नेपालगन्जमा मूल्य सूचि नराख्ने व्यवसायीलाई ५० हजार जरिवाना

उपभोक्ता हितमा वेवास्ता गर्ने व्यवसायीलाई चेतावनी दिने र सुधारका लागि समय दिने गरेको संयुक्त बजार अनुगमन समितिले ‘अन द स्पट’ कारवाही सुरु गरेको छ । निरन्तर मापदण्ड पूरा गर्नका लागि समय दिने गरेको समितिले सुधार नदेखिने र पुनः लापरवाही गर्ने पाएपछि कारवाही सुरु गरेको हो ।

 
यसअघि मापदण्ड विपरित सञ्चालित पानी उद्योगमा ताला लगाएको समितिले मंगलबार एउटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानाको पत्र काटिदिएको छ । ‘मापदण्ड पूरा नगर्नेलाई अब कानुनी कारवाही सुरु गरेका हौं’, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले भने । मूल्य सूचि नै नराख्ने र लेखेको मूल्य सूचि समेत अस्पष्ट हुने गरेको गुनासोमा अनुगमन गर्दा नेपालगन्ज– १ को गर्ग एग्रिफुड प्रोडक्टमा त्रुटि भेटेपछि संयुक्त बजार अनुगमन समितिले कारवाही गरेको वाणिज्यका प्रमुख पौडेलले जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ५० हजार जरिवाना गरिएको जानकारी दिए ।

 
वाणिज्य कार्यालयका प्रमुख पौडेलले अब कानुन विपरित गर्ने जोकोहीलाई पनि कारवाहीको दायरा ल्याउने बताएका छन् । ‘बजार अनुगमनलाई तिव्रता दिएका छौं’, प्रमुख पौडेलले भने, ‘दोषी कारवाहीको दायरामा आउनेछन् ।’ बाँकेमा सञ्चालित पानी उद्योगले लापरवाही गरेको गुनासो आएपछि समितिले ३ वटा उद्योगलाई यसअघि नै शिल गरेको थियो । वाणिज्य कार्यालयका प्रमुख पौडेलले मंगलबार पानी उद्योग अनुगमनका लागि छुट्टै टोली खटिएको जानकारी समेत दिएका छन् ।

 
संयुक्त बजार अनुगमन समितिमा जिल्ला प्रशासनबाट सहायक सुरेश सुनार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योत्सोना श्रेष्ठ, विनोद कुमार श्रीवास्तव, खाद्यका नेत्र बोगटी, जिल्ला प्रशासनका नासु महेश्वर पौडेल, प्रहरी हवल्दार दीर्घराल बस्नेत खटिएका थिए । मंगलबार कार्यालय समय सकिएपछि खटिएको टोलीले गर्गमा कारवाही गरेको हो ।

 
उपभोक्ता हित संरक्षणका लागि अनुगमनको औपचारिक मात्रै पूरा गरेर नहुने बताउँँदै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले भने, ‘उपभोक्ताको हितमा समिति गम्भीर भएर अनुगमनमा लाग्नुपर्छ ।’ उनले उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनले मूल्य सूचि अनिवार्य गरेकाले लापरवाही गर्नेलाई कानूनी दायरमा ल्याउनु पर्ने धारणा राखे ।
‘उपभोक्ता सचेतना जरुरी’
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले खाद्य स्वच्छतामा प्रत्येक उपभोक्ता सचेत हुनु पर्नेमा जोड दिएकी छन् । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आम उपभोक्ताको खाद्य स्वच्छता सम्बन्धी जनचेता जगाउने उद्देश्यले धम्बोजी माबिमा आयोजना गरेको उपभोक्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले नगरपालिकाले पनि खाद्य स्वच्छता कायम राख्न बजार अनुगमनको कार्यलाई निरन्तरता दिने बताइन् ।

 
नगरपालिकाले बिभिन्न बिषयगत कार्यालयसंग समन्वय गरेर बजार अनुगमनको कार्ययोजना बनाएको उल्लेख गर्दै उपप्रमुख थापा मगरले खाद्य स्वच्छता कायम राख्नका लागि आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिइन् ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले उपभोक्ता अधिकार र उपभोगको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै मौलिक हकको रुपमा गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार भए पनि उपभोगमा समस्या रहेको बताए । उपभोक्ताका सुरक्षाको, सुचित हुने, छनौटको, सुनुवाइको, उपभोक्ता शिक्षाको, क्षतिपूर्तिको, आधारभूत आवश्यकतामा पहुँचको, स्वच्छ तथा स्वस्थ वातावरणको र आफ्नो हक अधिकारसंग सम्बन्धित बिषयको कानून र नीति निमार्णमा प्रतिनिधित्वको अधिकार रहे पनि यी अधिकारको आम उपभोक्ताले उपभोग गर्न नपाएको गौतमले बताए ।

 
कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कायालय नेपालगन्जकी प्रमुख जोत्सना श्रेष्ठ र खाद्य स्वच्छताका बिभिन्न पक्षका बारेमा जानकारी गराइएकी थिइन् । उत्पादन देखि उपभोग सम्मका प्रत्येक खाद्य श्रृखलामा खाद्य सुरक्षा हुनु पर्ने भन्दै प्रमुख श्रेष्ठले बस्तु उपभोगमा उपभोक्ता सचेत हुनु पर्नेमा जोड दिइन् ।

 
कार्यक्रममा वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेलले उपभोक्ता संरक्षण ऐनमा रहेका प्रावधानका बारेमा प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघका पूर्व सभापति रुद्र सुवेदीले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गर्दै बजारको प्रभावकारी अनुगमनमा जोड दिए । सुचना दिएर नभै बजारको आकस्मिक अनुगमन गर्नु पर्ने, प्रक्रियागत झन्झट हटाई अनियमित गर्ने उपर कानूनी कारवाही गर्नु पर्नेमा सुवेदीले जोड दिए ।

 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक एकराज बुढाथोकीले संचालन गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष, प्रमोद रिजाल, धम्बोजी माबिका प्राधानाध्यपक बामदेव सुवेदी, बिद्यालयका शिक्षक, विद्यार्थी र उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

विद्यालय स्तरीय चित्रकला
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा विद्यालय स्तरीय ‘खाद्य उपलब्धता, सर्बसुलभता पौष्टिकता र सुरक्षा’ बिषयक चित्रकला प्रतियोगिता आयोजना गरेको छ । बिद्यार्थीमा खाद्य स्वच्छता बारे जनचेतना फैलाउने उद्देश्यका साथ धम्बोझी माध्यमिक विद्यालयमा सम्पन्न भएको चित्रकलामा बाँकेका २५ विद्यालयका ४० छात्र छात्राको सहभागिता रहेको थियो ।

 
चित्रकलामा भेरी ई.मि.हाई स्कुल धम्बोझी अस्मिता थापामगर प्रथम, .धम्बोझी मा.वि. नेपालगन्ज कल्पना बि.एम. द्वितीय र जयबागेश्वरी मा.वि. नेपालगन्जकी आयशा कार्की तृतीय र गुराँश चाइल्डहुड एकेडमी खजुराकी भावना तामाङले चतुर्थ स्थान हासिल गरेकी थिइन् ।

 
बिजेता बिद्यार्थीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमाथापा मगरले प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले उपभोक्ता चेतना र खाद्य स्वच्छताको प्रवद्र्धनमा मद्दत पुग्ने बताइन् । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले विजेता विद्यार्थीलाई शुभकामना दिंदै उपभोक्ता अधिकारका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया