किन थन्कियो करोडौंको जडिबुटी ?

थन्कियो एक हजार टन जडिबुटी

कृष्ण अधिकारी

भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगन्जमा करिब १ हजार टन जडिबुटी थन्किएको छ । भारत सरकारले प्लान्ट क्वारेन्टाइन सम्बन्धी नयाँ कानुन २०१८ जुन देखि लागु भयो । नयाँ कानुन अन्तर्गत जारी भएको जडिबुटीको सूचीमा नेपालगन्ज नाका हुदै निकासी हुदै आएको २७ किसिमका जडिबुटीको नाम समाबेश नभएका कारण ती जडिबुटीहरुको निकासी रोकिएको हो ।
सम्बद्ध व्यवसायीका अनुसार, भारतको प्लान्ट क्वारेन्टाइनको सूचीमा नाम नभएका कारण नेपालगन्ज नाका हुँदै आएका पखानवेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमल बेद, अतिस, कालादाना र सिकाकाई लगायतका जडिबुटीहरुको निकासी रोकिएको हो । जडिबुटीको निकासी रोकिएपछि जडिबुटी ब्यवसायीहरुले कृषि सचिव, कृषि मन्त्री, बन सचिव तथा वन मन्त्रीलाई भेटेर जडिबुटी ब्यवसायीहरुले खेप्नु परेका प्लान्ट क्बारेन्टाइन लगायतका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने देखि ज्ञापन पत्र बुझाए ।
ब्यवसायीका समस्या सुनेपछि तत्कालै समस्या समाधानको पहल गर्ने र छिट्टै समस्या समाधान हुने आश्वासन पनि दिए । कृषिमन्त्री चक्रपाणी खनालले मंसिर १६ गते नेपालगन्जमा पत्रकारहरुसंग कुरा गर्दैै छिट्टै समस्या समाधान गर्ने बताएका थिए । मन्त्रीले छिट्टै समाधान हुन्छ भनेको काम २ महिना बितिसक्दा पनि हुन सकेको छैन ।
कृषिमन्त्री पछि जडिबुटी ब्यवसायीहरुले आफुहरुले खेप्नु परेका समस्याका बारेमा बन मन्त्री शक्ति बहादुर बस्नेतको ध्यानाकर्षण गराए । त्यहि बिचमा जडिबुटी ब्यबसायी संघको २० औं साधारण सभाको उद्घाटन गर्न पुसको २८ गते वन मन्त्री बस्नेत नेपालगन्ज आए । साधारण सभाको उद्घाटन गर्दै बनमन्त्री बस्नेतले जडिबुटीको संकलन भण्डारण र बजारी करण गरेर मुलुकको समृद्धि मैं महत्वपुर्ण योगदान पुराउने बताए । मन्त्रीको भाषण सुने पछि ब्यवसायीहरु उत्साहित भएर ताली बजाए । वन मन्त्री बस्नेतले जडिबुटी क्षेत्रले लाखौंलाई रोजगारी दिन सक्ने बताउदै जडिबुटी सरकारको बिशेष प्राथमिकताको क्षेत्र भएको बताएका थिए । बन मन्त्रीले जडिबुटी ब्यबसायीका समस्या छिट्टै हल हुन्छ भनेको पनि २ साता बितिसकेको छ । तर, भारतको प्लान्ट क्बारेन्टाइनको अबरोधका कारण रोकिएको जडिबुटीको निकासी खुल्ने तर्फ कुनै प्रगति हुन सकेको छैन ।
बर्षाै देखि नेता र मन्त्रीका बिकास र समृद्धिका भाषण सुन्दै आएका जाजरकोटका जडिबुटी ब्यवसायी खड्क बहादुर बुढा भन्छन्, ‘नेता र मन्त्रीले भन्ने गरेका बिकास र समृद्धिका कुरा भाषणमा मात्रै सिमित छन । गोष्ठी बैठकमा भाषण गर्दा समस्या समाधान गछौ भन्छन् तर काम गर्दैनन् ।’
जडिबुटीको निकासी रोकिंदा जडिबुटीहरुको संकलन र बिक्री बितरणमा संलग्न करिब २५ लाख नेपालीहरु प्रत्यक्ष रुपामा प्रभावित भएका छन् । जडिबुडी क्षेत्रको बिकास र बिस्तारका क्षेत्रमा प्रमुख दलका शीर्ष नेता र मन्त्रीहरुले निक्कै आकर्षक भाषण र आश्वासन दिए पनि जडिबुटी खेती गर्ने किसान देखि ब्यवसायीहरुले खेप्नु परेका समस्याहरु कम हुनुको सट्टा थपिंदै गएको गुनासो ब्यवसायीहरुको छ ।
नेपालगन्जमा मात्रै करिब एक हजार टन र देशै भर करिब १० हजार टन जडिबुटी रोकिएको नेपालगन्जका जडिबुटी ब्यबसायी रविन्द्र नाथ शुक्लाले बताए । सरकारको प्रष्ट नीति नहँुदा अझै पनि किसानहरुले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न सकेका छैनन् । बन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानहरुले जडिबुटी खेती गर्ने क्रम अझै सुरु नभएका कारण जडिबुटी संकलन र बिदेशी निकासी घट्दै गएको हो । नेपालगन्ज नाका हुँदै बर्षेनी करिब १ अर्ब रुपैया“ बराबरको जडिबुटी भारत निकासी हुदै आए पनि पछिल्ला बर्षहरुमा निकासी घट्दै गइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया