महानगरगाथा

खजुरा गाउँ पालिकाले हरेक बर्ष आयोजना गर्नेगरी आरम्भ गर्न लागेको मेयर रनिङ शील्ड अन्तर विद्यालय खेलकुद जनसेवा मावि गिजराको नवनिर्मित मैदानमा प्रदेश स्थापना दिवस (फागुन ३)का दिन सुरु हुँदैछ । प्रस्तावित महानगरको पक्षधर खजुराको सम्बन्ध कृषिका साथै शिक्षा, स्वास्थ्य र खेलकुदसँग पनि प्रगाढ छ । खजुरा पालिका प्रमुख किस्मतकुमार कक्षपतिले शिक्षा, स्वास्थ्य र खेलकुद एकअर्काको परिपुरक रहेको वाचन गर्दा मलाई लाग्यो –‘खजुरा केही गर्दैछ, समृद्धिको बाटोमा पाइला चाल्दैछ ।’ साँच्चिकै शिक्षा, स्वास्थ्य र खेलकुदको अन्तरसम्बन्ध बुझ्न सक्नेले नै समृद्धिको बाटो पहिल्याउन सक्ने हो । तसर्थ नेपालगन्जको समृद्धिको सपनासँग खजुरा जोडिदैछ ।

 
अनि भन्न सकिन्छ, वास्तवमा खजुराको नेपालगन्ज कनेक्सन पनि त गज्जबकै छ । गिजरा क्षेत्र एक समय पश्चिम नेपालमै कहलिएका टण्डन परिवारको भोगचलनमा थियो, सायद अहिले पनि स्वामित्वमा छ । सयौं बिगाहा जमिनमा उखु खेती थियो, सयौंलाई रोजगारी दिने चिनी मिल थियो । देशमा चलेको दश बर्षे सशस्त्र द्धन्द्धले त्यस भेगका पछिल्लो पुस्तालाई आफ्नै आँखा अगाडि चिनी उत्पादन भएको र धेरैले रोजगारी पाएको हेर्ने सपना उजाड गरिदियो । यो सब एकादेशको कथा भइदियो ।

 


सोमवार जनसेवा मावि पुग्दा उखु खेती र चिनी मिलको कथा साँच्चिकै अपत्यारिलो झैं लाग्थ्यो । अब त अवशेष पनि रहेन । सायद त्यस्तै केही कारण यता नेपालगन्जमा सञ्चालनमा रहेका टण्डन परिवारको पुस्तैनी उद्योग प्राय सबै क्रमशः बन्द भए ।

 
प्रथम मेयर रनिङ शील्डको ब्यानरमा मिसन आठौं राष्ट्रिय खेलकुद २०७५ देख्दा मैले रतन टण्डन सम्झिए । किनकी रतन टण्डन र राष्ट्रिय खेलकुदबीच अन्तरसम्बन्ध छ । चौथो राष्ट्रिय खेलकुद सफल आयोजनाको श्रेय उनै टण्डनलाई जान्छ । उनको एकल प्रयासमा लामो समय अवरुद्ध राष्ट्रिय खेलकुदले निरन्तरता पाएको थियो । वीरगञ्जमा २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद भएपछि चौथो संस्करण हुन देशले १३ बर्ष पर्खनुपरेको थियो । तत्कालीन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रतन टण्डन थिए । उनले सम्पुर्ण खेलाडी तथा अफिसियलको आवास तथा भोजनको व्यवस्थापन नीजि लगानीमा गर्ने प्रतिवद्धता जनाएपछि राखेप बोर्ड चौथो बृहत राष्ट्रिय खेलकुद नेपालगन्जलाई आयोजना गर्न दिन राजी भएको थियो । उनले त्यतिबेला करिब ४५ लाख व्यक्तिगत लगानी गरे । टण्डन राइस मिल परिसरमा ओलम्पिक भिलेजको झझल्को दिने गरी सामुहिक भोजनको व्यवस्था मिलाइएको थियो । राष्ट्रिय खेलकुदको इतिहासमा चौथो संस्करण सफल र ऐतिहासिक मानिन्छ । आवास तथा भोजनमा उत्कृष्ट व्यवस्थापनकै कारण चैत महिनाको मौसमलाई कसैले पर्वाह गरेनन्, नेपालगन्जले खेलमैत्री सहरको परिचय स्थापित गर्न सफल भयो ।

 
राखेपले विनियोजन गरेको बजेटले बृहत खेलकुद आयोजना गर्न जुटेको भए सम्पन्न हुने त परैको कुरा, खान र बस्न नपाएर खेलाडीबीच नै विवाद हुने सम्भावना थियो । रतन आफ्नो समयका ब्याडमिन्टनका राम्रा खेलाडी हुन् । उनी केही अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पनि खेले । ब्याडमिन्टनप्रति लगावकै कारण २०४१ सालमा आफनै खर्चमा महेन्द्र मेमोरियल अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा आयोजना गरेर देखाए । सिंगापुर, हङकङ, चीन, रसिया, भारत, श्रीलंका, इन्डोनेसिया, बंगलादेश, नेपाल लगायत दश देशले भाग लिएको प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो । उनले यसअघि पनि ब्याडमिन्टनलाई कसरी विकास गर्न सकिन्छ भनेर वि.सं २०३९ सालमा केजी (कृष्णगोपाल) टण्डन प्राइज मनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका थिए । कतैबाट आर्थिक सहयोग नलिई सुरु गरेको उक्त प्रतियोगिता ६ वर्षसम्म जारी रह्यो ।

 
केही वर्ष अघिसम्म निकै प्रख्यात रहेको भारोत्तोलन खेल पछिल्ला दिनमा ओझेलमा पर्दै गएको ठानेपछि आफनै खर्चमा नेपालगन्जमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता गराए, लगत्तै दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीप पनि गराए । यी दुवै नीजि लगानीमा गरिएका थिए । यसले उनलाई नेपाल भारोत्तोलन संघको नेतृत्व दिलायो । साथै दक्षिण एशियाली भारोत्तोलन महासंघमा उपाध्यक्षको जिम्मेवारीमा पुरायो । उनकै नेतृत्वमा गत बर्ष भारोत्तोलनको एशियाली च्याम्पियनसीप पनि भयो काठमाडौंमा । यसको भरथेग पनि उनले नै गरे । करिब करोड हाराहारी खर्च गरे । एशियन च्याम्पियनसीपको सफलतापछि नेपाली भारोत्तोलनलाई हेर्ने दृष्टिकोण बदलियो । अन्तर्राष्ट्रिय समुदायमा नेपालले बिश्वास आर्जन गर्न सफल भयो । यो सब देखेर खेलको उपलब्धि र सफलताभन्दा पनि व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्नेहरु अत्तालिएका छन् । उनीहरु औंला ठड्याउन खोजेपछि रतनको मन कुँडिएको छ । ‘मैले कतैबाट ल्याएर खर्च गरेको भए पारदर्शीतामा शंका गर्नु स्वभाविक हो, मैले त अपुग रकम आफैं हालेको छु ।’ उनी भन्छन्–‘त्यति ठुलो प्रतियोगिता आयोजना गर्दा खर्चको अनुपात सबैलाई थाहा हुनुपर्ने हो, आयस्रोत छर्लङ्घ छ ।’


उद्योगपति टण्डनले खेलकुदको विकासका लागि निजी खर्चमा आयोजना गरेका प्रतियोगिताको सूची दर्जनौ छन् ।
आफन्तले खेलकुदमा गरेको एकोहोरो लगानी र प्रतिफलका बारेमा जवाफ दिन उनलाई कठिन नै हुन्छ । त्यतिबेला उनको जवाफ हुन्छ– ‘शान्ति र सदभावको सेतु खेलकुद हो, खेलकुदमा मेरो रुची छ ।’ नेपालगन्जको परिवेशमा खेलकुद अपरिहार्य रहेको उनको बुझाइ छ ।

 
आर्थिक सम्पन्नताको कुरा गर्ने हो भने समाजमा उनीभन्दा धनी थुप्रै व्यक्ति छन् । धन र मन दुवै भएका व्यक्तिका रुपमा उनी दर्ज भएका छन् । ‘धन थुपारेर राखेको छैन ।’ उनी भन्छन्, ‘खेलकुदमा चासो भएको व्यक्ति नै अग्रसर हुनुपर्छ भन्ने भावना आउँछ, ।

 
नेपालगन्जको नारायण माविमा हाइस्कुल अध्ययन पुरा गरेका उनले भारतको नैनीतालस्थित विरला कलेजमा इन्टरमिडियट र लखनउमा स्नातक अध्ययन गरे । उनी त्यतिबेला अब्बल दर्जाका खेलाडीमा गनिन्थे । उनको कप्तानीमा विरला कलेज ब्याडमिन्टन प्रतियोगितामा उत्तराञ्चल प्रदेशमा उत्कृष्ट भएको उनी सुनाउँछन् ।
देशमा प्रजातन्त्र आउनु अघि निरन्तर दुई दशक राखेपमा थिए । केही समय राखेपबाट हटाइए । फेरि मनोनित भए । जुन व्यवस्था र सरकार रहेपनि उनले सधैँ विशुद्ध खेलकुदमा लगानी गरेको बताए । खेलकुदमा निरन्तर लागेका कारण उनी अहिले नेपाल ओलम्पिक कमिटीको कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

 
प्रसंगवश केही दिन अघि भेट हुँदा उद्योग, खेलकुद र समाजसेवाका त्रिवेणी रतन टण्डन केही मुस्कुराए । कारण उनी फेरि उद्योगमा फर्किएका रहेछन् । श्रीकृष्ण स्पाइस एण्ड फुड प्रोडक्ट नाम मसला उद्योगमार्फत उनी फेरि पुरानै लयमा फर्कने प्रयास गर्दैछन् । यो उद्योगको दैनिक उत्पादन क्षमता २० टन रहेको उनले जानकारी दिए । वेष्टर्न कत्था मिल परिसरमै सञ्चालनमा रहेको यो मसला उद्योगबाट उनी आशावादी छन् । जेठो छोरा राहुललाई यो उद्योगको बागडोर सम्हाल्न लगाएका छन् । उता कान्छो छोरा रोहितलाई सामाजिक कार्यमा सक्रिय बनाएका छन् । कतिपयले भन्ने गर्छन्–‘रतन दाइले दुई छोरालाई आफ्ना दुवै गुण स्थानान्तरण गरिदिएका छन् ।’ यतिबेला नेपालगन्ज आठौं राष्ट्रिय खेलकुदको पुर्व सन्ध्यामा छ । फेरि पनि नेपालगन्जलाई खेलमैत्री सहरको परिचयलाई स्थापित गर्ने चुनौति छ, र अवसर पनि । सायद रतन दाइ आठौं राष्ट्रिय खेलकुद भब्य र सभ्य ढंगबाट सफल भएको हेर्न चाहन्छन्, त्यो दिनको पर्खाइमा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया