खोई विरेन्द्रको शालिक

सक्रिय राजतन्त्रको अन्त्य भएपछि नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा विरेन्द्रको शालिक लोकतान्त्रिक आन्दोलनका क्रममा आक्रोशित एक समूहले २०६४ सालमा तोडफोड गर्यो । तत्पश्चात जीर्ण बनेको चोकमा राष्ट्रिय झण्डा लगाइएको थियो ।

 
त्यसको झण्डै एक दशक पछि राजतन्त्रमा आस्था राख्ने केही संगठनहरुले राजा विरेन्द्रको शालिक नाटकीय ढंगले विरेन्द्र चोकमा स्थापित गरिदिए । २०७३ साल भदौ १६ गते बिहीबार विहान ‘राष्ट्रवादी युवा’का नाममा प्रस्तुत राजतन्त्र पक्षधरहरुले नाटकीय ढंगले प्रहरी छक्याउ“दै शालिक पुनस्र्थापन गरेका थिए ।

 
‘झण्डा फेर्ने बहानामा हामीलाई झुक्याएर विरेन्द्रको शालिक राखिएको थियो’, तत्कालीन प्रहरी स्रोतले भनेको थियो, ‘हामी पूर्व संकेतबाट सतर्क थियौं तर, झुक्याएर शालिक लगाइयो ।’ शालिक पुनस्र्थापनाको क्रममा प्रहरीले लाठीचार्ज समेत गरेका थिए ।

पुनस्र्थापित शालिक २४ घण्टा पनि प्रशासनले चोकमा टिक्न दिएन ।

 
राजावादीहरुले नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरेको स्वर्गीय राजा विरेन्द्र शाहको अर्धकदको शालिक प्रहरीले मध्यरातमा हटाएको थियो । सर्वदलीय बैठकले शालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको तत्कालीन बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले जानकारी दिएका थिए । त्यसक्रममा तत्कालीन राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई भोलिपल्ट रिहा गरिएको थियो ।

 
८६ किलो तौलको ढलोटबाट निर्मित अर्धकधको विरेन्द्रको शालिक करिब १५ लाख खर्चमा निर्माण गरिएको थियो । शालिक समेत केही दिनमा युवाहरुलाई नै फिर्ता गर्ने प्रतिबद्धता प्रशासनले जनाएपछि अहिलेसम्म शालिक कहा र कुन अवस्थामा राखिएको छ भन्ने औपचारिक जानकारी दिइएको छैन ।

 
पुनस्र्थापित शालिक हटाइएपछि तत्कालीन राप्रपा नेपालका महामन्त्री डा. धवल समशेर राणाले शालिक पुनः स्थापनालाई कसैले रोक्न नसक्ने बताएका थिए । डा. राणा हाल नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख समेत हुन् । तर, उनले यस विषयमा थप कुरा उठाएका छैनन् ।

 
स्व. राजा वीरेन्द्र शालिक चोकबाट हटाइएपछि मधेस आन्दोलनका क्रममा मृत्यु भएका सहिदको नाममा चोकको नामाकरण गर्ने विषयमा जोडतोडले उठाइएको थियो । यद्यपि, त्यो प्रयास भने सफल भएन ।

प्रतिक्रिया

प्रतिक्रिया