लगानी नै डुब्ने जोखिम बढेपछि नेपालगन्जका तारे होटल एकजुट

बाँकेका झण्डै एक दर्जन तारे होटल अर्बौ लगानी डुब्ने जोखिममा एकजुट भएका हुन्
‘मान सरोवरका यात्रु उपलब्ध गराउने ट्राभल एजेन्सीसँग मेरो ६० लाख रुपैयाँ लिन बाँकी छ’, नेपालगन्जको एउटा तारे होटलका सञ्चालकले पीडा पोखिरहँदा नजिकै रहेका अर्को तारे होटल सञ्चालकले भने, ‘मेरो पनि ३० लाख जति बाँकी नै छ ।’
मंगलबार नेपालगन्ज क्षेत्रका तारे होटलहरु एकै ठाउँ बसेर आफ्ना पीडा र होटलमा परिरहेको पछिल्लो प्रभावबारे खुलेर छलफल गरिरहँदा खुलासा भयो, मानसरोवरका लागि आउने यात्रुहरुको नाममा विभिन्न ट्राभल एजेन्टहरुले ५० प्रतिशत उधारोमा यहाँका होटललाई डुबाइ रहेका छन् । अधिकांस एजेन्ट काठमाडौं र भारतका छन् । उनीहरुसँग उधारो असुल गर्न व्यवसायीहरुलाई निकै धौ भैरहेको छ ।
अर्बौ लगानी जोखिममा परेपछि अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धराशयी हुन लागेको भन्दै नेपालगन्जका तारे होटलका सञ्चालकहरु एकजुट भएका छन् । उनीहरु मंगलबार दिनभर जसो आफ्ना समस्या केलाउन र समाधानका लागि सामूहिक पहल खोज्नमा जुटे । ‘नेपालगन्जका तारे होटलको दररेट अन्य ठाउँका सामान्य होटलको भन्दा कम छ’, सिद्धार्थ गु्रप अफ हस्पिटालिटिजका निर्देशक मुक्तिराम भण्डारीले बैठकमा भने, ‘यसरी करोडौं लगानीका होटल कति दिन टिक्ला ?’ सिद्धार्थकै अर्का निर्देशक केशव न्यौपानेले झण्डै १ हजार स्तरीय कोठा रहेको नेपालगन्ज क्षेत्रका तारे होटलमा नियमित ३ सय भन्दा कम उपयोग हुने गरेको जनाउ दिंदै भने, ‘व्यवसाय धराशयी हुने स्थितिमा पुगेको छ ।’
होटल सोल्टीदेखि कोहलपुरको सेन्ट्रल प्लाजासम्मका तारे होटलहरु मंगलबार एकै ठाउँ बसेर आफ्नो लगानी सुरक्षाका लागि गम्भीर मन्थन गरेका हुन् । ‘क्षमता बिस्तार गर्दा सम्भाव्यता अध्ययन गरिएन’, नेपालगन्जमा धमाधम स्तरीय होटल खुलिरहँदा कसरी चल्ने र स्थायित्व ग्रहण भन्नेबारे गम्भीर नभएको औंल्याउँदै सेन्ट्रल प्लाजाका सञ्चालक देवानन्द अर्यालले भने, ‘यहाँका होटलहरु अहिले भरिभराउ हुँदा पनि नाफा कमाउन नसक्ने अवस्थामा चलिरहेका छन् ।’ अर्यालले त्यसो भनिरहँदा होटल किचन हटका प्रबन्ध निर्देशक विनोद मैनालीले प्रश्न गरे, ‘नोक्सान सहेर कतिञ्जेल चलिरहने ?’ उनले व्यवसायीहरु एकजुट भएर स्वस्थ प्रतिस्पर्धा गर्नुको विकल्प नरहेको बताए ।
होटल एशोसिएसन नेपाल (हान) मा संगठित उनीहरु यसखालका बसाई निरन्तर हुन नसकेको पनि चिन्तित देखिन्थ्ये । ‘सस्तो दिने प्रतिस्पर्धामा रहेका यहाँका होटलहरु सेवा भने कसले स्तरीय दिनसक्छ भन्ने होडबाजीमा छन्’, सिद्धार्थका निर्देशक भण्डारीले त्यसो भनिरहँदा सोल्टी क्राउन प्लाजाका जेनेरल म्यानेजर उपल मजुमदारले भने, ‘प्रतिस्पर्धा गरौं तर व्यवसाय बढ्ने गरी ।’ उनले नोक्सानको कारोबार धेरै दिन नचल्ने भन्दै सबैलाई सचेत गराए ।
होटल खनाल कम्प्लेक्सका सञ्चालक दिवाकर खनाल, ग्यालेक्सी दरबारका सञ्चालक तेज प्रसाद रेग्मी, सिटि प्यालेसका सञ्चालक लोकेन्द्र अर्यालदेखि सिग्नेट इनका प्रतिनिधिसम्मले अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालगन्ज क्षेत्रका स्तरीय होटलहरु धराशयी हुने अवस्थामा पुगेको टिप्पणी गरे । ‘कुनै पनि होटलको भविष्य सुरक्षित छैन’, बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्राभेल एजेन्ट कन्फ्रेन्स गर्न सुझाव दिंदै सेन्ट्रल प्लाजाका सञ्चालक अर्यालले भने ।
नेपालगन्ज क्षेत्रमा झण्डै एक दर्जन स्तरीय होटल सञ्चालनमा छन् । उनीहरुको मंगलबारको भेलाले स्तरीय होटललाई तीन श्रेणीमा विभाजन गरी न्यूनतम दररेट कायम गरेको छ । ‘दरलाई अनुगमन गर्ने संयन्त्र तयार गरिंदैछ’, हान नेपालगन्जका सचिव समेत रहेका सिद्धार्थका निर्देशक न्यौपानेले भने ।
हानका उपाध्यक्ष समेत रहेका सेन्ट्रल प्लाजाका सञ्चालक अर्यालले यसखालका बसाईहरुलाई निरन्तर अगाडि बढाएर नेपालगन्ज क्षेत्रका ठूलो होटलहरुको व्यवसायिक भविष्य सुनिश्चितताको प्रयास गरिने बताए । ‘कसरी गेष्ट ल्याउने, ल्याएका गेष्टलाई कसरी टिकाउने र व्यवसायिक मुनाफाबाट कसरी यहाँका होटलहरुको भविष्य सुरक्षित गर्ने भन्ने कुरामा निरन्तर छलफल र पहल आवश्यक छ’, उपाध्यक्ष अर्यालले दैनिक नेपालगन्जसँग भने ।
होटल सोल्टीका महाप्रबन्धक इन्द्र खड्काले व्यवसायिक एकताबाट स्वस्थ प्रतिस्पर्धाको विकास गर्न खोजिएको बताए । ‘यो प्रयासले यहाँका व्यवसायीहरु बीचको एकता र स्वस्थ प्रतिस्र्धामा बल पुग्छ’, होटल कल्पतरुका महाप्रबन्धक दिपक झाले भने । बैठकमा नेपालगन्ज क्षेत्रमा सञ्चालनमा रहेका र सञ्चालन तयारीमा रहेका १३ वटा तारे होटलका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया