाउ गरे । अनि नेपालगन्जको रुपान्तरणमा बाबुबाजेले गरेको योगदानलाई जीवन्तता दिनु पनि आफ्नो कर्तव्य सम्झिए ।

 

 
यी सबै सोंचेर उनी नेपाल आए, नेपालगन्ज नै आए । हजुरबुवा भुवनेश्वर खनालले नेपालगन्जको बिस्तारमा गरेको योगदानलाई उनी जीवन्तता दिने पक्षमा छन् । आफु दश बर्षको छँदै दिवंगत भएका बुवा दिनानाथ खनालको सपना पुरा गर्ने अभियानमा पनि उनी देखिन्छन् । आमा लक्ष्मी खनालले गरेको संघर्षलाई एउटा उचाइमा पुराउने हेतुले उनी नयाँ बिजनेसमा लागिपरेका छन् । यद्यपी उनको आफ्नै बुझाई छ, नेपालीले नेपाल सुहाउँदो र माटो सुहाउँदो उद्योगमा लगानी गर्नुपर्छ, त्यसले मात्र व्यापार टिक्छ । सिमेन्ट र जस्तापाता उत्पादनमा भन्दा जडीबुटी प्रशोधन, खोटो तथा काठको काम लगायत मौलिक बिजनेस प्रवद्र्धनमा जोड दिन जरुरी ठान्छन् ।

 

 
महानगर गाथाका लागि होटल के कम्प्लेक्समा कफीसँगै गफिंदा लाग्यो उनी शारीरिक बनोट जति डरलाग्दो छ, मन बढी कोमल छ । हृदय ठुलो छ । बोलीमा जति रुखोपन झल्किन्छ, मिठास पनि त्यत्तिकै छ । प्योर नेपालगन्जीया । उनी खास नेपालगन्जीया हुन् । नेपालगन्जको धुलो र माटोका कणले उनलाई चिन्छ । एक सय ५० बर्ष पहिले उनको पुर्खा नेपालगन्ज झरेको थियो । एक समय नेपालगन्जमा आफ्नो विरासत गाढेको खनाल परिवारले आम नेपालगन्जीयामाझ जमिन्दार, उद्योगी, धार्मिक र समाजसेवीको परिचय स्थापित गरेको छ । स्वयं दिवाकर खनालकै निगरानीमा खनाल रोजिन सञ्चालनमा छ । यस समयसापेक्ष चल्न सकेन, चलाउन पनि कठिनाइ छ ।

 

 
उमेरले करिब ६० को दशकमा टेक्दै गरेका खनाल देख्दैमा पनि कट्टरपन्थी लाग्छन् । अहिले पनि अजंगको ज्यान छ । निधारमा लामो टीका, मुठ्ठे जुंगा र लामो टुप्पी उनको चिनारी हो । नेपालगन्जको सम्भवतः निकै सबैलाई सहयोग गर्ने उद्योगी व्यवसायी उनको खास पहिचान हो । यति हुँदाहुँदै पनि ५५ सालको स्थानीय निर्वाचनमा उनले धार्मिक नारा किन अघि सारे त ? मैले सोधें । उनी जवाफ दिन्छन्–‘कुनै पनि अभियानलाई जोड्ने भनेको कि खेलकुदले हो, कि धर्मले, कि त पैसाले ।’ सायद खनाललाई धर्मको कार्ड फाल्नु सहज लाग्यो । जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको सहरमा धार्मिक कार्डले के कति लाभ उठायो, उनलाई नै थाहा होला । तर अहिलेपनि उनी यसमा दृढ छन् । भन्छन् –‘म कसैको अपमान गर्दिन, मेरा आस्थामा पनि कसैले आँच आउने काम गर्नुहुँदैन । हामी सबै मिलेर बसेका थियौं, मिलेरै बस्ने हो ।’

 

 
निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, पूजापाठ गर्नु, धर्म भनेर आम मानिसले बुझ्दै आएका छन् । यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म होइन ।
‘धर्म धारयते इति धर्म’ भनेर गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो । जस्तो कि पानीको धर्म शितलता दिनु÷प्यास मेटाउनु हो । आगोले सानो ठूलो, धनी गरिब यो या त्यो भन्दैन, डढाउँदछ किनकि आगोको धर्म नै पोल्नु÷डढाउनु हो । त्यसैगरी न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु हो भने प्रहरीको धर्म कानुन पालना गराउनु हुन्छ । राजनेताको धर्म भनेको राष्ट्र र जनतालाई सर्वोपरी ठानेर सेवामा समर्पित हुनु हो । राजाको धर्म भनेको स्नेही पिता बनेर राष्ट्र चलाउनु हो । धर्म छोड्यो भने आफ्नै अस्तित्व बिलाउँदै जान्छ । सिँउडी रोपर सूर्यमुखी फूलको आश गर्नु मूर्खता हुन्छ ।

 

 
यसरी हेर्दा वैदिक सनातन धर्म इश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो । कुनै एउटा जाति विशेष वा समुदायले अपनाएको धर्म हुँदै होइन । त्यसैले पनि भन्न सकिन्छ, दिवाकरको धार्मिक आस्था पनि सुमार्ग देखाउने माध्यम नै हो । नेपालगन्जलाई समृद्धिको बाटोमा लैजाने दृढता नै हो ।

प्रतिक्रिया

प्रतिक्रिया