जनता उठेको त्यो दिन

आज नेपालगन्जमा एक लाख मानिस प्रदर्शनमा उतार्ने दलहरुको घोषणाले निक्कै ठूलो हलचल मच्चाएको थियो । माओवादीहरु समेतको सहभागिता हुने भनेर प्रशासन चनाखो थियो । बिहानैदेखि विभिन्न ठाउँहरुबाट प्रदर्शन थालिन्छ । प्रत्येक चोक, टोल र गल्लीहरुबाट जुलुस निस्कन थाल्छन् । नेपालगन्ज नगरक्षेत्र र आसपासका सडकहरुमा मानिस मात्रै देखिन्छन् । प्रर्दशनमा सहभागी हुन आउनेहरुका लागि ठाउँ–ठाउँमा स्वःस्फूर्त रुपमा खानेपानीको व्यवस्था गर्न थालिएको छ । लगातार जुलुसहरु निस्किएका छन् । दिउँसो १२ बजेतिर वीरेन्द्र चोकमा चारैतिरबाट आएका सहभागी जम्मा भई बृहत् प्रर्दशन थाल्छन् । राजतन्त्र विरोधी चर्का नारा सहित जुलुस अघि बढ्छ । सरकारी कर्मचारीहरु कार्यालय अगाडि सडकमा उभिएर ताली बजाएर साथ दिन्छन् । उनीहरु जुलुसका सहभागीलाई पानीको व्यवस्था गर्दै थिए । ग्रामीण क्षेत्रबाट मानिसहरु आउने क्रम जारी थियो । निरन्तर रुपमा मानिसहरुको लर्को नेपालगन्जतर्फ आइरहेको थियो ।

जुलुसमा बच्चाबच्चीदेखि लिएर बृद्धबृद्धा समेतको सहभागिता थियो । महिलाहरु समेतको उत्साहजनक सहभागीता रहेको उक्त प्रदर्शन कहाँबाट सुरु छ र कहाँ अन्त्य हो छुट्याउन सकिँदैनथ्यो । प्रदर्शन विपी चोक हुँदै सुर्खेतरोडमा अघि बढ्छ । गणेशमान चोक पुगेपछि चारवाहिनी रोड हुँदै सदरलाइनको बाटो न्यूरोडतर्फ लाग्छ । न्यूरोडमा रहेको आधा निर्माण सम्पन्न ज्ञानेन्द्र चोक कब्जा गर्ने प्रर्दशनकारीले बताए । ठूलो संख्यामा माओवादी समेत प्रर्दशनमा आएको हल्लासँगै सुरक्षाकर्मीको मनोबल केही खस्केको अनुमान गर्न गाह्रो थिएन । तर सातदलीय जनआन्दोलन संयोजन समितिले भने पुष्पलाल चोकमा सभा गर्ने र आफ्नो प्रर्दशन शान्तिपूर्ण हुने दावी गर्छ । सभाका लागि चोकमा स्टेज र साउण्ट सिस्टम तयार गरिन्छ । बाटोमा भेटिएका डिएसपी वसन्त लामाले आजको प्रर्दशन पनि शान्तिपूर्ण हुने विश्वास व्यक्त गरे । प्रहरी निरीक्षकद्धय राजेन्द्र भट्ट र मिनबहादुर रावलले पनि उनको कुरामा समर्थन गरे । ज्ञानेन्द्र चोकमा ५० जना जति प्रहरी तैनाथ गरिएको थियो । नगरका अन्य स्थानको तुलनामा यो संख्या बढी नै हो । सम्भाव्य झडपलाई मध्यनजर गर्दै ठूलो संख्यामा सञ्चारकर्मीहरु उक्त चोकमा जुलुस पुग्नु अघि नै भेला हुन्छन् । जुलुस चोक नजिक पुगेपछि प्रर्दशनकारीले चर्के स्वरमा नारावाजी गर्छन् । सात दलका जिल्ला नेता सहितको सानो समुह सभास्थलतर्फ अघि बढ्छ तर ठूलो समूह भने चोकमै रोकिएर नारावाजी गर्छ । आन्दोलन संयोजन समितिका तर्फवाट राम थापाले हातेमाइकबाट पटक– पटक संयमित हुन प्रर्दशनकारीलाई आग्रह गर्छन् ।

 

 

