अटो र इरिक्सामा दायाँ साइडबाट चढ्न, झर्न रोक

जिल्ला प्रहरी कार्यालय बाँकेले सवारीसाधन दुर्घटनाको जोखिम न्यूनिकरण गर्न सचेतना, कारवाही र निगरानी लगायतका गतिविधिलाई जारी राखेको छ । प्रहरीले दुर्घटनाको जोखिम कम गर्न सोमबारदेखि अटो तथा इरिक्साको दायाँ तर्फ डन्डी लगाउन सुरु गरेको हो ।

 
‘ओभरलोड र सम्भावित दुर्घटनाबाट जोगाउन अटो तथा इरिक्साको दायाँ तर्फ डन्डी लगाउन सुरु गरिएको हो’, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भने, ‘सवारी साधन गुड्ने दायाँतर्फबाट यात्रु झर्ने र चढ्ने कार्यले जोखिम बढाएको हो ।’

 
प्रहरीले कोहलपुर र नेपालगन्जमा अटो तथा इरिक्सामा फलामको डन्डी वायरिङ्ग गर्न लगाउन थालेको हो । ‘कोहलपुरमा एक साताको समय दिएका छौं’, प्रहरी निरीक्षक रोकायले भने, ‘सोमबार कोहलपुर र नेपालगन्जका गरी ३० वटा अटो तथा इरिक्सामा फलामको डन्डी लगाउने काम गरेका हौं ।’ प्रहरीले अटो तथा इरिक्सामा बार नहुँदा जबर्जस्ती यात्रु कोच्ने गरिरहेकाले त्यो समेत डन्डी लगाएपछि नियन्त्रणमा आउने विश्वास प्रहरीको छ ।

 
प्रहरीले पहिलो साता इरिक्सा तथा अटो चालकलाई सम्झाउने र त्यसपछि पनि अटेरी गरे कारवाही गर्ने चेतावनी समेत दिएको छ । ‘सुरुमा सम्झाउँदै आफै इरिक्सा र अटोको दायाँ तर्फ फलामे डन्डी लगाउन आग्रह गरिरहेका छौं’, प्रहरी निरीक्षक रोकायले भने, ‘अटेरी गरेमा कारवाहीमा जानेछौं ।’ उनले इरिक्सा र अटो नियन्त्रणमा लिएर भएपछि डन्डी लगाउने अभियानलाई सफल पार्ने बताए ।

 

५० बढीलाई कारवाही
लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले ‘एप्स’ मार्फत निगरानी गर्न सुरु गरेको ट्राफिक प्रहरीले अटेरी गर्नेलाई कारवाही थालेको छ । गत माघ अन्तिमसाता देखि ‘ट्राफिक कम्युनिकेसन एप’ मार्फत निगरानी सुरु गरिएको हो ।

 
एप पहिलो चरणमा पश्चिम नवलपरासीको भुमही, बाँकेको कोहलपुर, काठमाडौंको नागढुंगा र सर्लाहीको कर्मैयाबाटसञ्चालनमा ल्याइएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेले चप्परगौढीमा चालकको विवरण संकलन र बाहिरी जिल्लाबाट आएका यातायातको चेकजाँच गर्ने गरेको छ ।

 
त्यसक्रममा एउटै चालकले लामो दुरीसम्म यातायात चलाएको पाइए एप मार्फत निगरानी गर्ने प्रहरीले कारवाही गर्ने गरेको छ । एप सञ्चालनको एक महिना नहुँदै बाँकेमा ५० बढी चालकहरु कारवाहीमा परेका छन् । ‘एउटै चालकले निर्धारित भन्दा बढी दुरीसम्म सवारी चलाएको पाएपछि कारवाही गरेका हौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भने ।

 
‘दैनिक ६०÷७० वटा गाडी चालकको विवरण एपमा राख्ने गरेका छौं’, उनले भने, ‘त्यतिनै संख्यामा बाहिरी जिल्लाबाट आउने सवारी चालकबारे चेकजाँच पनि हुन्छ ।’ नियमित विपरित पाइए कारवाही गर्ने गरेको रोकायले बताए ।
एपमार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एक चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउन सक्नेछ । लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एपमार्फत निगरानी थालिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

 
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा लामो दूरीका सवारी साधनमा २ चालक अनिवार्य हुनुपर्ने प्रावधान भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएपछि एप मार्फत निगरानी सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निरीक्षक रोकायले बताए ।

 
एप मार्फत सवारी साधनमा चालक परिवर्तन भएर नभएको र निश्चित विन्दुमा सवारी चालकको तस्बिर खिची सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरिन्छ । मुलुकका जुनसुकै कुनाबाट पनि चालकको फोटोसहितको विवरण हेर्न सकिने भएकाले सुरक्षा अवस्था मजबुत पार्न पनि यसले सहयोग पुर्याउनेछ ठानिएको छ । ‘उक्त कार्यका लागि २४ सै घण्टा राजमार्गमा ट्राफिक प्रहरीको व्यवस्था गरिएको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निरीक्षक रोकायले भने ।

 
नेपालगन्ज उपमहानगरपालिका नो हर्न घोषणा भैसकेको छ । जसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीले निगरानी गरिरहेको छ । ‘नो हर्न उल्लंघन गर्ने २/३ वटा कारवाही दैनिक जसो भैरहेको छ’, रोकायले भने ।

प्रतिक्रिया

प्रतिक्रिया