बाँकेका इस्लामिक धर्मगुरुहरुले विवाहमा ब्यान्ड, बाजामा रोक लगाएका छन् । शुक्रबार फैजुन्नबी जामा मस्जिदमा भेला भएका मुस्लिम धर्मगुरुहरु (उलमा)ले विवाहमा ब्यान्ड, बाजा रोक लगाएका हुन् । धर्मगुरुहरुले निर्णयको अटेरी गर्दै विवाहमा ब्यान्ड, बाजा बजाइए निकाह (विवाहमा पढाइने मन्त्र) नपढाउने निर्णय गरेका हुन् ।
नेपालगन्जमा ध्वनि प्रदुषण नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाँकेले गरिरहेको प्रयासमा उक्त निर्णयले सहयोग पुर्याएको छ । केही समय अघि प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सर्वपक्षीय छलफलमा विभिन्न कार्यक्रम, मेला, महोत्सव, धार्मिक कार्यक्रममा हुने ध्वनि प्रदुषणले नगरबासीमा नकारात्मक असर परेको बताएका थिए । लगत्तै प्रशासनले ध्वनि प्रदुषणले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले धार्मिक गुरुहरुलाई ध्वनि प्रदुषण रोक्न अनुरोध समेत गरेको थियो । नेपालगन्जमा ‘नो हर्न’ पनि कार्यान्वयनमा आइसकेको छ ।
इस्लाम धर्मगुरुहरुले विवाहमा ब्यान्ड, बाजाका नाममा फजुल खर्च बढ्दै गएपछि रोक लगाएको बताएका छन् । ‘विवाहमा ढोल, तमाशा, डिजे गरेर फजुल खर्च रोक्ने निर्णय धर्मगुरुहरुले गर्नुभएको हो’, मुस्लिम अगुवा मो. हारुनले भने, ‘देखाउनकै लागि बढी अनावश्यक खर्च रोक्ने प्रयास मुस्लिम समुदायमा गरेका हौं ।’
मो. हारुनले धर्मगुरुहरुले गरेको निर्णय शुक्रबारको नमाजमा सबै इस्लाम धर्मावलम्वीहरुलाई जानकारी दिने । ‘धर्मगुरुको निर्णय कार्यान्वयनका लागि मस्जिदहरुबाट आव्हान हुनेछ’, उनले भने, ‘यो विवाहमा हुने फजुल खर्च नियन्त्रणका लागि चालिएको पहिलो कदम हो ।’
धर्मगुरुहरुले ब्यान्ड, बाजा निरुत्साहित गर्ने निर्णय गरेपछि त्यसलाई मुस्लिम समुदायबाट स्वागत गरिएको छ । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै विभिन्न व्यक्तिहरुले अब दाइजो (दहेज) विरुद्धको अभियान सुरु गर्न सुझाव दिएका छन् । मुस्लिम युवाहरुले तत्काल दाइजो विरुद्ध पनि धर्मगरुबाट निर्णय गर्न आग्रह गरेका छन् । धर्मगुरुहरुले राम्रो फैसला गरेको उल्लेख गर्दै कार्यान्वयन हुनुपर्ने जाबेद फारुकले बताएका छन् भने मिराज आलम, सञ्जय गुप्ताले ‘दहेज’ लिनेहरुको निकाह पनि धर्म गुरुहरुले नपढे उत्तर हुने विचार राखेका छन् ।
फजुल खर्च नियन्त्रणका लागि प्रयास गरेका धर्म गुरुहरु ‘दहेज’ निरुत्साहित गर्ने तयारी समेत गरेका छन् । ‘दोस्रो चरणमा दहेज निरुत्साहित गर्ने प्रयास धर्मगुरुहरुले गर्नुहुनेछ’, मो. हारुनले भने । ‘फजुल खर्च विरुद्ध धर्मगुरुहरुको निर्णय राम्रो हो’, हाजी सकिल अहमद कादरीले भने । उनले विवाहमा ब्याड, बाजा निरुत्साहित गर्ने धर्मगुरुहरुको निर्णयले संस्कृतिका नाममा हुने ध्वनि प्रदुषण पनि हुने बताए । ‘इस्लाम धर्मगुरुहरुको निर्णय सबै धर्मले अवलम्वन गर्नु उत्तम हुनेछ’, उनले भने, ‘यसले ध्वनि प्रदुषण निणयन्त्रणमा आउनुका साथै विवाहमा गरिने फजुल खर्च नियन्त्रणमा आउँछ ।’