वन्यजन्तु तस्कर पछ्याउदै प्रहरी, दुई नियन्त्रणमा

प्रदेश ५ प्रहरी अनुसन्धान ब्यूरोले बुधबार नेपालगन्जमा दुई जनालाई चितुवाको छाला सहित पक्राउ गरेको छ । चोरी शिकारी विरुद्ध सक्रिय प्रदेश प्रहरी अनुसन्धान ब्यूरोले लगातार वन्यजन्तुका अंगहरु सहित तस्करहरुलाई नियन्त्रणमा लिन सफल भैरहेको छ ।

 
ब्यूरोले गत माघ ८ गते सुर्खेतको वीरेन्द्रनगरबाट ध्वाँसे चितुवा र चितुवाको छाला सहित कालिकोटका टंक प्रसाद उपाध्यायलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि पुस २३ गते बाँकेको कोहलपुरबाट दुई जनालाई ब्यूरोले बाघको छाला सहित पक्राउ गरेको थियो । कोहलपुरबाट प्रहरीले पाटेबाघको छाला १ थान, त्यसको हड्डी ५६ थान सहित दैलेख गुराँश गाउँपालिकाका कमल बहादुर खत्री र कञ्चनपुर पुनर्वास ४ का हरि ढकाल नियन्त्रणमा लिएको थियो ।

 
बुधबार प्रदेश ५ प्रहरी अनुसन्धान ब्यूरोले नेपालगन्ज बसपार्कबाट दुई जनालाई चितुवाको छाला सहित पक्राउ गरेको प्रहरी निरिक्षक बोधराज रेग्मीले जानकारी दिए । प्रहरीले करिब २ मिटर लम्बाई रहेको छाला सहित रोल्पा लिवाङ नगरपालिका वडा नं १ बस्ने बर्ष ४४ का चन्द्र बहादुर घर्ती र रोल्पा जिल्ला सुनिल स्मृति गाँउपालिका वडा नं २ मिझाङका ४० बर्षिय आईते बिष्ट पक्राउ गरेको हो । ‘नियन्त्रणमा लिइएका व्यक्ति र छाला थप कारवाहीका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ’, उनले भने, ‘थप अनुसन्धान र कारवाही वनले नै गर्नेछ ।’ पक्राउ परेका व्यक्तिहरुले प्रहरी सामु तस्करीका लागि छाला लिएर हिडेको स्वीकार गरेका छन् । उनीहरुले घरपालुवा पशु खान आउने चितुवालाई पासोमा थापेर मारेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

 
ब्यूरो लामो सयमदेखि वन्यजन्तु चोरी शिकारमा संलग्नहरुबारे अनुसन्धान गर्ने, ट्रयापमा पारेर पक्राउ गर्ने कार्यमा सक्रिय छ । ‘वन्यजन्तुको चोरी शिकारी गर्नेहरु हाम्रो खोजीमा छन्’, ब्यूरोका प्रहरी निरीक्षक रेग्मीले ।
नेपालमा वन्यजन्तु मारेर विदेशमा महंगो बेच्नेहरु सक्रिय छन् । पछिल्लो समय पक्राउ परेका घटनाहरुबाट तस्करीका लागि वन्यजन्तु मार्ने कार्य बढ्दै गएको पुष्टि हुन्छ । चोरी शिकारीहरु गर्नेहरुले भारत तथा चीनसम्म वन्यजन्तुका अंगहरु महंगोमा बेच्न पुर्याउने गरेको पाइन्छ । भारत पुर्याइएका वन्यजन्तुका अंग तेस्रो मुलुकहरुमा पनि पुग्ने गरेको यसअघि घटनाहरुले पुष्टि गरेको छ । प्रहरीले तस्करी गर्ने व्यक्तिहरुलाई पक्राउ गर्ने र त्यसको गिरोह खोतल्ने काम गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकारीहरु वन्यजन्तुको तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय हुने गरेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया