नेपालगन्जमा आज आइतबारदेखि प्रादेशिक महोत्सव सुरु गरिएको छ । मुलुक संघीयतामा गएपछि संघले दोस्रो पटक फागुन १९ देखि २९ गतेसम्म प्रादेशिक महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन अघि नेपालगन्ज उद्योग वाणिज्य संघबाट निस्कने झाँकी सहितको र्याली आयोजना स्थल सडक विभाग कारकाँदो पुगेको छ । उद्घाटन र्यालीलाई भव्यता दिन भारतबाट ल्याइएको ऊँट समेत र्यालीमा सहभागी गराइएको छ । र्यालीमा विभिन्न, धर्म, समुदायको पहिचान युक्त झाँकी पनि प्रदर्शन गरिएको थियो ।
महोत्सवमा अवलोकनकर्तालाई विभिन्न उत्पादकहरुका उत्पादन, कपडा, घरेलु, हस्तकलाका सामान, अटोमोबाइल्स, जडिबुटी, कृषि, इलेक्ट्रोनिक्स, होटल लगायतका स्टल, सूचना, प्रविधिका स्टल रहनेछन् भने मनोरञ्जनका लागि पिङ्ग, सांस्कृतिक तथा गीत, नृत्यका कार्यक्रमको पनि अयोजना गरिनेछ । महोत्सवको सुरक्षा, यात्रुहरुको आवागमनका लागि सहज व्यवस्थान पनि गरी सकिएको छ ।
महोत्सव उद्घाटनका दिन बिहीबार निकालिने र्यालीमा ४५ बढीको कल्चरल झाँकी प्रदर्शनीको तयारी छ । महोत्सव उद्घाटन झाँकीमा विभिन्न धर्म र जातिको पहिचान झल्कने तथा संघ, संस्थाहरु ऐक्यबद्धता जनाउन ब्यानर सहित सहभागिता जनाउँदैछन् । ‘झाँकीको तयारी टुङ्ग्याएका छौं,’ प्रचारप्रसार, सूचना प्रविधि, र्याली तथा झाँकी व्यवस्थापन उपसमितिका संयोजक टंक बहादुर धामीले भने । उनले महोत्सवको प्रचार, प्रसारमा पनि उपसमिति सक्रिय रहेको बताउँछन् । ‘विज्ञापन, माइकिङ्ग, पर्चा, पम्पलेड, होडिङ्ग बोर्ड, ब्यानर लगायतको माध्यमबाट महोत्सव आयोजनाको सन्देश दिइरहेका छौं’, प्रचार संयोजक धामीले भने । यसपटक महोत्सव प्रचारप्रसारका लागि सामाजिक सञ्जालको पनि व्यापक प्रयोग गरिएको उनले जानकारी दिए । ‘नेपालगन्जका लाखौं प्रयोगकर्तासम्म पुग्ने गरी सामाजिक सञ्जाललाई प्रचारप्रसारका लागि प्रयोग गरिएको छ’, उनले भने ।
३ सय स्टल रहने महोत्सवमा सबै स्टल बुक भैसकेका छन् । महोत्सवका चार किसिमको सुरक्षा व्यवस्थापन सुनिश्चित गरिएको छ । त्यसका लागि संघले यसअघि प्रहरी प्रशासनका अधिकारीहरुसँग अन्तरक्रिया समेत गरेको छ । महोत्सवमा प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र महोत्सव आयोजक आफैले राखेका निजी सुरक्षा गार्ड तैथान हुने स्टल बुकिङ्ग व्यवस्थापन तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।
नगरमा महोत्सवका लागि ३ वटा स्थानमा स्वागतद्वारा बनाइएको छ । ‘राँझा चोक, धम्बोझी चोकबाट खजुरा जाने स्थान र आयोजना स्थलमा स्वागतद्वार निर्माण गरेका हौं’, निर्माण तथा स्वागतद्वारा व्यवस्थापन उपसमितिका संयोजक दुर्गा प्रसाद भण्डारीले भने । महोत्सवमा २० वटा होटलका, १८ वटा अटो मोबाइल्स र बाँकी जडिबुटी, कृषि, हस्तकला, लत्ताकपडा, खाद्यान्नका स्टल रहने भण्डारीले जानकारी दिए ।
सचिवालय व्यवस्थापन उपसमितिका संयोजक अजय कुमार टण्डन आयोजनालाई सफलतापूर्वक सञ्चालन गर्न सचिवालय सक्रिय रहेको बताउँछन् । उनले मेलाको सुरुदेखि अन्तिमसम्म सचिवालयले सहजीकरणको काम जारी राख्ने बताए । ‘उपसमितिहरुलाई परेको अप्ठ्यारा बारे सहजीकरण गरिरहेका छौं’, टण्डनले भने ।
यसपटक प्रादेशिक महोत्सवमा नेपाल बाहेक ५ वटा देशका स्टल पनि राखिने भएको छ । पर्यटन व्यवस्थापन उपसमितिका संयोजक तारा कुमारी खत्रीले चीन, पाकिस्तान, भारत, बंगलादेश, अफगानिस्तानका १० वटा स्टल मेलामा सहभागी रहने सुनिश्चित भएको बताइन् । त्यसबाहेक पर्यटन प्रवद्र्धन गर्ने तथा महिला उद्यमीहरुका स्टललाई पनि महोत्सवमा प्राथमिकता दिइएको खत्रीले जानकारी दिइन् । ‘महोत्सवमा महिलाहरुका उत्पादनलाई सहुलियतमा स्टल व्यवस्था गरेका छौं’, पर्यटन व्यवस्थापन उपसमितिका संयोजक खत्रीले भनिन् ।
महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय खाना, झाँकी, महिला उद्यमीको हस्तकलाका सम्बन्धित १२ वटा स्टल राखिएको लघु उद्यम तथा हस्तकला व्यवस्थापन उपसमितिका संयोजक रमारानी गुप्ताले जानकारी दिइन् । उनले महोत्सवमा मधेसी संस्कृति, थारु संग्रालय तथा परम्परागत गतिविधि झल्कने सामाग्री र तस्वीर प्रदर्शनीका स्टल पनि रहने बताइन् ।
महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान तथा पिङ्ग लगायतका मनोरञ्जनका साधन पनि राखिएका छन् । ‘टोराटोरा, फ्रिफल, चाँदतारा, पिङ्ग, स्टेकिङ्ग रिङ्ग, कोलम्बस लगायतका खेल सामाग्री महोत्सवमा राखेका छौं’, बाल उद्यान तथा विविध मनोरञ्जन व्यवस्थापन उपसमितिका संयोजक रोहित कुमार टण्डनले भने, ‘महोत्सवमा आउने दर्शकका लागि भरपुर मनोरञ्जनको व्यवस्था गरिएको छ ।’
उद्घाटन, समापन तथा मञ्च सजावट उपसमितिका संयोजक श्याम सुन्दर अधिकारीले मञ्च तथा महोत्सव स्थल आकर्षक रुपमा सजाइएको बताए । उनले भने, ‘मञ्च तथा मूल गेटको सजावट कार्य सकिएको छ ।’ महोत्सवमा आउने दर्शकहरुलाई ल्याउने र लैजाने यातायातका साधनको व्यवस्था पनि गरिएको छ । त्यसका लागि नेपालगन्जका यातायात व्यवसायी संघहरुसँग पार्किङ्ग तथा यातायात व्यवस्थापन उपसमितिले छलफल गरिसकेको संयोजक हरिश्चन्द्र श्रेष्ठ बताउँछन् । ‘स्थानीय यातायात व्यवसायी संघसँग महोत्सवमा आउने दर्शकलाई ल्याउने र लैजाने व्यवस्थापनका लागि आग्रह गरेका छौं’, उनले भने, ‘त्यसका लागि यातायात समितिहरुले प्रतिबद्धता जनाइसक्नु भएको छ ।’ महोत्सव स्थलमा यातायात रोक्ने व्यवस्था गरिएको जानकारी दिंदै संयोजक श्रेष्ठले महोत्सव सकिएसँगै महोत्सवकै ब्यानर टाँगिएका बसहरु दशर्कहरुलाई गन्तव्य पुर्याउनका लागि तयार रहने जानकारी दिए । महोत्सवमा व्यवस्थित पार्किङ्गका लागि ठेक्का भैसकेको र पार्किङ्ग स्थल पनि छुट्याइसकेको श्रेष्ठले जानकारी दिए ।
महोत्सव प्रचारका लागि व्यवसायीहरुले उत्साहजनक रुपमा ब्यानरहरु सौजन्य गरेको नगर सजावट तथा ब्यानर संकलन व्यवस्थापन उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए । ‘व्यवसायीहरुले प्रचारका लागि सौजन्य गरेका ब्यानर मेला स्थल र बजार क्षेत्रमा लगाइसकेका छौं’, उनले भने ।
स्मारिका प्रकाशन व्यवस्थापन उपसमितिका संयोजक अभय कुमार बस्नेतले मेला समापनमा विमोचन गर्ने गरी स्मारिकाको काम भैरहेको जानकारी दिएका छन् । महोत्सव आउने अवलोकनकर्ताका खानेपानीको अभाव नहोस् भनेर उचित व्यवस्था मिलाइएको खानेपानी व्यवस्थापन उपसमितिका संयोजक धु्रव प्रसाद दाहालले जानकारी दिएका छन् ।
स्वागत तथा अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजक बिन्दु चर्तिमगरले आफ्नो समितिले तयारी पूरा गरिसकेको बताइन् । उनले मेला तयारी पूरा भैसकेको जानकारी दिइन् । ‘हामी मेलामा अवलोकनकर्ता स्वागत गर्न तयारी अवस्थामा छौं’, संयोजक मगरले भनिन् । उनले सहजतापूर्वक मेला अवलोकनको व्यवस्था मिलाइएको बताइन् ।
स्थानीय उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना गरिएको महोत्सवबाट प्राप्त हुने मुनाफा संघले बहुउद्देश्यीय सभा गृह र व्यवसायिक हितका लागि प्रयोग गर्ने बताएको छ । ५० लाख बचत गर्ने लक्ष्य राखिएको महोत्सव २ लाख बढी अवलोकनकर्ता भित्र्याउने योजना रहेको संघले जानकारी दिएको छ । स्वदेशी उत्पादनमा भर परौं, स्वाधिन अर्थतन्त्रको निर्माण गरौं भन्ने मूल नाराका साथ बहुउद्देश्यीय सभा गृह निर्माण र व्यवसायिक हितका लागि स्रोत जुटाउने उद्देश्यले आयोजना हुन लागेको महोत्सवलाई सफल पार्न स्थानीय उद्योगी, व्यवसायी, बाँकेबासी, प्रहरी, प्रशासनबाट पूर्ण सहयोग पाउने अपेक्षा लिइएको संघले बताएको छ ।