सतिश निरौला
रबिन्द्र अधिकारी एक शालीन नेता हुनुहुन्थ्यो । उहाँ तत्कालीन अनेरास्ववियु नेतृत्वमा हुँदा का केही यादहरु ले अहिले चस्सचस्स घोचिरहेको छ । देशभर बिद्यार्थीहरुलाई सार्वजनिक सवारी साधन मा ३३ प्रतिशत छुटका लागि गरेको आन्दोलनको अगुवाई होस् वा कालापानी, सुस्ता र लक्षमणपुर ब्यारेजमा भारतीय हस्तक्षेप विरुद्धको राष्ट्रवादी आन्दोलनको अगुवाई चिरकालसम्म स्मरण र स्तुति योग्य छन् ।
तत्कालीन अनेरास्ववियुको नेतृत्वमा रहेर दाइले बिद्यार्थी आन्दोलन हाँक्दै गर्दा र संगठनका काममा नेपालगन्ज आउँदा जहिले सम्झिने भेट्ने एउटा कार्यकर्ता थिए । दाइले मलाई मेरो नामले भन्दा नि मेरो ‘भेरीको प्यारो भाइ’को सम्बोधन गर्नुहुन्थ्यो, मोबाइलको टच स्क्रिनमा दाइलाई सम्झिदै गर्दा मन कम्पित भैराखेको छ, औंलाहरु लडखडाइ रहेका छन् ।
त्यतिबेला हामी भेरीका अखिलेहरुको मुख्य ठिहा थियो सुर्खेत रोड । हाम्रो अफिस नै त्यहीँ थियो । त्यतिबेला नेपालगन्ज आउँदा अखिलको मिटिङ्ग पूर्व चिया र जामब्रेड खाएको भर्खर जस्तो लाग्दैछ । अब त ती पुराना कुराहरु अब केवल स्मृति र मस्तिष्क मा घुमिरहेका छन् अनि ती दृश्य हरु धुमिलहुदै वरिपरि नाचिरहेका छन् ।
लक्षमणपुर मार्च अभियान को त्यो भब्य मानवसागर जस्को नेतृत्व आदरणीय दाजु रबिन्द्र अधिकारिले गर्नुभएको थियो । त्यतिबेला मैले खजुराको जनता माबी, ज्ञानोदय माबि, आदर्श माबि र जानकी माबिबाट तीन बस बिद्यार्थीहरुको नेतृत्व गर्दै उक्त कार्यक्रममा सहभागिता जनाएको थिए । जब हामी होलिया पुगेउ उता भारतीय शुरक्षाकर्मी हाइअलर्ट अवस्थामा थियो भने यता बाँकेबाट प्रहरी प्रमुख सहित सिडिओको टोली पनि होलिया पुग्यो, प्रशासनले त्यहाँबाट अघि नबढ्न उर्दी जारी गर्यो । हामीले केहीबेर नारा जूलूस गरियो अन्तत हामी त्यहाँबाट अगाडि बड्न सकेनौं र होलियामा नै कार्यक्रम गरि लक्षमणपुर बाँध भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मुल्यमान्यता र कानुन मिच्दै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरि बनाएकोमा बिरोध दर्ज गरेउ । अनि त्यो भब्य जनसागरलाइ रबिन्द्र दाइले सम्बोधन गर्नु भयो ।
देशले एउटा उर्जावान, शालीन र बिकासे नेता गुमाएको छ । नेपाली जनताले ठुलो आशा र भरोसा गरेको नेता थिए रबिन्द्र अधिकारी । पछिल्लो समय जबर्जस्ती प्रोपोगन्डा गरेर उनलाई गन्धकी राजनीतिमा हिलो छ्याप्ने प्रयास गरियो । यति हुँदा पनि उनको शालिनता र सक्रियता अनि हिम्मत डगमगाएन । विद्यार्थी आन्दोलनका धरोहर, नेपाली राजनीतिमा उदाउँदो नक्षत्र आज समयको अगाडि रहन सकेन समयले छिटो चुड्यो आस्था र भरोसाको दियो निभ्यो सिङ्गो राष्ट्रबादी आन्दोलनको अगुवा अस्तायो । अलबिदा रबिन्द्र दाइ ! इतिहासले सधै सम्झने छ । श्रद्धाञ्जली ।