नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त बनाइने भएको छ । त्यसका लागि संघले आइतबार प्रशासन तथा सुरक्षा अधिकारीहरुसँग छलफल गरेको हो । छलफलमा सहभागी प्रहरी प्रशासनका अधिकारीहरुले प्रादेशिक महोत्सवका लागि सुरक्षा व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाएका छन् । ‘आवश्यकता अनुसार महोत्सवमा सुरक्षाकर्मी खटाउने छौं’, छलफलमा सहभागी सुरक्षा अधिकारीहरुले भने ।
महोत्सवमा चार किसिमको सुरक्षा व्यवस्था रहने संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक अब्दुल वाहिद मन्सुरीले जानकारी दिएका छन् । ‘महोत्सव सुरक्षाका लागि प्रशासन तथा सुरक्षा अधिकारीहरुले प्रतिबद्धता दिनुभएको छ’, उनले भने, ‘महोत्सवमा सशस्त्र, प्रहरी, अनुसन्धानका सुरक्षाकर्मीसँगै संघले व्यवस्था गर्ने निजी सुरक्षाकर्मीहरु परिचालित हुनुहुनेछ ।’ मेलालाई मर्यादित र शान्त बनाउन उच्छृखंल गतिबिधि र निषेधित कार्यलाई आयोजकले पूर्णरुपमा बन्देज गर्ने वरिष्ठ उपाध्यक्ष मन्सुरीले बताए । ‘महोत्सवमा निरन्तर सुरक्षा निगरानीका लागि सिसिटिभी र क्यामेरा जडान समेत गरिनेछ’, उनले भने ।
संघमा प्रहरी प्रशासनका अधिकारीहरुले महोत्सवलाई मर्यादित रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए । ‘कानुन विपरित हुने कुनै पनि किसिमका गतिविधि महोत्सवमा गर्न पाउनु हुनेछैन’, बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले भने । उनीहरुले महोत्सवमा कुनै पनि किसिमको जुवा तथा मौतका कुँवा जस्ता दुर्घटना निम्त्याउनसक्ने खालका गतिविधिलाई स्थान नदिन सजग समेत गराएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महोत्सवमा आइपर्ने सुरक्षा चुनौती आन्तरिकरुपमा मात्र सामना गर्न नसकिने भएकाले प्रहरी, प्रशासनबाट सहयोगको आवश्यक रहेको बताए ।
महोत्सव प्रचार प्रसार समितिका संयोजक टंक प्रसाद धामीले सञ्चालन गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बाँके प्रहरी प्र्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल, खजुरास्थित दंगा प्रहरी गणका प्रमुख एसपी बीरबहादुर ओली, सशस्त्र प्रहरी गण महेन्द्रनगरका प्रमुख एसपी भेषबहादुर शाह, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो ।
आयोजक मूल समितिका संयोजक समेत रहेका संघका अध्यक्ष नन्दलाल वैश्यले महोत्सवमा आउने दर्शक र स्टलहरुको सुरक्षालाई विशेष ध्यान दिइने बताएका छन् । महोत्सव फागुन १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना हुनेछ ।