नेपाल हाइयर एजुकेशन फेयरको पाँचौं संस्करण नेपालगन्जमा

‘मुलुकभित्रै स्तरिय उच्च शिक्षा’

 

शैक्षिक क्षेत्रका अगुवाहरुले अभिभावक र विद्यार्थीहरुको विदेशमा शिक्षा आर्जनको मोह बढ्दै गएकोमा चिन्ता गरेका छन् । उनीहरुले मुलुकमैं स्तरिय उच्च शिक्षाको उचित प्रवन्ध भइरहँदा पनि विदेशमा शिक्षाको बढ्दो मोहले देशलाई संकट तर्फ धकेलिरहेको भन्दै चिन्ता गरेका हुन् ।

 
‘बाहिर (विदेश) गएका विद्यार्थीहरु फर्किएर आउन गा¥हो मानिरहेका छन्,’ ब्राइटल्याण्ड कलेजका प्राचार्य डा. राजेश केशर खनालले नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा पत्रकारसँग भने, ‘यहीं पढ, यहीं (स्वदेश) काम गर भन्ने अवधारणाको विकास गरिनु जरुरी छ ।’

 
यसै साता नेपालगन्जमा आयोजना गर्न लागिएको नेपाल हाइयर एजुकेशन फेयर (शैक्षिक मेला)को पाँचौं संस्करणको सन्दर्भमा भएको पत्रकारसँगको भेटघाट कार्यक्रममा डा. खनालले ‘एउटा सिंगो पुस्ता लागेर मात्र देश बन्ने भएकाले नेपालमै सम्भावना खोज्न’ आग्रह गरे । ‘अथाह सम्भावना छ,’ डा. खनालले भने ।
नेपालकै ठूलो शैक्षिक मेलाका रुपमा स्थापित रहँदै आएको ‘नेपाल हाइयर एजुकेशन फेयर’ पहिलो पटक नेपालगन्जमा यसैसाता शुक्रवार र शनिवार आयोजना हुन लागेको हो । ‘

 

पहिलो पटक देशका सात वटै प्रदेशमा एजुकेशन फेयर गरिंदैछ,’ ‘लर्न लोकल्ली फिट ग्लोबल्ली’ भन्ने उद्देश्यसहित आयोजना भइरहेको शैक्षिक मेलाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आइतवार नेपाल हाइयर एजुकेशन फेयर प्रदेश ५ का को–अर्डिनेटर भरत बिष्टले भने, ‘यो प्रदेशको शैक्षिक हबका रुपमा नेपालगन्जलाई चिनाउन पनि नेपाल हाइयर एजुकेशन फेयर यहाँ आवश्यक ठानियो ।’ प्रदेश ५ मा मात्र दुई ठाउँ रोजिएको शैक्षिक प्रदर्शनी देशका अन्य प्रदेश राजधानीहरुमा गरिंदैछ ।

 
पत्रकारहरु माझ अल्पाइन म्यानेजमेन्ट कलेजका प्राचार्य केशव पथिकले स्तरिय उच्च शिक्षाका लागि विदेश जानु आवश्यक नभएको बताए । ‘स्तरिय शिक्षाका लागि नेपालमैं राम्रो विकास भइरहेको छ,’ पथिकले पत्रकार सँग भने, ‘नेपालगन्जमैं पनि हामीहरु विद्यार्थीहरुको सुरक्षित र सुनिश्चत भविष्यका लागि सम्भावना तयार गरेका छौं ।’ उनले आफ्नै कलेजको पछिल्लो अवस्थाबारे सन्तोष व्यक्त गर्दै २५ प्रतिशत बढी मुस्लिम र मधेसी समुदायका विद्यार्थीहरु जोडिएको प्रसंग सुनाए । ‘६ वर्षअघि शुन्यप्रायः रहेको स्थानीय विद्यार्थीहरुको संख्या बढ्दै गएको छ,’ पथिकले भने ।

 
कन्सल्टेन्सीहरुको लहलहैमा लागेर भारत लगायत तेस्रो मुलुकमा विद्यार्थीहरु जाने क्रम नरोकिएको प्रति चिन्ता गर्दै ‘नेपाल हाइयर एजुकेशन फेयर’का प्रदेश को–अर्डिनेटर विष्टले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा नेपालमै प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको बताए । ‘यो एउटा राम्रो अवसर हो,’ अल्पाइनका प्राचार्य पथिकले भने ।

 
आयोजकका अनुसार, शैक्षिक मेलामा देशभरका २५ वटा उत्कृष्ट शिक्षण संस्थाहरुको सहभागिता रहनेछ । उच्च शिक्षाका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमंै उच्च शिक्षा उपलब्ध गराउने उच्च गुणस्तरिय शिक्षण संस्था छन् भन्ने जानकारी विद्यार्थीहरुलाई गराउन खोजिएकोले ती शैक्षिक संस्थाहरुले उक्त अवसरको प्रस्तुति गर्नेछन् ।

 
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, अघिल्लो बर्षको तथ्यांक अनुसार उच्च शिक्षा हासिल गर्न २३ प्रतिशत नेपालीहरु भारत जाने गरेका छन् भने ११ प्रतिशत अस्ट्रेलिया र अमेरिका पुग्ने गरेका छन् । त्यस्तै अन्य मुलुकमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या १५ प्रतिशत छ । उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुबाट अरबौं रुपैयाँ विदेशिने गरेको छ ।

 
। भिजन मिडिया इनकर्पोरेट र एजुकेशन डट कमको मुख्य आयोजनामा भइरहेको शैक्षिक मेलामा ब्राइटल्याण्ड कलेज र अल्पाइन म्यानेजमेन्ट कलेजले स्थानीय रुपमा साझेदारी गरेको बताइएको छ । शिक्षा मन्त्रालयसँगको समन्वयमा प्रत्येक बर्ष आयोजना गरिँदै आएको यो शैक्षिक मेलाबाट बीबीए, एमबीए, बीआइटी, बीआइएम, बीएचएम, एटीटीएम, बीबीएम, बीएचटीएम, बीएएसडब्लु , बीसीए, बीबीएस, बीएससी, सीएसआइटी, बीडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थीहरु लाभान्वित हुने जनाइएको छ । ‘यो बर्षको शैक्षिक मेला व्यवस्थापन, आइटी र ह्युम्यानिटिज्मा बढी फोकस छ,’ को–अर्डिनेटर विष्टले पत्रकारसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया