नेपालगन्जमा बाइपास रोड बनाइँदै, वाटरपार्कमा पिकनिक स्पट

नेपालगन्ज कारकाँदो–खजुरारोड बाइपास रोड कालोपत्रे हुने भएको छ । संघीय आयोजना कार्यान्वयन इकाइले आ.व. ०७५/०७६ को दोस्रो योजना अन्तर्गत बाइपास रोडका लागि ठेक्का लगाइसकेको छ । सोमबार उक्त आयोजनाको सहरी विकास मन्त्री मो. इस्तियाक राईले शिलान्यास गरेका थिए ।

 
संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर सम्झना लामिछानेले चालु आ.व.को दोस्रो योजना अन्तर्गत बाइपास रोड, भेरी प्राविधिक शिक्षालयदेखि जनस्वास्थ्यसम्म जाने बाटो र वाटरपार्कमा चिल्ड्रेन पार्क तथा पिकनिक स्पट निर्माण गर्न लागिएको शिलान्यास कार्यक्रममा जानकारी दिएकी थिइन् ।

 
संघीय आयोजना कार्यान्वयन इकाइले २.३३ किलोमिटर बाइपास सडक कालोपत्रे तथा नाला निर्माणका लागि १२ करोड ७६ हजार ४ सय ३२ रुपैयाँमा ठेक्का स्वीकार भएको जानकारी दिएको छ । त्यस्तै वाटरपार्कमा चिल्डे«न पार्क तथा पिकनिक स्पट निर्माणका लागि १ करोड १९ लाख ६५ हजार ९ सय ८१ रुपैयाँमा ठेक्का दिइएको छ । ‘१५ महिना भित्र काम सक्ने गरी अमर डाइनामिक खड्का जेभीले ठेक्का स्वीकार गरेको हो’, इन्जिनियर लामिछानेले भनिन् ।

 
वडा नं. १८ का अध्यक्ष दिपक बर्माले लामो प्रयास पछि बाइपास बाटोका लागि बजेट उपलब्ध भएको स्मरण गरे । ‘महत्वपूर्ण रहेको कारकाँदो खजुरारोड बाइपास सडक स्तरोन्नतीका लागि वेवास्ता गरिंदै आएको थियो’, ढिलो भएपनि काम सुरु हुन लागेको खुशी व्यक्त गर्दै उनले भने । अध्यक्ष बर्माले सहरी विकास मन्त्री बाँकेबाटै भएकाले विकास निर्माणमा बढी अपेक्षा रहेको उल्लेख गरे ।

 
वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले पर्यटकीय स्थलको अभाव रहेको नेपालगन्जमा वाटरपार्कमा निर्माण हुने चिल्डे«न पार्क र पिकनिक स्थलले मनोरञ्जन स्थलको अभाव पूर्ति गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । ‘विगतमा पार्कका लागि संरक्षण गरिएको जग्गा अब प्रयोगमा आउन लागेको छ’, वडाध्यक्ष रिजालले भने । उनले बाइपास रोड कालोपत्रे तथा नाला निर्माण निर्धारित समयमै सक्नका लागि स्थानीयबासीले सघाउने अपेक्षा समेत गरे ।

 
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाले २० बर्ष अघि सुरु भएको वाटरपार्क सुन्दर बनाउने योजना कार्यान्वयनमा आएको बताएका छन् । उनले हाल निर्माण भैरहेको वाटरपार्क छिटो उपमहानगरपालिकालाई हस्तान्तरण गर्न पनि आग्रह गरेका छन् । ‘उपमहानगरपालिका मातहत वाटरपार्क आएपछि पनि सौन्र्दयीकरणका लागि धेरै काम गर्नुपर्नेछ’, नगर प्रमुख डा. राणाले भने ।

 
ठेकेदार समेत रहेका बाँके निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायले अवरोध नभएमा तोकिएको समय अगावै निर्माण सक्ने प्रतिबद्धता जनाएका थिए । ‘ठेक्का लगाउनु अघि नै कामका लागि बाधा हुने खालका अवरोध छ भने हटाउनु पर्छ’, वरिष्ठ उपाध्यक्ष उपाध्यायले निर्माण कार्य ढिला हुनुमा फिल्डमा हुने अवरोध नै कारक हुने गरेको संकेत गर्दै भने ।

 
यसैबीच, सोमबार नै सहरी विकास मन्त्री मो. इस्तियाक राईले संघीय मन्त्रालयले नेपालगन्ज–१४ मा ४५ करोड रुपैयाँ लागतमा बनाइने ८ सय सिट क्षमताको सभाहल पनि शिलान्यास गरेका छन् । नेपालगन्जमा रहेका मन्त्री राईले औपचारिक कार्यक्रमहरुमा आगामी बजेटमा नेपालगन्जको विकासका लागि थु्रपै योजनाहरुका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाउँदै आएका छन् । ‘चालु आ.व.को बजेट आउँदा म मन्त्री बनिसकेको थिइन्’, मन्त्री राइले भनेका छन्, ‘त्यसैले आगामी बजेटमा नेपालगन्जका लागि प्रशस्तै बजेट ल्याउने प्रयास गर्नेछु ।’ मन्त्री राईले केही दिनभित्रै नेपालगन्ज र डुडुवाका विभिन्न योजनाहरुका लागि २ सय करोडको टेण्डर आव्हान हुन लागेको जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया