बाँकेका आठ वटै स्थानीय तहले केन्द्रको टुङ्गो लगाएका छन् । अस्थायी केन्द्रका सञ्चालित पालिकाहरुले स्थायी केन्द्रको टुङ्गो लगाएका हुन् ।
नेपालगन्ज र कोहलपुरले यसअघि कार्यालय सञ्चालन गर्दै आएको स्थानलाई केन्द्रका रुपमा कायम गरी कार्यसञ्चालन गर्दै आएका छन् । ‘पहिले गाविस रहेको स्थान नै अहिलेको केन्द्र हो’, कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले भने । कोहलपुरको चौराह नजिक कोहलपुर नगरपालिकाको कार्यालय सञ्चालनमा छ । नेपालगन्ज उपमहानगरपालिकाले पनि पहिले नगरपालिका रहेकै स्थानबाट सेवा दिइरहेको छ । नेपालगन्जले भौतिक पूर्वाधार सम्पन्न नयाँ भवनबाट सेवा दिइरहेको छ भने एउटा भवन बनाइरहेको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. २ अगैयामा सञ्चालित छ । यसअघिको अस्थायी केन्द्र पनि वडा नं. २ मै थियो भने अहिले पनि वडा नं. २ मै स्थायी केन्द्र तोकिएको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले जानकारी दिएका छन् ।
जानकी गाउँपालिकाको गाउँसभाले वडा नं. ४ मा रहेको अस्थायी केन्द्रलाई वडा नं. ४ मा सार्ने निर्णय गरिसकेको छ । ‘इन्द्रपुरमा केन्द्र राख्ने निर्णय गाउँसभाले गरिसकेको छ’, गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने, ‘गाउँसभाले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेशसभामा पठाइसकेका छौं ।’ उनले इन्द्रपुरबाट पालिकाको कार्यालय सञ्चालनका लागि तयारी अघि बढिसकेको उनले बताए ।
बाँकेका बैजनाथ गाउँपालिकाले पनि केन्द्र तोकेको छ । हाल वनकटवामा रहेको अस्थायी केन्द्रलाई रामपुरमा सार्ने निर्णय गाउँपालिकाले गरिसकेको छ । ‘निर्णय भैसकेकाले रामपुरबाट पालिका सञ्चालनको प्रक्रिया अगाडि बढिसकेको छ’, पालिकाका कार्यकारी अधिकृत हरि खत्रीले भने ।
बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय वडा नं. ४ मा सञ्चालित छ । ‘हाल रहेको स्थान नै पालिकाको स्थायी केन्द्र हो’, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने । उनले भवन अभावका कारण कार्यसञ्चालनमा समस्या भएकाले थप भवन तथा कोठा निर्माणको प्रक्रियामा गाउँपालिका रहेको जानकारी दिए । ‘भवन तथा कोठाहरु थप गर्नका लागि पहल गरिरहेका छौं’, उनले भने ।
बाँकेको खजुरा गाउँपालिकाले पनि केन्द्रको टुङ्गो लगाएको छ । खजुरा गाउँपालिकाको चौथो गाउँसभाले खजुरा गाउँपालिकाको केन्द्रको टुंगो लगाएको हो । सर्वसम्मत केन्द्रको टुङ्गो नलागेपछि बुधबार गाउँसभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुङ्गो लगाइएको हो ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको गाउँसभाले वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय पारित गरेको थियो । उक्त निर्णय दुईतिहाई सदस्यले पारित गरेका हुन् ।
गत माघ १५ गतेदेखि शुरु भएको चौथो गाउँसभामा केन्द्रको विषयमा विवाद आएपछि वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा वडाध्यक्षहरु सहभागी रहेको कार्यदल बनाइएको थियो । फागुन १ गतेसम्म बैठक स्थगित भएकोमा कार्यदलले पुनः समय माग गर्दै कार्यदलमा राजनीतिक सहल्लाहकार भीम वली, कानूनी सल्लाहकार विकास आचार्य र विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायलाई थप गरेपछि कार्यदलले आज बसेको बैठककमा प्रतिवेदन प्रस्तुत गरेको थियो ।
वडा नं. २ का वडाध्यक्ष देविलाल शर्माले बी गाउँमा केन्द्र तोक्ने प्रस्ताव, वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले यथास्थानमा र वडा नं. ५, ८ का वडाध्यक्ष क्रमश ः देवेन्द्रमान श्रेष्ठ र फिरोज खानले क गाउँमा केन्द्र तोक्ने विषय अघि सारेपछि मतविभाजन प्रक्रियाबाट टुंग्याइएको थियो । उपप्रमुख एकमाया विकले सभामा खजुरा गाउँपालिकाको केन्द्र बि गाउँमा तोक्नका लागि हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न भनेर मतविभाजन गराएपछि दुईतिहाई सदस्य हुन्छ भन्ने पक्षमा देखिएपछि केन्द्र बि गाउँमा टुंगो लागेको थियो ।
चौथो गाउँसभाले वडा नं. ४ मा फुटबल मैदान र क गाउँमा इलाका प्रशासन राख्ने गरी पारित गरेको छ । सभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले नयाँ तोकिएको केन्द्रमा भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याउन राखेको प्रस्ताव पनि सभाले पारित ग¥यो । प्रमुख कक्षपतिले खजुरा गाउँपालिकामा आवश्यकताको आधारमा योजनाहरु छनौट भई लागू हुने गरेको बताए । सभामा वडा सदस्यहरु डिल्लीप्रसाद आचार्य, इस्मत अलि साई, समसुल्ला पठानीले पनि आफ्नो राय राखेका थिए भने निशार अलि खाँले कार्यदलको प्रतिवेदन पढेर सुनाएका थिए ।