बागेश्वरीका लागि चार करोडको गुरुयोजना

प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि चार करोड बढी लागत अनुमान सहित गुरुयोजना तयार गरिएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले बृहत गुरुयोजना तयार गरेको हो ।
समितिका अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले बृहत विकासका लागि गुरुयोजना तयार गरी स्रोतको खोजीमा लागेको जानकारी दिए । ‘स्रोत भेटिए अनुसारका काम अगाडि बढाइसकिएको छ’, पछिल्ला दिनमा आयस्रोत हुने गरी विभिन्न विकासका काम भैरहेको जानकारी दिंदै नगर प्रमुख समेत रहेका गुठीका अध्यक्ष डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘बागेश्वरी मन्दिर क्षेत्रलाई देशकै आकर्षक धार्मिक गन्तव्य क्षेत्रका रुपमा विकास गर्ने योजना छ ।’

 
गुठीका उपाध्यक्ष विजय कुमार गुप्ताले समिति गठनपछि उदाहरणीय ढंगबाट काम भैरहेको बताए । ‘सत्सङ भवन बनाउनेदेखि मन्दिर परिसरका झोपडपट्टी हटाउने काम पूरा भएको छ’, ३० लाख बढीको लागतमा चिल्डे«न पार्क निर्माण भैरहेको जानकारी दिंदै उपाध्यक्ष गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘अव्यवस्थित पसलेहरुलाई व्यवस्थित मात्रै गरिएको छैन, सटर निर्माण गरी आयस्रोतको व्यवस्था पनि गरिएको छ ।’ उपाध्यक्ष गुप्ताका अनुसार, प्रतिसटर ४ हजार रुपैयाँ मासिक भाडा लिनेगरी २० वटा सटर बागेश्वरीको पूर्व गेट छेउ निर्माण गरि सञ्चालनमा ल्याइ सकिएको छ । ‘मन्दिरको सौन्दर्य विगार्ने गरी राखिएका झोपडपट्टी हटाएर सटरमा राख्दा व्यापारीहरुलाई सुरक्षित स्थानको सुनिश्चितता भएको छ’, उपाध्यक्ष गुप्ताले भने ।

 
मन्दिर परिसरमा ठूलो समस्या बनिरहेका मगन्ताहरुको व्यवस्थापनमा पनि गुठीले अग्रसरता देखाएको छ । निल सागर ज्येष्ठ तथा असहाय सेवा केन्द्रका संरक्षक समेत रहेका गुप्ताले मन्दिर परिसरमा रहँदै बस्दै आएको वेवारिसे मगन्ताहरुलाई व्यवस्थित गरिएको जानकारी दिए । उनीहरु मध्ये ३० जनालाई निल सागरमा पुनः स्थापित गरिएकोमा अधिकांस परिवारसँग आश्रित रहेकाले पुनस्र्थापित गरिएको उपाध्यक्ष गुप्ताले बताए । ‘बागेश्वरीमा नबस्ने गरी गृह पुनस्र्थापन गरिएको छ’, उपाध्यक्ष गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘यद्यपि मगन्ताहरुको समस्या अझै पूर्णतया समाधान भएको छैन ।’

 
बागेश्वरी मन्दिर परिसरमा रहेका जुंगे महादेवको मूर्तिमा जलधारा (फोब्बारा) लगाइने भएको छ । मन्दिर सुधारका लागि रंगरोगन, शौचालय निर्माण, सडक बिस्तार लगायतका योजना पनि अघि सारिएको छ । ‘झण्डै २० बर्षदेखि रंगरोगन नलगाइएको बागेश्वरी मन्दिरलाई तरोताजा बनाउँदैछौं’, उपाध्यक्ष गुप्ताले भने ।

 
बागेश्वरी मन्दिर परिसरमा विभिन्न सौन्र्दयीकरणका लागि परमेश्वर लाल चाचानले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि विभिन्न संरचनाहरु निर्माण गर्न लागिएको हो । त्रिशक्ति सिमेन्टका उत्पादक बागेश्वरी सिमेन्ट कम्पनीका प्रमुख चाचानले प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सौन्र्दयीकरणका लागि ३० लाख रुपैया आर्थिक सहयोग गरेको गुठीका अध्यक्ष समेत रहेका डा. राणाले जानकारी दिए । ‘गुरुयोजना कार्यान्वयनका लागि स्रोतको खोजीमा लागिरहँदा चाचानबाट उक्त सहयोग प्रदान भयो’, डा. राणाले भने ।

 
गुठीले बागेश्वरी तालमा बोटिङ्ग विहारका लागि मासिक ४१ हजार रुपैयाँमा पाइडल बोट सञ्चालनको ठेक्का पनि लगाएको छ । ‘छिट्टै पश्चिम गेट तिरको बाटो चौडा बनाएर नयाँ निर्माण काम पनि गरिनेछ’, उपाध्यक्ष गुप्ताले विकास निर्माणका लागि मन्दिरहरु बाधक नहुने नमूना बागेश्वरी गुठीले प्रस्तुत गर्न लागेको जानकारी दिंदै भने । उनका अनुसार, घरबारीटोल सडक चौडा गर्ने क्रममा बागेश्वरीले छोड्नु पर्ने सडक क्षेत्रफल छोड्न लागिएको छ ।
बागेश्वरी मन्दिरसँगै प्रदेश सरकारले पर्यटन विकासका लागि दिएको डेढ करोड रकमबाट पुरैनी स्थित कान्जी तालमा बोटानिकल गार्डेन बनाउन लागिएको छ । नगर प्रमुख डा. राणाका अनुसार, रानी तलाउ सुधारका लागि पनि १५ लाख रुपैयाँ बजेट थप प्राप्त भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया