बाँकेको १३ प्रतिशत जनसंख्यामा हात्तीपाइले

बाँकेमा हात्तीपाइले विरुद्ध ८ पटक अभियान सञ्चालन गरी औषधी सेवन गराइसकिएको छ । सँगै अभियान सञ्चालन भएका जिल्लाहरुले हात्तीपाइले नियन्त्रण आएको भन्दै स्थगित गरिसकेका छन् । तर, बाँके हात्तीपाइले रोग नियन्त्रणमा आउन नसकेपछि ९ औं पटक यसबर्ष पनि हात्तीपाइले विरुद्धको अभियान सञ्चालन गर्दैछ ।
नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा उक्त अभियान सुरु गरेको हो । हात्तीपाइलेको जोखिम रहेका ६१ जिल्लामा सुरु भएको अभियान अन्तर्गत ४६ जिल्लाले उद्देश्य प्राप्त गरेका छन् । अझै देशका १५ जिल्ला हात्तीपाइले रोगको जोखिममै रहेका कारण यसपटक पनि अभियान जारी राखिएको हो ।
हात्ती पाइलेको औषधी सेवनमा यस क्षेत्रमा पाइएको उदासिनताले जिल्लालाई हात्तीपाइलेको उच्च जोखिममा कायम नै राखेको छ । २०६७ सालमा सुरु भएको अभियान अन्तर्गत ६६ प्रतिशतले मात्र औषधी सेवन गरेको पाइएको छ । अभियान सुरु गर्दा २१ प्रतिशतमा रहेको संक्रमण अहिले घटेर १३ प्रतिशतमा झरेको जिल्ला स्वास्थ्य कार्यालयका दुर्गा गौतमले जानकारी दिइन् ।

 
हात्तीपाइले विरुद्धको औषधी सेवन गर्न मानिसहरु डराउने कारणले गर्दा पनि अपेक्षित रुपमा अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यसैले यसपटक जनप्रतिनिधिहरुलाई पनि हात्तीपाइले विरुद्धको अभियानमा सहभागी गराइएको छ । अभियानमा बाँकेका सबै वडाका जनप्रतिनिधिहरुको समेत अगुवाई रहने गरी कार्यक्रम अगाडि बढाइएको छ ।

 
नेपालगन्ज नगर प्रमुख डा. राणाले सर्भेमा हात्तीपाइले बाँकेको १३ प्रतिशत जनसंख्यामा हात्तीपाइले पोजेटिभ देखिनु चिन्ताजनक अवस्था रहेको बताए । ‘हात्तीपाइले नियन्त्रणमा लिनु हाम्रो लागि चुनौति हो’, नगर प्रमुख डा. राणाले भने, ‘त्यसैले जनप्रतिनिधि पनि अभियानमा सहभागी हुनुहुँदैछ ।’ उनले एकैपटक हात्तीपाइले रोग नियन्त्रणमा आउन नसकेपछि बिस्तारै नियन्त्रणमा ल्याएर छाड्ने बताउँदै सचेतनामा सबै क्षेत्रबाट सहयोग गर्न आव्हान गरे । ‘हात्तीपाइलेको जीवाणु सक्रिय रहेपनि त्यसले लामो समयपछि मात्रै प्रभाव पार्ने भएकाले मानिसहरु औषधी सेवन गर्न चाहँदैनन्’, नगर प्रमुख डा. राणाले भने, ‘औषधी सेवन गर्दा हात्तीपाइले संक्रमितको स्वास्थ्यमा केही प्रभाव देखिन्छ जसलाई नकारात्मक असरका रुपमा बुझिदा पनि अभियान सफल हुन सकिरहेको छैन ।’ नगर प्रमुख डा. राणाले चिकित्सकले सेवन गर्न नहुने भनेका बाहेक सबैले औषधी सेवन गर्न आग्रह समेत गरेका छन् । नगर प्रमुख डा. राणाले औषधीबारेको नकारात्मक धारणा चिर्नका लागि गतबर्ष आफैले औषधी सेवन गरी अभियानको सुरुवात गरेका थिए ।

