१७ प्रतिस्पर्धीलाई उछिन्दै कृतिका उप्रेति र राजेन्द्र तामाङ्ग ‘द नेक्स्ट फेस नेपालगन्ज २०१९’ चयन भएका छन् ।
इभेन्ट म्यानेजमेन्टका क्षेत्रमा संस्थागत अभ्यास सुरु गरेको द थ्री चियर्स इभेन्ट्सले आयोजना गरेको प्रतियोगिताको पहिलो संस्करण कृतिका र राजेन्द्रले उपाधी चुमेका हुन् । कार्यक्रमका फाउण्डर अर्गनाइजर यम गिरीका अनुसार, नमसा थापा तथा जनक गुरुङ्ग फष्ट रनरअप र सुनिता बुढाथोकी तथा सिद्धान्त क्षेत्री सेकेण्ड रनर अप घोषित भए ।
नीतिशा विष्ट र सिद्धान्त क्षेत्रीले भ्युअर च्वाइस अवार्ड हात पार्न सफल भएका छन् । युवाहरु बीचको प्रतिभा पहिचानका लागि यसै बर्षदेखि ‘द नेक्स्ट फेस नेपालगन्ज २०१९’ छनोट सुरु गरिएको हो । प्रमिला आरएल राना, हर्जित राई, शिवाङ्गी मल्लको संयुक्त निर्णायक मण्डलमा भएको प्रतिस्पर्धात्मक सम्पूर्ण इभेन्टको रेशम न्यौपानेले कोरियोग्राफी र विमल भण्डारीले निर्देशन गरेका थिए । कार्यक्रमका लागि सागर आचार्य संयोजक, विक्रम सिंह आर्थिक विभागको नेतृत्व लिएको फाउण्डर अर्गनाइजर गिरीले जानकारी दिए ।
कार्यक्रमका लागि युवा उद्यमी विनोद अग्रहरी, ग्रिन नेपालगन्जका अभियन्ता डा. विनोद कर्ण लगायतले उत्प्रेरक भूमिका खेलेको आयोजक द थ्री चियर्स इभेन्ट्सले जनाएको छ । ‘उनीहरु युवा पुस्ताका लागि आइडलका रुपमा तयार हुनेछन्’, कार्यक्रम निर्देशक विमल भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि उनीहरुलाई समाजका विभिन्न क्षेत्रसँग परिचित र प्रशिक्षित गरिएको छ ।’
स्कुल, कलेजका विद्यार्थीहरु बीच आत्मविश्वासको विकास गर्ने र उनीहरु मध्येबाट सामाजिक क्षेत्रमा आकर्षण गराउने उद्देश्य पनि आयोजनाको हो । कार्यक्रम निर्देशक भण्डारीले नेपालगन्जमा यसखालको कार्यक्रम उदाहरणीय हुने दाबी गर्दै भने, ‘स्रोतको अभावमा पनि स्वयंसेवकहरु परिचालित ससाना सहयोगबाट कार्यक्रमलाई उदाहरणीय बनाउने प्रयास गरेको बताए ।’ (तस्विर : विनोद अग्रहरी/दैनिक नेपालगन्ज)