नेपालगन्ज उद्योग वाणिज्य संघ एक दशकदेखि नेपालगन्जमा बहुद्देउश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागि प्रयासरत् छ । संघको प्रयासकै कारण सरकारले नेपालगन्ज कारकाँदो स्थित सडक डिभिजन परिसरमा रहेको १० विगाह क्षेत्रफल भोगाधिकारका लागि दियो । तर, एक दशक हुँदा पनि बजेट एक रुपैयाँ पनि छुट्याएन । २०६४ सालमा दामोदर आचार्य नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा रहेको अवस्थामा संघले भोगाधिकार प्राप्त गरेको थियो ।
मध्यपश्चिमको व्यापारिक हबमा रुपमा रहेको नेपालगन्जको आवश्यकतालाई सम्बोधन गर्न संघले प्रयास गरेपछि तत्कालीन मन्त्रीपरिषद्ले भोगाधिकार दिएको थियो । तर, दशकको पहल हुँदा पनि सरकारले चासो नदिंदा नेपालगन्जमा सभागृहका लागि पूर्वाधारका कुनै काम हुन सकेको छैन । दाङ्ग र नेपालगन्जले सँगै बहुउद्देश्यीय सभागृहका लागि प्रस्ताव गरेको थियो । दाङ्गले बजेट पायो नेपालगन्जको फाइल कुनामा थन्क्याइयो । ‘तत्कालीन सरकारमा हाम्रो दबाब पुगेन’, व्यवसायीहरु भन्छन्, ‘त्यसैले नेपालगन्जमा बनाइने भनेको सभागृहका लागि सरकारले बजेट दिएन ।’
‘अर्बको प्रोजेक्ट निजी क्षेत्रले बनाउन सक्ने अवस्था छैन’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘हामी त्यसका लागि प्रयासरत् छौं ।’ मध्य र सुदुरको व्यापारिक केन्द्रका रुपमा रहेका नेपालगन्जमा सभा गृह र प्रदर्शनी स्थलको आवश्यकता महसुस गरी पहल थालेको संघले निर्माणका लागि बजेट माग गर्दै दर्जनौं पटक सरकार प्रमुख, मन्त्री र मन्त्रालय ज्ञापनपत्र लिएर पुगेको छ । ‘हामीले धेरै प्रयास गर्यौं तर बजेट दिने बेलामा वेवास्ता गरियो’, संघका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले भने । ‘सभागृहले नेपालगन्जको विकासमा समेत प्रभाव पार्छ’, उनले भने, ‘त्यसैले सभागृहको विषयमा स्थानीय राजनीतिक दल, व्यवसायी, नागरिक समाजले पनि चासो देखाउनु पर्छ ।’
‘हामीले सरकारलाई पटकपटक आग्रह गरेका छौं’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले भने, ‘आश्वासन दिइन्छ, तर बजेट दिइँदैन ।’ उनले सरकारलाई कुनै पनि हालतमा बहुउद्देश्यी सभागृहका लागि बजेट छुट्याउन बाध्य बनाउने बताए । ‘सभागृहका लागि बजेट उपलब्ध नहुँदासम्म हामी निरन्तर दबाब सिर्जना गरिरहेन छौं’, बुधबार नेपालगन्जमा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैश्यले भने । संघले यसपटक पनि सभागृहलाई बजेट जुटाउने उद्देश्यले महोत्सव गर्दैछ ।
अध्यक्ष वैश्यले सभागृहका लागि जोड गरिरहेपनि वर्तमान सरकारले पनि नेपालगन्जमा सभागृहका लागि आश्वासन बाहेक केही दिएको छैन । सरकार नेपालगन्ज–१४ भवानीयपुरमा झण्डै आधा अर्बमा सभागृह बनाउने योजनामा छ तर आफैले जग्गा उपलब्ध गराएको कारकाँदोमा सभागृहका लागि वास्ता गरेको छैन ।
अध्यक्ष वैश्यले सरकारले बजेट छुट्याएमा संघको तर्फबाट पनि केही प्रतिशत लगाउनु पर्ने भएकाले महोत्सवबाट बचत हुने रकम छुट्टै खातामा जम्मा गरेर राखेको बताउँछन् । ‘हालसम्म महोत्सवबाट बचत भएको रकम बहुउद्देश्यीय सभा गृहका नाममा राखेका छौं’, अध्यक्ष वैश्यले भने ।
गत बर्ष महोत्सव आयोजना गरेको संघले यस बर्ष पुनः प्रादेशिक महोत्सवको आयोजना गर्दैछ । ‘यस बर्ष महोत्सवबाट बचत हुने रकम पनि सभागृहकै नाममा राखिनेछ’, अध्यक्ष वैश्यले भने । बुधबार महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैश्यले संघले भोगाधिकार पाएको १० विगाह जग्गाको संरक्षणका लागि पर्खाल लगाउने योजना रहेको बताएका छन् ।
बर्षाले सर्यो मेला
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज उद्योग वाणिज्य संघले “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” तीन दिन पछि सरेको छ । प्रतिकुल मौसमका कारण प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आइतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिन पछि सार्नुपरेको अध्यक्ष बैश्यले जानकारी दिए । ‘सम्पूर्ण तयारी पूरा भैसकेका बेला महोत्सव सार्न बाध्य भयौं’, अध्यक्ष वैश्यले भने । बुधवार संघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बैश्यले सारिएको तीन दिनमा थप तयारी गरी महोत्सवलाई भब्य बनाउने बताएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महोत्सव सफल पार्नका लागि सबैसंग सहयोगको अपील गरे । वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको हो । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।