 
जिल्ला स्वास्थ्य कार्यालयले जनप्रतिनिधिहरुको सहभागिता सञ्चालन हुने हात्तीपाइले अभियानले अब बाँकेमा सफलता पाउने विश्वास गरेको छ । ‘जनप्रतिनिधिहरु आफै औषधी सेवन गर्ने र अरुलाई पनि औषधी सेवन गराउन खटिने प्रतिबद्धता जनाउनु भएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका गौतमले भनिन् ।

 
बर्षौको अभियान पछि पनि बाँके हात्तीपाइले विरुद्धको जोखिममै रहेपछि यसबर्ष १० दिन भन्दा बढी लामो अभियान सञ्चालन गर्न लागेको शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘फागुन १५ गते बुथ र त्यसपछि २६ गतेसम्म घरदैलोमै पुगेर औषधी सेवन गराउने कार्यक्रम तय गरिएको छ’, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले भने, ‘प्रत्येक वडामा औषधी सेवनका लागि बुथ राख्ने तयारी गरिएको छ ।’ उनले यसपटक स्वास्थ्यकर्मीले नै हात्तीपाइले विरुद्धको औषधी सेवन गराउने जानकारी दिएका छन् ।

 
‘स्वयंसेविकाहरुको सहयोगमा बुथमा औषधी सेवन गराउन स्वास्थ्यकर्मीको नै उपस्थिति सुनिश्चित गरेका छौं’, जनस्वास्थ्य कार्यालयका गौतमले भनिन्, ‘त्यसका लागि जिल्लामा ७८९ जना महिला स्वास्थ्य स्वयंसेविका सहित ३५८ स्वास्थ्यकर्मी खटिनेछन् ।’ गौतमले बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई हात्तीपाइले विरुद्धको औषधी सेवन गराउने लक्ष्य राखिएको जानकारी दिएकी छन् । ‘तथ्यांक जिल्लामा स्थायी बसोबास गर्नेको हो त्यसबाहेक घरभाडामा बस्नेहरुलाई पनि औषधी सेवन गराइनेछ’, उनले भनिन्, ‘२६ गतेसम्म पनि औषधी खुवाउने कार्य नसकिएमा समय थप गर्न सकिनेछ ।’ हात्तीपाइले विरुद्धको अभियान स्थानीय तह मार्फत सञ्चालन हुँदैछ । जनप्रतिनिधिको पनि सहभागिता हुने भएकाले यसपटकको अभियान प्रभावकारी हुने विश्वास स्वास्थ्य कार्यालयले गरेको छ ।

 
स्वास्थ्यकर्मीहरुले औषधी सेवन गर्न नडराउन आग्रह गरेका छन् । ‘दुई बर्ष नपुगेका केटाकेटी, गर्भवती आमा, ७ दिनसम्मको सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटुरोग, कलेजो रोगी, फोक्सीको दीर्घ रोगी, मृर्गौला रोगी, २४ घण्टा भित्रमा ज्वरो आएका मानिसहरु, कडा कुपोषण भएका ५ बर्ष मूनिका बालबालिकाहरु, छारे रोगका बिरामीहरु बाहेक सबैले निर्धक्क औषधी सेवन गर्न हुन्छ’, जनस्वास्थ्य कार्यालयका गौतमले भनिन् ।
यसअघि भएको एउटा सर्भेले कोहलपुरमा २३ प्रतिशत, बैजापुरमा ६ प्रतिशत, नेपालगन्जमा ९ प्रतिशतमा हात्तीपाइले पोजेटिभ पाइएको देखाएको थियो ।

 

चिकित्सकहरूका अनुसार, पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हुने हात्तीपाइले रोग लागेपछि जीवनभरि निको हुँदैन । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नै पर्ने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया