सहमतिका नाममा सडक साँघुर्याएको आरोप लाग्दै आएको उपमहानगरपालिले न्यूरोडमा बनाउन लागेको नालीमा स्थानीयबासीले अवरोध गरेका छन् । नेपालगन्ज न्यूरोड तथा घरबारीटोलका बासिन्दाले नाला साँघुर्याउन लागेको भन्दै सोमबार निर्माण रोकेका हुन् ।
‘हाल रहेको ३÷४ मिटरको नालाको स्थानमा एक मिटरको नाली बनाउन लागेको पाएपछि काम रोकेका हौं’, स्थानीयबासिन्दाले भने, ‘निर्मार्णाधिन नालीले पानीको सहज निकास दिन सक्दैन ।’ निर्माण बारे थाहा नपाएका न्यूरोडबासी नाली बनाउन सुरु गरिएपछि सोमबार हेर्न पुगेका थिए । ‘ठूला नालाको ठाउँमा सानो नाली निर्माण गर्न लागेको पाएपछि स्थानीयबासीसँग छलफल नगरी काम अगाडि नबढाउन अनुरोध गरेका हौं’, स्थानीय बासिन्दा समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘मंगलबार यस विषयमा छलफल राखिएको छ ।’
घरबारीटोल र न्यूरोडको पानीको निकासको भार पर्ने नाली सानो हुँदा बर्षात्मा डुबानको समस्या हुने निश्चित भएको स्थानीयबासी बताउँछन् । ‘बनिसकेपछि पुनः लगानी गरेर अर्को बनाउन गाह्रो हुन्छ’, श्रेष्ठले भने, ‘त्यसैले उपमहानगरको ध्यानाकर्षण गराउन खोजिएको हो ।’
स्थानीयबासिन्दाले उपमहानगरपालिका, सहरी विकास परियोजना र एडिबी कन्सल्टेन्टलाई पनि नाली साँघुरो भएको भन्दै ध्यानाकर्षण गराएका छन् । स्थानीयबासीले बर्षात्को पानी थेग्ने हिसाबले काम अगाडि बढाउन माग समेत गरेका छन् । ‘भर्खर निर्माण सुरु भएको छ, ठूलो बनाउन समस्या हुँदैन’, उनीहरु भन्छन्, ‘पछि पछुताउनु भन्दा अहिले नै ध्यानाकर्षण गराएका हौं ।’ नाली बागेश्वरी मन्दिरदेखि कल्पतरु सम्म बनाउन लागिएको हो ।
नगर प्रमुख डा. धवल समशेर राणाले निर्माण हुन लागेको नाला राम्रो हुनुपर्ने पक्षमा रहेको बताएको स्थानीयबासीले बताएका छन् । ‘उहाँले फिल्डमा नहेरेको बताउनु भएको छ’, स्थानीयबासीले भने ।