‘हाम्रो जुलुस शान्तिपूर्ण हो, कृपया मित्रहरु पुष्पलाल चोक तर्फ अघि बढिदिनुहोला’, थापा पटक–पटक जुलुसलाई अघि बढाउने असफल प्रयास गर्छन् । संयोजन समितिको पटक(पटकको आग्रह बेवास्ता गर्दै प्रर्दशनकारीले चोकमा खटिएका प्रहरीमाथि ढुंगा हान्छन् । ज्ञानेन्द्र चोक निर्माण स्थल लेखिएको ठूलो बोर्ड प्रदर्शनकारीको निशाना बन्न पुग्छ । लगातार ईट्टा ढुंगा हानेपछि त्यो बोर्ड भुईमा खस्छ । उनीहरु अझै हौसिन्छन् र प्रहरीसँग घम्साघम्सीमा उत्रिन्छन् । दोहोरो झडपमा केही प्रहरी र प्रर्दशनकारी घाइते हुन्छन् । ज्ञानेन्द्र चोकमा भिडन्त भइरहँदा ठूलो जनसमूह नारावाजी गर्दै नगरपरिक्रमा सकेर उक्त चोकतर्फ आइरहन्छ । न्यूरोडका घरका छतहरुबाट प्रर्दशनकारीमाथि निरन्तर पानी छर्केर स्थानिय वासीले प्रर्दशनकारीलाई सहयोग गर्छन् । चर्को घाममा लगातार झडप भैरहन्छ । यो दृश्य देख्दा काठमाण्डौँका प्रर्दशनको झल्को आउँथ्यो । कतिपय प्रहरीका लाठी र राइफल समेत खोसेर प्रर्दशनकारीले प्रहरी गाडीमा आगजनी गर्छन् । प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्छ । केहि बेरपछि हवाई फायर गरिन्छ तर प्रर्दशनकारीले प्रहरीलाई लखेटेर चोकलाई पूर्ण नियन्त्रणमा लिन्छन् । घाइते प्रर्दशनकारी र प्रहरीलाई मानवअधिकारकर्मी, पत्रकार, रेडक्रस र लियो क्लब अफ नेपालञ्ज लगायतका स्वास्थकर्मी मिलेर उद्दार गर्दछन् ।

झडपमा घाइते भएका डिएसपी वसन्त लामालाई प्रर्दशनकारीले नै उद्धार गरेको देखिन्थ्यो । प्रहरीले थप बल मगाएर चोक नियन्त्रणमा लिन्छ । तर प्रर्दशनकारीहरु चारैतिरबाट घेरेर प्रहरीमाथि आक्रमण जारी राख्छन् । अन्ततः प्रहरीहरु चोक छोड्न बाध्य हुन्छन् । र प्रदर्शनकारीहरुले चोकलाई नियन्त्रणमा लिएर त्यसमाथि दलहरुका झण्डा गाड्छन् र विजयको नारा लगाउँछन् । केही समय पछि प्रर्दशनकारीले उक्त चोकलाई भत्काउन थाल्छन् । घन, रड, हतौडा ल्याएर सिमेन्टका पिलरहरु फोड्न थाल्छन् । टायर आदि ल्याएर त्यहाँ आगो बालेपछि प्रर्दशनकारीलाई फोड्न सजिलो भएको छ । चारैतिर बसेर प्रर्दशनकारी नारावाजी गरिरहन्छन् । त्यहाँको फोटो खिच्न मित्र शैलेन्द्र खरेल र हामीहरु एउटा होटलको छतमा चढ्छौँ । ठूलो जिउडाल भएका एक जना पूर्वी नेपाल घर भएका गैससकर्मी छतबाट दृश्य हेरिरहेका थिए । उनी हौसिएर बाँकेबासीको तारिफ गर्दै थिए, भन्दै गए, ‘आन्दोलनमा नेपालगन्ज पनि कुनै ठाउँभन्दा कम रहेनछ बरु अगाडि नै छ । चोकमाथि प्रर्दशनकारीको प्रहार बढ्दै जान्छ । केही बेरपछि चोक ढल्छ ,प्रर्दशनकारीहरु चर्को नारावाजी गर्दै भत्केको उक्त स्तम्भ माथि चढेर झण्डा फहराउन्छन् । सायद निरकुशता परास्त गरेको संकेत होला त्यो ! यो दृश्य देख्ता छतबाट हेरीरहेका ती गैससकर्मी मित्र निर वाग्ले प्रर्दशनमा आफू सरिक नभए पनि खुसीका साथ ३ बित्ता उफ्रिन्छन् , त्यतिबेला १ क्वीन्टल बढी वजनको उनको जीउको अनुभुति नै नभएजस्तो लागिरहेको थियो । कोणसभासँगै प्रर्दशन सकिन्छ । सेतु विकको सहादत नेपालन्जका दुईओटै अस्पतालहरु घाइतेले भरिएका थिए ।

 

 

घाइते प्रहरी र प्रर्दशनकारीको सँगसँगै उपचार भइरहेको दृश्य देखिन्थ्यो । घाइते माध्ये भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको सेतु वि.कको अवस्था गम्भीर भएको थाहा हुन्छ । हामी अस्पताल पुग्छौँ त्यहाँ ठूलो भिडभाड थियो । हिलाम्मे पाइन्ट लगाएका लोक गायक कमल विके निर्मोहिले मसँग भने, ‘घाइतेलाई उठाउँदा हिलोमा खसियो ।’ घाइते सेतु विकलाई थप उपचारकालागि भारतको लखनऊ तर्फ पठाइन्छ । लखनऊ पठाउने कार्यमा लियो क्लवका रविन्द्र लम्साल लगायतको सक्रियता देखिन्थ्यो । सेतु विकको उपचारका क्रममा लैजादै गर्दा वाटोमै निधन भयो ।

(शाहद्वारा लिखित बाँके बर्दियाको जनआन्दोलन डायरी ‘जनता उठेपछि’बाट- dainik nepalgunj/मङ्गलवार ०५ वैशाख बाट साभार)

प्रतिक्रिया

प्रतिक्रिया