अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जले मंगलबार एकै दिन नेपालगन्जका तीन वटा सरकारी कार्यालयमा छापा मारेको छ । त्यसक्रममा दुई वटा कर्मचारीलाई अख्तियारले घुस सहित नियन्त्रण लिएको जानकारी दिएको छ ।
अख्तियारले नेपालगन्ज भन्सार कार्यालय र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जमा करिब एकै समयमा छापा मारेको हो । सेवाग्राहीसँग घुस माग गर्ने गरेको गुनासोका बीच नेपालगन्जमा सक्रिय अख्तियारको टोलीले ती कार्यालयहरुमा निगरानी गरिरहेको थियो । मंगलबार साँझ दुवै कार्यालयमा घुस माग गर्ने कर्मचारीलाई ‘ट्रयाप’मा पार्न अख्तियारले दुई वटा टोली खटाएको थियो ।
अख्तियारको टोलीले आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय प्रमुखलाई ‘स्टिङ्ग’ अपरेशन गरी नियन्त्रणमा लिएको हो । लामो समयदेखि उक्त कार्यालयमा आयात प्रमाणिकरणमा घुस माग गरिएको गुनासो प्राप्त भैरहेको अख्तियारका अधिकारीहरुले बताएका छन् । ‘मंगलबार साँझ आयात प्रमाणिकरण प्रयोजनका लागि लिएको ३५ हजार रकम सहित आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय प्रमुख विनोद कुमार श्रीवास्तवलाई नियन्त्रणमा लिइएको हो’, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले भने, ‘श्रीवास्तवजीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेका छौं ।’ श्रीवास्तव रानी तलाउ क्षेत्रबाट मंगलबार साँझ अख्तियारको नियन्त्रणमा परेका हुन् ।
अख्तियारको टोलीले आयातमा सहजीकरण गर्ने उद्देश्यले ५२ हजार घुस लिएका नेपालगन्ज भन्सारका एक कर्मचारीलाई पनि मंगलबार नियन्त्रणमा लिएको हो । ‘नेपालगन्ज भन्सारका कर्मचारी लक्ष्मण बहादुर चन्दलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएका हौं’, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले भने, ‘उनीबारे थप अनुसन्धान भैरहेको छ ।’
अख्तियारले मंगलबार नियन्त्रणमा लिएका दुवै कर्मचारी आयात सम्बन्धित छन् । उनीहरुको मिलेमतोको आशंकामा दैनिक नेपालगन्जले गरेको प्रश्नमा अख्तियारका अधिकारीले यसै भन्न नसकिने बताए । ‘अनुसन्धान भैरहेकाले दुई घटनाको सम्बन्ध भए पछि खुल्नेछ’, अख्तियारको सम्पर्क कार्यालय नेपालगन्ज कार्यालय प्रमुख गैरेले भने ।
नेपालगन्ज कारकाँदोमा रहेको यातायात व्यवस्था कार्यालय भेरीबाट पनि अख्तियारले जाँचबुझका लागि कागजातहरु नियन्त्रणमा लिएको छ । ‘सवारी अनुमतिमा अनियमितता भैरहेको गुनासो आएपछि अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको हो’, अख्तियारको सम्पर्क कार्यालय नेपालगन्ज कार्यालय प्रमुख गैरेले भने, ‘जाँचपछि थप खुल्नेछ ।’
अख्तियार नेपालगन्जमा एकैपटक तीन वटा सरकारी कार्यालयमा छापा मारेको घटना पहिलो हो । पछिल्ला दिनमा सरकारी कार्यालयहरुमा बढ्दो अनियमितता लिएर चर्को आलोचना भैरहेको थियो ।