महानगर यात्रा

विद्याले विनय सिकाउँछ, विनयले योग्यता । योग्यताबाट धनप्राप्ति र त्यसबाट धर्मप्राप्ति हुन्छ र सुख मिल्छ । संस्कृत उक्तिले यही भन्छ । वाटरपार्क सुशीलनगर प्रवेशद्धारको पुर्वतर्फ अवस्थित नीजि अफिसमा वार्तालाप भइरहँदा नेपालगन्जका प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईंको मुहारमा सुखको भाव महसुस गर्न सकिन्थ्यो । ‘सबै व्यापार व्यवसाय असिम(छोरा)ले हेर्छ ।’ उनले निर्धक्क सुनाए–‘म त यताउता गर्दामै ठिक्क हुन्छ ।’ उनको ‘ठिक्क हुन्छ’ भन्ने शब्दावलीको आयतन भने निकै चौडा छ । उनको शिक्षाप्रतिको लगाव, व्यवसायिक इमान्दारिता, संघर्ष र सफलताका कथा साँच्चिकै प्रेरणादायक छ ।

 

 
हरेक अभिभावकको इच्छा र चाहना हुन्छ –‘सन्तानले विरासत धानुन् ।’ हुनपनि करोडौंको डिल हुने त्यो सानो अफिसको बाहिरपट्टि रहेको घरानिया व्यापारमा असिमले सबै कारोबार व्यवस्थापन गरिरहेको थाहा पाउन हामीलाई गार्हो भएन । हामीलाई दुध चियाले स्वागत गरेर आफु दुधबिनाको चियाको चुस्की लिएका अच्युत दाइसँग हामी गफिरहँदा असिम भने बाहिर क्यालकुलेटर चलाउन व्यस्त थिए । जसरी हाँसको भिंडमा बकुल्ला हुन्छ, नपढेको मानिस सभ्य समाजमा सुहाउँदैन । त्यसैले त भनिन्छ –जुन बाबुआमाले छोराछोरीलाई पढाउँदैनन्, उनीहरु शत्रु समान हुन् । अच्युत दाइले दुवै छोरा असिम र अभिषेकलाई इच्छाएको शिक्षा दिन सफल भएका रहेछन् । कान्छो छोरा अभिषेक थप अध्ययनका सिलसिलामा अमेरिका छन् ।

 

 
खरो स्वभाव र रुखो बोली अच्युत दाइको परिचय हो । यद्यपी नेपालगन्जका उद्योगी व्यापारीहरुका जिम्मेवार अभिभावक उनको खास परिचय हो । परिचयका उनका धेरै पाटा छन् । शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रको लगानीकर्ता, नेतृत्वकर्ता । शैक्षिक अभियन्ता पनि उनको परिचय हो । साथै राजनीतिक कार्यकर्ता पनि । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सोमवार भएको देशव्यापी प्रदर्शनमा भाग लिएर उनी भर्खरै निवास फर्किएका थिए । विराटनगरमा विद्यालय स्तरको अध्ययन गर्दाताका बीपी कोइरालाको सान्निध्यमा रहेर देश र जनताको मुक्तिका कथा सुन्ने अवसर पाए । त्यसले आफुमाथि कांग्रेसको प्रभाव परेको उनी स्वयंले बताए । तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको आग्रह टार्न नसकी बाँके जिल्ला कांग्रेसमा कोषाध्यक्षको जिम्मेवारी पनि उनले बहन गरे । यद्यपी उनलाई नेपालको राजनीतिक प्रणालीप्रति खासै मन छैन । विराटनगरको स्कुले जीवनमा बीपीको नजिक हुने अवसर मिल्यो, त्यसले कांग्रेसप्रति नजिक्यायो । उच्च शिक्षा अध्ययनका क्रममा शंकरदेव क्याम्पसको संगतले थप मलजल गरेको हो ।

 


‘तर राजनीतिमा झुटो बोल्न जान्नुपर्दो रहेछ । चोर गुण्डालाई पुलिसले पक्रदा छुटाउन जानुपर्छ ।’ उनी भन्छन्–‘तसर्थ सक्रिय राजनीतिभन्दा टाढै बस्न रुचाए, अहिले शुभेच्छुक मात्र हु ।’ उनले यति भन्दैगर्दा देशको संघीय संरचनाबारे कडा टिप्पणी पनि गर्न भ्याए । बाँके र बर्दिया जिल्लालाई प्रदेश नं. ५ मा राखेकोमा उनलाई कत्ति चित्त बुझेको छैन । साविकको मध्यपश्चिमका बासिन्दाबीच आत्मियता र अपनत्व रहेको उनको बुझाइ छ । ‘कर्णालीको पानी र त्यसबाट उत्पादित बिजुली हामीले खपत गर्ने हो । हामीले कर्णालीलाई खाद्यान्न आपुर्ति गर्ने सम्बन्ध हो ।’ उनी भन्छन्–‘तसर्थ यो व्यवहारिक भएन, हाम्रो र कर्णाली प्रदेशवासीबीचको आत्मीयता प्रगाढ छ, यसमै सबकुछ छ ।’ कर्णाली प्रदेशसँगको सम्बन्धले सबैलाई लाभ हुने उनको तर्क छ । यसका लागि उनीलगायतको एक समुहले गृहकार्य पनि थालिसकेको छ । हरेक स्थानीय तह, प्रदेश सभा सदस्य अनि संघीय सांसदलाई लिखित प्रतिवद्धता गराउँदै जाने उनीहरुको योजना छ । यसमा अन्ततः मधेसी दलसमेत सहमत हुनेमा उनी ढुक्क छन् । आपसी मतभेदले हरेक मुद्धा कमजोर हुने गर्छन् ।

 

 

मध्यपश्चिम विश्वविद्यालय स्थापनाका लागि स्वयं अच्युत प्रसाईंले अगुवाई गरेका थिए । उनका भनाइमा सम्पुर्ण जिल्लावासी एकढिक्का हुन नसक्दा विश्वविद्यालय यहाँ स्थापनाको मुद्धा ओझेलमा पर्न गयो । फेरि नेपालगन्ज विश्वविद्यालयको मुद्धा अघि सारियो । यसको अगुवाई पनि यिनले नै गरे । मधेसी दलका आफ्नै सोंच थिए । यद्यपी पशुपति दयाल मिश्रलाई सहसंयोजक बनाएर अघि बढ्दा आवाज सशक्त बन्यो, सरकारबाट सुनुवाई भयो । यसको प्रस्ताव सदनमा समेत दर्ता भयो । यद्यपी प्रभावकारी ढंगले अघि नबढ्दा फाइल जहाँको त्यहीं छ । फेरि यो एजेन्डालाई उठान गर्ने उनी बताउँछन् । ‘हामीसँगै जनकपुरको महर्षि विश्वविद्यालय पाइपलाइनमा थियो । उसले अनुमति लिइसक्यो । नेपालगन्ज विश्वविद्यालयले भने अनुमति पाउन सकेको छैन ।’ उनी भन्छन्–‘हाम्रो नेतृत्व यसमा चुक्यो ।’ विश्वविद्यालय स्थापनाले सभ्य समाज निर्माण हुने उनको बुझाइ छ । हितोपदेशले भन्छ जससँग विद्यारुपी आँखा छैन, उ अन्धो हो । साँच्चिकै विद्याबिना मानिसको जीवन अधुरो हुन्छ, उसले संसार नियाल्न नसक्ने नै हुन्छ । संसार बुझ्नका लागि अध्ययन अपरिहार्य छ । त्यसैले पनि प्रसाईं शिक्षाको लगानीमा अभिरुची राख्छन् । २०७२ सालमा महाभुकम्प गएपछि राजधानी काठमाडौं बाहिर स्तरीय शिक्षाको आवश्यकता महसुस गरियो । यसमा प्रसाईंले पनि अनुभुति गरे । एउटा बलियो र प्रभावशाली टिम निर्माण गरे । र, नेपालगन्ज एजुकेसनल फाउन्डेसन बनाए । यो फाउन्डेसनको नेतृत्व पनि प्रसाईंले नै गरिरहेका छन् । नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत पिपरीको पुर्वतर्फ एक किलोमिटर दुरीमा पाँच बिगाहा जमिन खरिद गरी भौतिक पुर्वाधार निर्माणको काम जारी छ । झण्डै तीस करोडको लगानीमा सञ्चालन हुन लागेको उक्त स्कुल अध्याधुनिक र सुविधासम्पन्न हुनेछ । ‘बिहान उठ्नेबित्तिकै स्कुल जाने र बेलुकी सुत्न मात्र घर आउने यसको बिशेषता हुनेछ ।’ उनी भन्छन्–‘सबै कुरा स्कुल प्रांगणमै हुनेछ ।’ त्यस विद्यालयको पुर्व तयारीका रुपमा यो टिमले नेपालगन्जमा शेमरक मन्टेश्वरी स्कुल सञ्चालनमा ल्याइसकेको छ । उनकै भनाइमा सरकारको वर्तमान शैक्षिक नीतिले टिमलाई कताकता चिन्तित पनि बनाइदिएको छ । उता काठमाडौंमा ४५ करोडको लगानीमा ४० जनाको समुह बनाइ एरो फर्मास्युटिकल औषधी कम्पनी सञ्चालनको तयारी अवस्थामा छ । ‘यसको उत्पादन चाँडै बजारमा आउँदैछ ।’ उनले सुनाए ।
रोजगारी सिर्जना गर्न सके देश समृद्धिको बाटोमा जाने उनको बुझाइ छ । तसर्थ उनी जहिल्यै रोजगारी सिर्जना गर्नमा मात्र तल्लीन रहन्छन् । पढेलेखेका व्यक्तिले नै उद्यम गर्नुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा उनी जोड दिन्छन् । औषधी उत्पादन कम्पनी, स्कुल, सहकारी र बैंक प्रत्यक्ष उदाहरण हुन् । यतिबेला प्रसाईं झण्डै एक हजार जनालाई रोजगारी दिइरहेको राष्ट्रिय स्तरको विकास बैंक सांग्रिलाका अध्यक्ष हुन् । जसको दुई अरब ६० करोड रुपैयाँ चुक्ता पूँजी छ । २०६१ सालमा स्थापना भएको नेपालगन्जको बागेश्वरी विकास बैंक र पोखरा बेस सांग्रिला बैंक मर्ज भएर तीन बर्षअघि राष्ट्रिय स्तरको सांग्रिला बैंक बनेको हो । यसका देशभर ७७ शाखा छन् । ‘यस महिनादेखि थप १० शाखा सञ्चालनमा आउँदैछ ।’ उनले जानकारी दिए–‘थप लगानी भित्राएर कमर्सियल बैंक बनाउने लक्ष्यका साथ अधि बढिरहेका छौं ।’ उनी यसमा सफल हुने तमाम आधार छन् । उनले यसअघि नै यस्ता आशारशीला खडा गरिसकेका छन् । देशव्यापी सञ्जाल तयार गरिसकेका छन् । जब उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्दीय समितिमा बसेर काम गरे, बलियो सञ्जाल निर्माण गर्न सफल भए । बिश्वास आर्जन गर्न सफल भए । नेपालगन्ज उद्योग वाणिज्य संघलाई संस्थागत गरेको श्रेय पनि प्रसाईंलाई नै जान्छ । एउटा साँघुरो कोठाबाट त्रिभुवनचोक पुर्वको भब्य भवनमा नेपालगन्ज उद्योग वाणिज्य संघ सगौरव रहनुमा धेरैले प्रसाईंको योगदानको तारिफ गर्छन् ।

 

 

स्थापनाको दुई दशकसम्म संस्थाको एक पृष्ठ विधान हुनु र चार पटक मात्र साधारणसभा भएको देखेर धेरैमा उकुसमुकुस थियो । सिमित व्यक्तिको पञ्जामा उद्योग वाणिज्य संघको बागडोर थियो । देशमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएसँगै उद्योगी व्यापारी पनि हकअधिकारका लागि जुर्मुराउन थालेका थिए । यसै परिप्रेक्ष्यमा २०५१ सालमा प्रसाईंलाई सक्रियता बढाउन साझा रुपमा आह्वान गरियो । फलस्वरुप २०५२ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको पाँचौं साधारणसभा भयो, २०५३ सालमा चुनावी साधारणसभा हुँदा प्रसाईं अध्यक्षमा निर्वाचित भए । ‘चुनावसम्म आआफ्ना प्यानल थिए ।’ प्रसाईंले विगत सम्झिए–‘निर्वाचित भएपछि कन्हैयाजी(पुर्व अध्यक्ष कन्हैयालाल टण्डन)ले धेरै सघाउनुभयो । संस्था सञ्चालनका विधि प्रक्रिया सिकाउनुभयो ।’ विधि र प्रक्रियामा बिश्वास गर्ने भएकै कारण उनले कार्यकाल सफल बनाए । पहिलो कार्यकालमा उनले उद्योग वाणिज्य संघको पहिलो तल्ला निर्माण गर्न सफल भए । कामको मुल्यांकन गर्दै मतदाताले २०५६ सालमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुननिर्वाचित गरिदिए । भवनले पुर्णता पायो । प्रहरी प्रशासन र चन्दा असुली गर्नेहरुको व्यापारीप्रतिको धारणा परिवर्तन गर्न संघ सफल भएको उनी बताउँछन् । उनको प्रभाव बिस्तार हुँदै गयो । अन्ततः नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भए । तीन कार्यकाल केन्द्रिय सदस्य भएपछि उनले उद्योगी व्यापारीको साझा नेताको छवि बनाए ।

 

 

‘उद्योग वाणिज्य महासंघको केन्द्रिय समितिमा मैले नै बाटो खोलें, जुन अहिलेसम्म त्यो विरासत कायमै छ ।’ उनी सगौरव सुनाउँछन्–‘हामीले संस्थागत मुल्य मान्यतामा मात्र बिश्वास गर्दै आयौं, प्रतिफल नेपालगन्ज उद्योग वाणिज्य संघ जहिल्यै केन्द्रिय समितिमा रहदै आएको छ ।’
‘पढेलेखेका मान्छेले रोजगारी दिने हो, आफु मात्र जागिर खाने हैन ।’ भन्ने मान्यतालाई अनुशरण गर्दै २०३९ सालमा गौरी शंकर ट्रेडर्सबाट व्यावसायिक यात्रा सुरु गरेका प्रसाईंको विरासत निरन्तर फैलिदो छ । त्रिभुवन विश्वविद्यालयबाट २०३९ सालमा मास्टर्स गरेका प्रसाईंले यो पुष्टि गरिसकेका छन् । पछिल्लो पिढींलाई पक्कै शिक्षा हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया