नेपालगन्ज उपमहानगरपालिकाले आगामी आ.व. २०७६/०७७ दुई अर्ब बढी आय तर्फ प्राप्त हुने अनुमान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले संघ, प्रदेश तथा अन्य निकाय तथा आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ११ लाख ७० हजार ३६ रुपैयाँ आय प्राप्त हुने अनुमान गरेको हो । उपमहानगरपालिका बोर्ड बैठकले उक्त अनुमानित बजेट सम्बन्धित निकायमा प्रस्ताव गर्ने गरेको हो ।
‘बोर्ड बैठकले पारित गरेको अनुमानित आय सम्बन्धित निकायका पठाउने निर्णय भएको हो’, नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्यालले भने । उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट मात्रै १७ करोड बढी आय प्राप्त हुने अनुमान गरेको छ । बोर्ड बैठकले आन्तरिक आय तर्फ सम्पत्ति करबाट ४ करोड, भाडा तथा घर बहाल करबाट १ करोड ७५ लाख, वहाल करबाट ३ करोड, व्यवसाय रजिष्टे«शनबाट १ करोड ५० लाख आम्दानी अनुमान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आ.व.मा नक्सा पास दस्तुरबाट मात्रै ३ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । उपमहानगरपालिकाले आन्तरिक आय तर्फ १७ करोड ४१ लाख १० हजार रुपैयाँ आय अनुमान गरेको छ ।
संघ, प्रदेश तथा अन्य निकायबाट सर्शत, समानीकरण, राजश्व बााँडफाँड तथा ऋण अनुदान आ.व. २०७६/०७७ मा २ अर्ब १८ करोड ७० लाख ६० हजार ३६ रुपैयाँ प्राप्त हुने अनुमान उपमहानगरपालिकाले गरेको छ । जसमा संघीय सरकारबाट वित्तिय समानिकरण तर्फ २९ करोड ४७ लाख, सशर्त अनुदान ३५ करोड ९७ लाख, प्रदेश ५ बाट वित्तिय समानिकरण तर्फ ६९ लाख ४७ हजार, सशर्त खेलकुद मैदानका लागि प्रदेश सरकारबाट १३ करोड ३० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड तर्फ १५ करोड ११ लाख ७९ हजार, राजश्वमै प्रदेश सरकारबाट १५ करोड ९२ लाख ३ हजार रुपैयाँ आफ तर्फ प्राप्त हुने अनुमान उपमहानगरपालिकाले गरेको छ । उपमहानगरपालिकाले सबैभन्दा बढी सहरी विकास कार्यक्रम यूडिपी/एडिबी परियोजनामा १ अर्ब ११ करोड प्राप्त हुने अनुमान उपमहानगरपालिकाको छ ।
वडा बनाउँदै फुटसल
एक करोड लागत अनुमान
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ ले फुटसल बनाउने योजना अघि सारेको छ । प्रारम्भिक रुपमा एक करोड लागत अनुमान फुटसलका लागि वडाले पहल थालेको हो ।
‘फुटसलका लागि उपमहानगरपालिका बोर्ड बैठकले बजेट उपलब्ध गराउने निर्णय गरिकेको छ’, नेपालगन्ज–१२का वडाध्यक्ष बुद्धिसागर सुवेदीले भने, ‘फुटसलका लागि जग्गाको व्यवस्था गरिसकेको छ ।’ फुटसलका लागि वडाले ५ कठ्ठा जग्गा जमिन समेत व्यवस्थापन गरिसकेको छ । ‘फुटसल निर्माणले फुटबल अभ्यासका लागि सहयोग पुग्छ भन्ने विश्वास वडाले लिएको छ’, वडाध्यक्ष सुवेदीले भने । बजेट दिने निर्णय भएपनि फुटसलका लागि बजेट भने व्यवस्था भैसकेको छैन । उपमहानगरपालिकाले वडा नं. १ मा फुटबल एकेडेमी निर्माणका लागि बजेट व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
मापदण्ड बनाइँदै
नेपालगन्ज उपमहानगरपालिकाले लक्ष्य अनुरुप बहाल कर संकलन नभएपछि घर बहाल सम्बन्धी मापदण्ड बनाउने तयारी गरेको छ । गत माघ २७ गते भएको उपमहानगरपालिकाको बोर्ड बैठकले बहाल करका लागि मापदण्ड बनाउने निर्णय गरेको हो । बैठकले मापदण्ड तयार गर्ने जिम्मा राजश्व परामर्श समितिलाई लिएको छ ।
उपमहानगरपालिकाले १० प्रतिशत बहाल कर लिन सक्ने मन्त्रीपरिषद्को निर्णय छ । २ प्रतिशत वहाल कर लिने उपमहानगरपालिकाले १० प्रतिशत बहाल कर उठाउन पाउने भएपछि ३ करोड आय अनुमान गरेको थियो । तर, अनुमान भन्दा कम राजश्व संकलन भएपछि मापदण्डको आवश्यकता उपमहानगरपालिकाले महसुस गरेको हो ।
उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्यालले घर बहाल करलाई प्रभावकारी बनाउनका लागि मापदण्ड बनाउने निर्णय बोर्ड बैठकबाट भएको जानकारी दिएका छन् । ‘नगरकार्यपालिकाबाट घरवहाल सम्वन्धि मापदण्ड तयार गरी सोही वमोजिम नियमावली निर्माण गर्नका लागि समिति गठन गरी आवश्यक प्रकृया अगाडी बढाउनका लागि नगरकार्यपालिकालाई अनुरोध भई आएकोमा सो कार्य गर्न राजश्व परामर्श समितिलाई नै तयार गरी नगरकार्यपालिकामा पेश गर्नेगरी अधिकार दिने निर्णय गरियो’, उपमहानगरपालिका बोर्डले गरेको निर्णयमा उल्लेख छ ।