के गर्दैछन् बाँकेका सिनियर क्रिकेटर

बाँंके जिल्लाका पुरुष क्रिकेटरहरुले सिनियर खेलाडीहरुलाई उपेक्षा गरियो भन्दै आएका छन् । बांँकेका सिनियर खेलाडीहरुको असन्तुष्टि थियो कि उनीहरुले लामो समय भइसक्दा पनि बांँके जिल्लामा क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाइरहेका छैनन् । विगतमा महेश क्षेत्री, सुवेन्दु पाण्डे, प्रनित थापा, सुनिल सुनार, नेरी थापा, तृष्णा सिंह, सिता राना मगर, बिनु बुढा मगर, मनिषा रावल, ममता थापा जस्ता अन्तर्राष्ट्रिय क्रिकेटर जन्माएको बांके जिल्लामा बुधवारमात्रै अविनाश बोहरालाई भव्य स्वागत सम्मान गरियो । बाँकेका युवा प्रतिभा बोहराले युएइमा हालै सम्पन्न टि-ट्वान्टी प्रतियोगितामा मेन अफ त सिरिजको उपाधी हासिल गरि गृहनगर फर्किएका बोहरालाई नेपालगन्जमा स्वागत सम्मान गरिएको हो । व्याप्त गुनासो र सम्भावनाबीचका समस्या बारे यहाँका युवा खेलाडीसँग दैनिक नेपालगन्जका लागि पत्रकार ममता थापामगरले गरेको संवादको संक्षेप आजको अंकमा ।

 

सुवेन्दु पाण्डे-


अन्तर्राष्ट्रिय खेलाडी सुवेन्दु पाण्डे यतिबेला आउदै गरेको डी.पि.एल खेल्दै छन् । नेपालगन्जबाट क्रिकेट खेल सुरु गरेका सुवेन्दु यतिबेला डी.पि.एल खेलका लागि धनगढीमा बन्द प्रशिक्षणमा व्यस्त छन् । सि.वाइ.सि अत्तरियाबाट खेल्न लागेका सुवेन्दु आफनो गृह जिल्लामा क्रिकेटको सोचे जस्तो प्रगति हुन नसकेको दुखेसो पोख्छन् । ‘प्रतियोगिताको कमि, क्रिकेट संघको अन्योलताले क्रिकेटहरुको भविष्यको कुनै ठेगान नै छैन, दोष कस्लाई दिनु ? ‘हामी भन्दा माथिल्लो तहमा रहेका पदाधिकारीहरुलाई चासो नभएका कारण चाहे जस्तो गति लिन नसकेको हो ।’ खेल भए पो खेलाडीहरुको उत्पादन हुन्छ तर जब प्रतियोगिता नै हँुदैन अनि नयाँ खेलाडी उत्पादनमा कसरी वृद्धि हुन्छ ।
इन्नामुद्दिन हल्वाई-


लामो समय बाँंके जिल्लाका लागि थुप्रै क्रिकेट प्रतियोगिता खेलिसकेका इन्नामुद्दिन हल्वाई यतिबेला क्रिकेट खेलबाट सन्यास लिए पनि क्रिकेट खेलका लागि उत्तिकै चिन्तित छन् । यतिबेला उनी क्रिकेट खेलमा अम्पायरिंग गर्छन भने, उनी स्वयम् क्रिकेट प्रतियोगिता समेत आयोजना गर्छन् । केहि समय अघि उनी र उनीसंगै अन्य २ जना साथीहरुले मिलेर नेपालगन्जमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता संचालन गरेका थिए । क्रिकेट मैदानको अभाव र क्रिकेटलाई हेला गरिएको उनको भनाइ छ । ‘जब खेलाडी उत्पादन हुन्छन् उनीहरुलाई खेल्नलाई उचित ठाउँ र प्रतियोगिता पनि त चाहियो । खेलाडी उत्पादनले मात्र कसरी क्रिकेटको विकास हुन्छ ?’ हामीहरुले क्रिकेटका पदाधिकारीलाई नभने कस्लाई भन्ने ? आक्रोशित मूडमा उनले भने ।

 

प्रनित थापा-


अन्डर १९ प्रतियोगितामा विश्व कप छनोट खेल खेलेर आइसकेका प्रनित थापा यति बेला प्रतियोगिताको अभावले छट्पटाइरहेका छन् । क्रिकेटर भएर क्रिकेट खेल्न नपाउनुको पीडा उनीमा देखिन्छ । उनको माग अरु केहि नभएर धेरै भन्दा धेरै प्रतियोगिता होस् भन्ने मात्र हो । अरु जिल्लामा मेयर कप प्रतियोगिताबाट नयाँ खेलाडी जन्मिसकेका छन् भने सिनियर खेलाडीहरुले समेत स्थान पाइरहेका छन् । ‘हाम्रो जिल्लामा नयाँ खेलाडी उत्पादन तिर ध्यान दिए पनि प्रत्येक वर्ष जन्मेका नयाँ खेलाडीले अगाडी चाँहि कुन गेम खेल्ने त ? हामी पनि जन्मिसकेका खेलाडी खेल नहुँदा के गर्नु ?’

 

सिद्धान्त राज शाही-


बांके जिल्लाको अग्र पंतिका खेलाडीमा पर्दछन् सिद्धान्त राज शाही, सिद्धान्तले एक महिना अगाडी प्रदेश नम्बर २ इनरुवामा भएको मुख्य मन्त्री कपमा प्रदेश नम्बर ५ बाट खेलेर त आए तर बिडम्बना उनले आफैले खेल खेल्न जानका लागि आफनो गोजीबाट आफै गाडी भाडा दिएर गए । ‘आफनो गोजीबाट हामीले आफैले पैसा हालेर खेलेर आएका छांै हामी, हामीलाई धेरै क्रिकेट खेल्ने मन छ तर हामीलाई साथ र सहयोगका लागि कोही छैनन् जस्तो लाग्छ ।’
‘बांकेमा क्रिकेट हराएको छैन तर यस्तै पारा हो भने एक दिन हराउने डर छ,’ ५ वर्ष अगाडी बी.डी.सी.ए को आयोजनामा भएको क्रिकेट प्रतियोगिताको सम्झँना गर्दैे शाहीले भने, ‘प्रतियोगिता नहुनु एउटा समस्या अर्काे समस्या क्रिकेट प्रतियोगिता गराउन चाहे पनि क्रिकेट मैदानको अभाव पनि बांके क्रिकेटको समस्या हो ।’ चाहे जस्तो क्रिकेट मैदान नहुनु र क्रिकेट प्रतियोगिता नहँुदा खेलाडीहरु निरुत्साहित छन् ।

 

अविनाश बोहरा-


भर्खरै मात्र यु.ए.इ मा एक दिवसीय क्रिकेट तथा टी २० क्रिकेट सिरिजमा नेपाललाई जीत दिलाउन महत्वपुर्ण योगदान गरेका तथा टी २० सिरिजका उत्कृष्ट खेलाडी अविनाश बोहराले गृह जिल्ला बांँकेबाट क्रिकेट सुरुवात गरे पनि यतिबेला उनी विभागीय टोली सशस्त्र प्रहरी बलबाट खेलिरहेका छन् । ‘म जब सम्म बाँंके जिल्लाबाट क्रिकेट खेल्थें त्यतिबेला वर्षमा कम्तिमा पनि ३ वटा प्रतियोगिता हुने गथ्र्यो तर अहिले त बांँकेमा क्रिकेटको गतिविधि शुन्य जस्तो छ ।’ ‘यस्तै पारा हो भने भएका राम्रा खेलाडी पनि पलायन भएर जाने’मा उनको चिन्ता छ ।

प्रतिक्रिया

प्रतिक्रिया