ब्याजबारे यसो भन्छन् व्यवसायी

उद्योगी, व्यवसायीहरुले बैंकहरुले ब्याजदरमा मनपरी गरिरहेको आरोप लगाउँदै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । देशव्यापी रुपमा आन्दोलित व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् । नेपालगन्जका व्यवसायीहरुले सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकार र नेपाल राष्ट्र बैंक नेपालगन्ज मार्फत गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
विभिन्न प्ले कार्ड लिएर प्रदर्शन गरेका उद्योगी, व्यवसायीहरुले उद्योग, व्यवसाय धराशयी हुने गरी बैंकले ब्याजदर दोब्बर पार्दा समेत सरकारले वेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । व्यवसायीहरुले सरकारले आफ्ना मागको सुनुवाई नगरेमा उद्योग, व्यवसायका चाबी सरकारले बुझाउने चेतावनी पनि दिएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघले सरकार र राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र पठाउँदै उत्पादनमूलक उद्योगीहरुलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी अधिकतम ७ प्रतिशतसम्म र व्यवसायिक क्षेत्रमा ८ प्रतिशतमा नबढाई ब्यादजर कायम गर्न माग गरेका छन् । ज्ञापनपत्रमा बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गर्न माग गरेको छ ।
संघको कार्यालय त्रिभुवनचोकबाट सुरु भएको ¥याली धम्बोझीचोकस्थित नेपाल राष्ट्र बैंक, पुगेर नेपालगन्ज कार्यालयका निर्देशक बिमलराज खनाललाई ज्ञापनपत्र बुझाएको थियो । संघका अध्यक्ष नन्दलाल बैश्यले ज्ञापनपत्र बुझाउँदै बैंकको नियमन गर्ने निकाय राष्ट्र बैंक भएकाले आफ्ना मागहरुलाई गम्भीरतापूर्वक लिने अपेक्षा गरेको बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निजी क्षेत्र उद्योग, व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
सोमबार नै र्याली सहित जिल्ला प्रशासन कार्यालय बाँके पुगेका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सरकारका अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । त्यसक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीका मागमा वेवास्ता गरिए सडक आन्दोलनमा जान सक्ने चेतावनी दिएका थिए ।
व्यवसायीहरुले सम्झौताका समयमा बैंकले निर्धारण गरेको ब्याज अत्याधिक वृद्धि गर्न नपाउने व्यवस्था गरिनु पर्ने बताए । उनीहरुले बैंकिङ्ग सिण्डिकेटमा अंकुश नलगाएमा उद्योग, व्यवसाय चौपट हुने बताएका छन् । संघका अध्यक्ष वैश्यले बैंक ब्याज बढेपनि मुनाफा नबढ्ने भएकाले त्यसको असर उद्योगी, व्यवसायीले ब्यहोर्नु परिरहेको धारणा राखेका छन् । ‘मुनाफा नबढ्ने तर ब्याजदर बढ्ने हुँदा व्यवसाय असन्तुलित हुँदै गएको छ’, प्रदर्शनमा सहभागी व्यवसायीहरुले भने, ‘यस भएका उद्योग, व्यवसाय धराशयी त हुनेनै छन्, नयाँ लगानी गर्न पनि डराउने स्थिति सिर्जना हुँदै जानेछ ।’
राजनीतिक स्थायित्वले उत्साहित निजी क्षेत्र ढुक्कका साथ लगानी गर्न नसक्ने अवस्था सिर्जना भएको नेपालगन्ज उद्योग वाणिज्य संघले धारणा सार्वजनिक गरेको छ । ‘बैंक तथा वित्तिय क्षेत्रले अव्यवहारिक रुपमा मनोमानी सिण्डिकेट पद्धति अनुसार चर्को ब्याज दर वृद्धि गरेकाले लामो राजनीतिक संक्रमणकालबाट मुक्ति पाएका उद्योग, व्यवसायीलाई पुन मर्माहत बनाएको छ’, संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘चालु अवस्थामा रहेका योजनाहरुमा लागत बढेको छ भने नयाँ योजना ल्याउन उद्योगी, व्यवसायीहरु डराउनु पर्ने अवस्था सिर्जना भएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया