सरकारका प्रवक्ता गोकुल बास्कोटाले संघीयता कार्यान्वयनको प्रक्रियासँगै मुलुक समृद्धिको दिशामा अग्रसर भएको बताएका हुन्
नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समृद्ध मुलुक निर्माणको दिशामा सरकार अगाडि बढिरहेको बताएका छन् । मंगलबार नेपालगन्जका सञ्चारकर्मीहरुसँगको भेटघाटमा सरकारका प्रवक्ता बास्कोटाले संघीयता कार्यान्वयनको प्रक्रियासँगै मुलुक समृद्धिको दिशामा अग्रसर भएको बताए ।
सरकारको एक बर्षे उपलब्धीबारे खुलेर पत्रकारहरुमाझ प्रस्तुत भएका प्रवक्ता बास्कोटाले प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘संघीयता चिनाउने र बनाउने घोषणा कार्यान्वयनमा सरकार शतप्रतिशत सफल भएको छ ।’ निराशा फैलाउने बेला नआएको भन्दै सञ्चारकर्मीहरुलाई जनउत्तरदायी पत्रकारिता गर्न आव्हान गरेका सञ्चारमन्त्री बास्कोटाले सरकारले लोकतन्त्रको राजमार्ग बनाउने दिशामा तिव्र गतिले अगाडि बढिरहेकाले परिवर्तनलाई राज्यका सबै निकायमा आत्मसात गराउने काममा पनि सरकार सफल रहेको बताए । ‘धुलो उड्नुको अर्थ सडक बन्दैछ भन्ने हो’, सञ्चारमन्त्री बास्कोटाले कुनै पनि देश एकाएक परिवर्तन नभएको दृष्टान्त अघि सार्दै भने, ‘समृद्ध मुलुकको सपनालाई कार्यरुपमा बदल्ने संकल्प अनुसार सरकार अगाडि बढिरहेको छ ।’
विभिन्न क्षेत्रका उपलब्धीहरु गनाउँदै निर्धक्कसँग पत्रकारमाझ प्रस्तुत भएका केन्द्र सरकारका प्रवक्ता बास्कोटाले समृद्ध मुलुक निर्माणको जारी प्रक्रियामा थिति र विधि बसाल्दै गतिशिलता ल्याउने काम गरिरहेको औंल्याए । जनता आवासदेखि समृद्ध तराई मधेशका योजना हुन् वा सुकुम्बासी समस्यादेखि भूमिहीनका कुरा हुन् दर्जनौं सकारात्मक योजनाहरु अघि सार्दै प्रवक्ता बास्कोटाले भने, ‘योजनाबद्ध समृद्ध नेपालको मजबुत बसाल्ने काम भैरहेको छ ।’ त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकार पनि बिस्तारै गतिमा अगाडि बढिरहेको मन्त्री बासकोटाको भनाइ थियो । ‘कानुनहरुको निर्माण पछि तीन वटै सरकार आर्थिक समृद्धिसँगै सामाजिक सुरक्षाको सुनिश्चितता गर्दै मुलुकलाई शान्ति र स्थायित्व दिनेतर्फ सरकार डटेर लागिरहेको छ’, संघीय सरकारका प्रवक्ता बास्कोटाले भने ।
लामो लडाई पछि मुलुक संघीय व्यवस्थामा जाने निर्णय गरेपछि त्यसको व्यवहारिक कार्यान्वयनका बेला नेकपा नेतृत्वको सरकार बनेको भन्दै बास्कोटाले तीन वटै तहको निर्वाचन र त्यसपछि संघीयताको व्यवहारिक कार्यान्वयनको प्रक्रिया समाप्त भएको बताए । ‘अब देश समृद्धि प्राप्तिको लक्ष्यमा अगाडि बढिरहेको छ’, मन्त्री बास्कोटाले नदी प्रणालीद्वारा हिन्द महासागरमा जोडिने कुरा, रेल्वे लाइन बिस्तारका सन्धी, सम्झौता, चीनसँगको पारवहन प्रोटोकलदेखि विभिन्न वैदेशिक शक्तिहरुसँगको सन्तुलित सम्बन्ध विकासका उदाहरणहरु प्रस्तुत गर्दै भने, ‘वैदेशिक लगानी परिचालनका लागि कानुनी बाटो पहिल्याइँदैछ ।’ सरकार लगानी सम्मेलनको तयारीमा रहेको जानकारी दिंदै प्रवक्ता बास्कोटाले बृहत सामाजिक सुरक्षा योजनामा ६ सय बढी रोजगारदाता जोडिइसकेको, रोजगारीका लागि नयाँ योजना तयार भैरहेको, मौलिक हक सम्बन्धी ३४ वटा कानुन सुधार गरी जनतालाई आर्थिक समृद्धिसँगै सामाजिक सुरक्षाको सुनिश्चितता गर्न खोजिएको लगायतका विभिन्न योजनाहरु प्रस्तुत गरेका थिए ।
सुर्खेतमा आयोजना हुने सामुदायिक रेडियो प्रसारक संघको साधारणसभा उद्घाटनका लागि जान लागेका सञ्चारमन्त्री बास्कोटाले सञ्चारका क्षेत्रमा पछि गरिएका दर्जन बढी योजना नेपालगन्जका पत्रकारमाझ प्रस्तुत गरे ।
अग्रज पत्रकारहरुका लागि स्थापना गरिएको कोष वृद्धि गरी ५ करोड पुर्याउन लागिएको, बर्षौदेखि अघि सारिएको समानुपातिक विज्ञापन नीति कार्यान्वयनको चरणमा पुगेको, क्लीन फिड मार्फतबाट १२ अर्बको विज्ञापन बजार २२ अर्ब पुर्याउन लागिएको जानकारी गराएका सञ्चारमन्त्री बास्कोटाले भने, ‘लोक कल्याणकारी विज्ञापन कार्यान्वयन नियमनमा कडाई हुन्छ ।’ उनले प्रेस माथिको संकुचनमा सरकार कुनै हालतमा पक्षपाती नरहेको दृढता व्यक्त गर्दै भने, ‘सरकारप्रति खुलेर खनिनुस् तर नागरिकप्रति सञ्चारमाध्यम जिम्मेवार बन्नैपर्छ ।’ कानुन भन्दा माथि जान पत्रकारलाई छुट नरहेको भन्दै मन्त्री बास्कोटाले सेल्फ सेन्सरसीपको पक्षमा पनि सरकार नरहेको बताए । पत्रकार सम्मेलनको अध्यक्षता प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकले गरेका थिए भने सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।
‘दिल्ली उडान छिट्टै’
नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपालगन्जबाट दिल्ली उडानका लागि ढुक्क रहन आश्वस्त पारेका छन् । नेपालगन्जमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै सञ्चारमन्त्री समेत रहेका प्रवक्ता बास्कोटाले ‘प्रक्रियागत ढिलाई भएपनि ढिलो चाँडो नेपालगन्ज बिमानस्थलले अन्तर्राष्ट्रिय उडानको अनुमति पाउनेमा ढुक्क रहन’ आश्वस्त पारेका हुन् ।
‘अन्तर्राष्ट्रिय उडानका ३,४ वटा इन्ट्री प्वाइन्टमा नेपालगन्ज पनि छ,’ मन्त्री बास्कोटाले पत्रकारहरुसँग भने, ‘विकासका सपनाहरु एकैदिनमा पूरा हुने कुरा होइनन् ।’ नेपालगन्जको विकासमा अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण हुने तर्क राख्दै मन्त्री बास्कोटाले भने, ‘नेपालगन्जको विकास क्रमलाई कसैले रोकेर रोक्ने अवस्था छैन ।’ मन्त्री बास्कोटाले नेपालगन्जका केही सरकारी कार्यालय अन्यत्र सर्दैमा नेपालगन्ज पछि नपर्ने भन्दै स्थानीय र प्रदेश सरकारले पनि गतिशील भइरहँदा विकासको बाटो विस्तारै फराकिलो हुँदै जाने पनि बताए ।