कृष्ण अधिकारी
जीउँदै जलाइएकी रिहानाले न्यायको लडाई लड्न सुरु गरेकोे ५ बर्ष बितिसक्यो । उनले अझै न्याय पाउन सकेकी छैनन् । जीउँदै जलाइँदा शरिरको करिब आधा भाग जलेका कारण रिहाना राम्रोसंग हिड्डुल गर्न पनि सक्दिनन् । तर, जीवन धान्ने बाध्यताले नहिडि सुखै छैन ।
माइतीको आर्थिक अबस्था निक्कै नाजुक छ । आफ्नो नाममा एक धुर पनि जग्गा जमिन छैन । अर्काको जग्गामा खेती पाती गरेर उनीहरुले कष्टपुर्ण अबस्थामा गुजारा चलाउदै आएका रिहानाका बुवा अपाङ छन । कडा शारीरिक श्रम गर्नु पर्ने काम गर्न सक्दैनन ।
दाइजोको कारण जीउँदै जलाइएका कारण निक्कै नाजुक अबस्थामा रहेकी जेठी सन्तान रिहाना सहित साना अन्य ७ सन्तानको हेरचाह रिहानाकी आमा नसिरुल शेखले गर्दै आएकी छिन । माइतीको कष्टपुर्ण अबस्थाका कारण रिहाना कामको खोजीमा काठमाडांै पुगेकी छन् । अर्काको घरमा घरायसी काम गरेर जीबिका चलाउँदै न्यायको पर्खाइमा रहेकी रिहानाको गुनासो उस्तै छ, ‘न अपराधी समातियो न त न्यायनै पाइयो ।’ निक्कै कष्ट र पीडादायी जीबन बिताउन बिवश रिहानाले अझैपनि आफुलाई जीउँदै जलाउने श्रीमान र सासुलाई पक्राउ गरेर कडा भन्दा कडा कानुनी लडाई लडिरहेकी छन् ।
रिहानाले पटक पटक जिल्ला प्रहरी कार्यालय लगायत बिभिन्न सरकारी निकायहरुमा पुगेर अभियुक्तहरुलाई पक्राउ गरेर कारबाहीका लागि अनुनय बिनय गर्दै आएको बताउँछिन् । घटना भएको ५ बर्षको अबधिमा रिहाना जिल्ला प्रहरी कार्यालय बाँकेमा मात्रै २५ भन्दा बढी पटक पुगिसकेको बताइन् । ‘तर अभियुक्तहरु पक्राउ परेका छैनन्,’ उनी भन्छिन् । कहिले पक्राउ पर्ने हुन भन्ने पनि कुनै एकीन नै छैन । ५ बर्षको अबधिमा बाकेमा ४ जना प्रहरी प्रमुख फेरिए तर अभियुक्त पक्राउ परेका छैनन् ।
रिहानालाई जीउँदै जलाउनेहरुलाई पक्राउ गर्नका लागि सुरुका दिनहरुमा नेपाल प्रहरीलाई चर्कै दबाब परे पनि घटना पुरानो हँुदै गए पछि रिहाना घटना प्रकरणका अभियुक्तहरु पक्राउ गर्ने कार्य प्रहरीको प्रमुख कार्य सुची मै पर्न छाडेको छ । रिहाना घटनाका बारेमा चासो राख्ने र प्रहरीलाई अभियुक्तहरुलाई पक्राउ गर्नका लागि ताकेता गर्नेहरु पनि घट्दै गएका छन । चर्काे दबाब पर्न छाडे पछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्ने तर्फ चासो देखाउन छाडेको अनुभूति गरिएको छ ।
जनतेन पैसा जुटाएर प्रहरी कार्यालय पुगे पनि उनको पीडा सुनिदिने र उनलाई न्याय दिने तर्फ पहल गरिदिने प्रहरी अधिकृतलाई भेट्न सम्म उनलाई हम्मे हम्मे पर्छ । भेटी हाले पनि हामीले प्रयास गरि रहेका छौ भन्ने रेडिमेट जबाफ मंै उनले चित्त बुझाउनु पर्छ ।
रिहानालाई जीउँदै जलाउने उनका श्रीमान र सासु सीमावर्ति भारतीय क्षेत्रमा बस्दै आएका छन । रिहानाका अनुसार, उनका श्रीमानले त अर्को बिहे गरेर उतै घरजम गरेका छन् । उनीहरु बसेको स्थानका बारेमा जानकारी दिंदा समेत प्रहरीले पक्राउ गर्नका लागि चासो नदिएको उनको गुनासो छ ।
रिहानाले भने जस्तै प्रहरीले गम्भिरतापुर्बक प्रयास नगरेकै कारण अभियुक्तहरु पक्राउ नपरेका हुन् । प्रहरीले चाहाने हो भने इन्टरपोलको सहयोगमा खाडीमुलुकहरुबाट अभियुक्तहरुलाई पक्राउ गरेर ल्याएका कैयौं उदाहरणहरु छन् । रिहाना घटनाका अभियुक्तहरु त केबल सीमा पारी मात्रै छन् । रिहाना भन्छिन्, ‘मलाई जिउदै जलाउनेहरुलाई किन प्रहरीले पक्राउ गर्दैन ? त्यसको कारण पत्रकारहरुले खोजी दिनु पर्यो ।’
घटना भएको ५ बर्ष बितिसक्दा पनि अभियुक्तहरु नपर्नुको कारण बताउँदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल भन्छन्, ‘रिहानालाई जीउँदै जलाउने अभियुक्तहरु भागेर सिमापारी भारतीय क्षेत्रमा बस्दै आएकाले समय लागेको हो ।’ बाँके प्रहरीले भारतीय प्रहरीसंग समन्वय गरेर अभियुक्तहरुलाई पक्राउ गर्नका लागि निरन्तर प्रयास गरिरहेको बताएको छ ।
‘केहि ढिलो भए पनि अभियुक्तहरुलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने’ अठोट व्यक्त गर्दै बाँके प्रहरी प्रमुख पौडेलले दैनिक नेपालगन्ज सँग भने, ‘रिहानालाई न्याय दिलाएरै छाड्ने कुरामा प्रहरी प्रतिबद्ध छ ।’
मधेशमा मागे जति दाइजो ल्याउन नसकेको भन्दै बुहारीहरुलाई जीउँदै आगो लगाउने घटनाहरु हँुदै आएका छन् । दोषीहरु पक्राउ नै नपर्ने परे पनि कडा कारबाही नहँुदा रिहाना जस्तै धेरै चेलीहरु जीउँदै जल्न बिवश छन् ।
के हो रिहाना घटना ?
२०७० चैत ३ गते बाँकेको लक्ष्मणपुरमा आफ्नै श्रीमान र सासुले रिहानालाई जीउँदै जलाएका थिए ।
सात महिनाको गर्भवती रिहानाको आधा शरिर जले पनि घटनालाई लुकाउन खोज्दा उनको समयमै उपचार सम्म हुन सकेन । ५० दिन पछि उनलाई नेपालगन्जको भेरी अंचल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारमा ढिलाई भएका कारण उनको गर्भमा रहेको बच्चाको मृत्यु भए पनि उनी भाग्यबश बाचेकी थिइन् ।
भेरी अंचल अस्पतालमा २ हप्ता र काठमाडौको बीर अस्पतालमा २ महिना उपचार भए पछि उनले नयाँ जीबन पाएकी थिइन् । मागे जति दाइजो ल्याउन नसकेको भन्दै रिहानालाई उनकै श्रीमान र सासुले जीउँदै आगो लगाएर मार्न खोजेका थिए ।
रिहानालाई दाइजो बापत माइतीबाट भैसी र मोटरसाइकल ल्याउन उनका श्रीमान र सासुले दबाब दिंदै आएका थिए । मागे अनुसारको दाइजो माइतीले दिन नसक्दा रिहानाले जीउँदै जल्नु पर्ने अवस्था आएको हो । रिहाना माथि त्यस्तो अकल्पनीय दुःखद घटना बिहे गरेको एक वर्È पुगेकै दिन भएको थियो ।
माइती पक्षको उजुरी पछि बाँके प्रहरीले रिहानाका श्रीमान फरिद बिरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । तर, गर्भमा रहेको आफ्नै सन्तानको मृत्यु हुने गरी जघन्य अपराध गर्ने रिहानाका श्रीमान र सासु भने फरार छन ।
रिहाना त एक प्रतिनिधि पात्र मात्रै हुन मागे जति दाइजो ल्याउन नसक्ने हजारौ महिलाहरु आफ्नै परिवारका सदस्यहरुबाट शारीरिक र मानसिक यातनाको शिकार हुने गरेका छन् ।