बहुउद्देश्यीय सभा गृह तथा प्रदर्शनी स्थल निर्माणको अभियानका लागि आयोजना गरिएको प्रादेशिक महोत्सवको उद्घाटनमंै खट्किएको छ, नेपालगन्जमा ठुला आयोजनाका लागि प्रदर्शनी स्थलको आवश्यकता ।
मौसमका कारण शुक्रवारबाट आइतवार सारिएको प्रादेशिक महोत्सव उद्घाटनका क्रममा बहुउद्देश्यीय सभा गृह तथा प्रदर्शनी स्थलको आवश्यकता मौसमकै कारण खट्किएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बर्षात्का कारण अस्तव्यस्त बन्ने आशंका थियो । ‘मोटरले पानी फालेर कार्यक्रम गर्न योग्य बनाइयो,’ संघका उपाध्यक्ष समेत रहेका निर्माण उपसमितिका संयोजक दुर्गा भण्डारीले दैनिक नेपालगन्जसँग भने । ‘आफैं लेवर बनेर बिहानभर काम गरियो,’ मञ्च व्यवस्थापन उपसमितिका संयोजक श्यामसुन्दर अधिकारीले भने । अधिकारीका अनुसार, बिहानभरि ठुलो संख्यामा मजदुर लगाएर माटो, घाँस, भुस हालेर कार्यक्रमका लागि मञ्च व्यवस्थापन गरिएको हो ।
महोत्सव उद्घाटन सत्रको क्रममा पनि आकाशमा कालो बादल मडारिइरहेको थियो । घरी घाम त घरी पानी चुहिइहाल्छ कि भन्ने कालो बादल । आयोजक मूल समितिका पदाधिकारीहरु आकाशको बादल हेर्दै निन्याउरो हुँदै थिए । एक पटक सारेर आयोजना गरेको महोत्सवको उद्घाटन सत्र नै कतै बर्षात्ले नबिथोलिदियोस् भन्ने चिन्ता आयोजकका अनुहारमा झल्कन्थ्यो ।
उद्घाटन सत्र कार्यक्रम चलिरहँदा सञ्चालक ओविराज आयार्य भन्दै थिए, ‘विशिष्ट व्यक्तित्वहरुलाई बोल्ने समय तोक्दिन तर कृपया मौसमको ख्याल गरिदिनुहोला ।’ सञ्चारकर्मी आचार्य पनि आकाश हेर्दै उद्घाटन कार्यक्रम छिटो सक्ने तरखबरमा देखिन्थे । तर, संघले उपलब्ध गराएको लामो लिष्ट कै कारण होला अतिथिको आसन ग्रहणको नाम बोलाउनमै एक घण्टा समय बित्यो ।
आयोजक मूल समितिका संयोजक समेत रहेका संघका अध्यक्ष नन्दलाल वैश्यकोे आँखा पनि अधिकाँश समय आकाशमैं थियो । उनकै बगलमा थिए सहरी विकास मन्त्री इस्तियाक राई । आकाशमा घाम लाग्दा अध्यक्ष वैश्य सन्तुष्ट देखिन्थे, मन्त्रीलाई पनि घाम लाग्यो भनेर इशारा गर्दै मलिन अनुहार उज्यालो बनाउँथे ।
अतिथिहरुका लागि स्टेज बनाइए पनि दर्शक दिर्घा खुला अकाशमूनि थियो । महोत्सव स्थलमा मनोरञ्जनका लागि बनाइन लागेको पिङ्गहरुलाई पूर्णता दिइँदै थियो, स्टल लिएकाहरु आफ्ना बस्तु बोराबाट झिक्ने तरखरमा थिए ।
महोत्सव स्थल बर्षात्को पानीले हिलाम्मे देखिन्थ्यो । उद्घाटन कार्यक्रम गरिएको स्टेज नजिकै रहेको हिलाम्मे मैदान नियाल्दै भेटिएका महोत्सव प्रचार प्रसाद समितिका सहसंयोजक चिरञ्जीवि ओलीले भने, ‘बहुउद्देश्यीय सभा गृह र प्रदर्शनी स्थल भएको भए यो अवस्था आउने थिएन । उनले बादलले छेकिएको आकाश हेर्दै दैनिक नेपालगन्जलाई भन्दै थिए, ‘यो मौसम सँग हामी डराउनु पर्दैनथ्यो, बर्षात्का कारण कम्तिमा स्टल राख्ने व्यवसायीले क्षति ब्यहोर्नु पर्दैनथ्यो ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका महासंघ केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मेला, महोत्सवका लागि स्थायी संरचना नहुँदा आयोजनाका क्रममा करोडौं रुपैयाँ अस्थायी संरचना निर्माणमै खर्च भैरहेको बताए । ‘बहुउद्देश्यीय सभा गृह हुने हो भने विविध वस्तु तथा उत्पादनका महोत्सव निरन्तर आयोजना गर्न सकिन्छ’, उनले भने, ‘हाल महोत्सव भनेपछि मौसम हेरेर समय तोक्नु पर्ने अवस्था छ ।’
उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा ३ सय स्टल राखिएका छन् । तीन दिन सारेर उद्घाटन गरिएको महोत्सव आइतबार पनि स्टलमा व्यवसायीहरु आफुले ल्याएका सामानहरु सजाउने कि नसजाउने असमञ्जसमा देखिन्थ्ये । केही व्यवसायीले भने स्टलमा सामान भरिभराउ गरेपनि अधिकांशका सामान बोरामै देखिन्थ्ये । केही स्टल राख्ने व्यवसायी आकास हेर्दै मौसम पूर्वानुमान गर्दै थिए । उनीहरुको एउटै चिन्ता थियो, पानी परिहाले कसरी सामान सुरक्षित गर्ने । टिन लगाएर राम्रै स्टल बनाइएको भएपनि ठूलो पानी परे थेग्न भने नसक्ने स्थिति छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले पनि बहुउद्देश्यीय सभागृह र प्रदर्शनी स्थल नेपालगन्जमा भएको भए आकाश हेरेर चिन्तित हुनु पर्दैनथ्यो । उनले भने, ‘मौसम हेरेर माहोत्सवको मिति तोक्न समय कुर्नु पर्थेन ।’ मञ्च बाहिर भेटिएका प्रचार संयोजक टंक धामी, मञ्च व्यवस्थापन समितिका संयोजक श्यामसुन्दर अधिकारी, रोमनाथ न्यौपाने पानीकै चिन्तामा थिए, ‘अब पानी नपरिदिए हुन्थ्यो ।’
प्रचार समितिका सहसंयोजक ओलीले मौसमले पनि नेपालगन्जमा बहुउद्देश्यीय सभागृह र प्रदर्शनी स्थलको आवश्यकता प्रष्टयाएको बताए । ‘पक्की संरचनाहरु महोत्सव स्थलमा निर्माण हुन्थ्यो भने मौसमकै कारण मेलामा स्टल राखेका व्यवसायीले चिन्ता लिनु पर्दैनथ्यो,’ उनले भने ।
महोत्सवमा आइतबार हिलो टेकेरै भएपनि उद्घाटन कार्यक्रममा ऐक्यबद्धता जनाउन बाँकेका बासिन्दा पुगेका थिए । संघले पनि महोत्सवमा रहेको हिलाम्मे मैदानको प्रभाव कम गर्न भुस र माटो पटान लगायतका काम गरेका छन् । २५ जिल्लाको केन्द्र मानिएको नेपालगन्जमा व्यवसायिक प्रयोजनका लागि बहुउद्देश्यीय सभागृह र प्रदर्शनी स्थल निर्माणको आवश्यकतामा मौसमले पनि ध्यानाकर्षण गराएको छ । ‘उद्घाटन कार्यक्रममा सहरी विकास मन्त्री, प्रदेश मन्त्री, सभासद् र स्थानीय तहका जनप्रतिनिधि उपस्थिति हुनुहुन्छ’, महोत्सवमा उद्घाटनमा सहभागी व्यवसायीहरुले भने, ‘उहाँहरुले यस विषयमा पक्कै पनि मनन् गर्नुभएको छ ।’