नेपालगन्ज नगरप्रमुखलाई सुझाव, ‘महानगरको काम थाल्नुस्’

‘मेयर सा’प नेपालगन्ज महानगरको अवधारणा कार्यान्वयनका लागि अब ढिलाई नगर्नुस्’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणालाई आफ्नो टेबलमा स्वागत गर्दै खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विषय प्रवेश गराए । त्यसअघि नै कक्षपतिसँग उद्योगपति समेत रहेका राजनीतिकर्मी पशुपति दयाल मिश्र, पत्रकार पूर्णलाल चुके, कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र वीर राय, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी, राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकाल बसिसकेका थिए । सबैको ध्यान नगरप्रमुख डा. राणा र कक्षपतिको संवादमा आकृष्ट भयो ।

 
कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो १५आंै स्थापना दिवस मनाउन बाँकेका सबै तहका जनप्रतिनिधिदेखि उद्योगी, व्यवसायी तथा पेशागत क्षेत्रका प्रतिनिधिहरुलाई सोमबार एकैठाउँ निम्त्याएको थियो । सोही कार्यक्रममा विभिन्न अनौपचारिक विषयहरु मध्ये सबैभन्दा बढी केन्द्रित रह्यो नेपालगन्जको भविष्य । ‘अब नेपालगन्जको भविष्य कुरेर बस्दा ढिलो हुन्छ’, खजुराका प्रमुख कक्षपतिले विषयको गम्भीरता प्रष्ट्याउँदै डा. राणासँग भने, ‘नेपालगन्ज, कोहलपुर र खजुरालाई एउटै टेरिटोरीमा राखेर महानगरका रुपमा विकासको बृहत अवधारणा अघि सार्नु पर्छ । प्रदेश ५ सरकारले नेपालगन्ज, कोहलपुर जोडर महानगर बनाउने परिकल्पना गरिरहँदा यसअघि देखि नै बाँकेमा तीन वटा मुख्य सहर जोडेर एउटा बृहत महानगरको अवधारणा कार्यान्वयनमा ल्याउनु पर्ने कुरा बहसमा आइरहेको छ ।

 
दुई जनप्रतिनिधिका गर्मागर्मी बहस चलिरहँदा स्वतन्त्र राजनीतिक समूहका नेता समेत रहेका उद्योगपति मिश्रले महानगरको कार्यान्वयनसँगै नेपालगन्ज दिल्ली उडानको सुनिश्चितताले मात्रै त्यसको भविष्य सुनिश्चित राख्ने धारणा राखे । ‘त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण जरुरी देखिएको छ’, नेपाल र भारत सरकारले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा निवेदन दिंदा अन्तर्राष्ट्रिय नाका नेपालगन्ज बनाउने कुरा छुटेको प्रसंग मिश्रले बहसमा ल्याए । ‘नेपाल सरकारले नै मुद्दाका रुपमा अघि सारेन वा भारतले अब्जेक्सन गर्यो ?’, पर्यटन व्यवसायको क्षेत्रमा अर्बौ भारतीय लगानी भित्रिने सम्भावना आंैल्याउँदै मिश्रले भैरहवा र जनकपुर क्रसबोर्डर एयर इन्ट्रि रुटका रुपमा हवाई प्रवेश मार्ग पाइरहँदा नेपालगन्ज छुट्नुको रहस्य खोतल्न नगरप्रमुख डा. राणासँग आग्रह गरे । ‘तपाई (डा. राणा) तत्काल एउटा प्रतिनिधिमण्डल लिएर नेपाल सरकारको आधिकारिक निकायसँग यसबारे कुरा गर्न ढिलो गर्नु हुँदैन’, छलफलमा सहभागी दैनिक नेपालगन्जका प्रतिनिधिले भने । उनको कुरालाई थप्दै मिश्रले निजी क्षेत्रलाई आफ्नो प्रतिनिधिमण्डलमा सहभागी गराउन ध्यानाकर्षण गराए ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्य, पत्रकार चुके लगायतले नेपालगन्ज दिल्ली उडान, एकीकृत भन्सार जाँच चौकी लगायतका महत्वपूर्ण पूर्वाधारमा नेपालगन्ज ढिलो भए इतिहासकै दुर्भाग्यपूर्ण घडीमा पुग्ने टिप्पणी डा. राणासँग छलफलका क्रममा व्यक्त गरिएका थिए । नगर प्रमुख डा. राणाले त्यसबारे आफु गम्भीर रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया