आसन्न आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर मुख्य प्रतियोगिता स्थल नेपालगन्ज रंगशाला स्थित खेल मैदान हरियाली बनाउन थालिएको छ । बिहीबार विहानै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बरमुढा घाँस (दुबो) रोपेर हरियाली बनाउने कार्यको शुभारम्भ गरेका हुन् ।
दिनभर आधा मैदानमा दुबो रोपि सकिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । भारतको कलकत्ताबाट ल्याइएको दुबो नेपालगन्ज रंगशालाको ९० हजार स्काएर फिट खेल मैदानमा रोपिनेछ । ‘६ दिन लगाएर ल्याइएको दुबो आधा जति रोप्ने काम भैसकेको छ’, साँझ दैनिक नेपालगन्जसँग अध्यक्ष ओलीले भने । उनका अनुसार, मैदान हरियाली बनाउन थालिएपछि राखेप सदस्य सचिव विष्ट दुई दिनको नेपालगन्ज बसाई सकेर फर्किएका छन् ।
‘सबै काम समयमै युद्ध स्तरमा गर्न निर्देशन दिंदै सदस्य सचिव फर्किनु भएको छ’, अध्यक्ष ओलीले बिहीबार मात्रै प्राविधिक सहितको बृहत बैठक समेत गरिएको जानकारी दिंदै भने, ‘फागुनको अन्तिम साताबाट प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला र वरिपरिका भौतिक पूर्वाधारहरु धमाधम काम भैरहेको छ ।’
नेपालगन्ज रंगशालाको ९० प्रतिशत काम पूरा भैसकेको जानकारी दिंदै सदस्य सचिव विष्टले बाँकी पूर्वाधारहरु पनि तिव्र गतिमा भैरहेको बताए । रंगशालामा खेल्न योग्य मैदानका लागि ३६ लाख रुपैयाँ खर्च गरेर दुबो रोप्न लागिएको हो । ‘यो अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको मैदान बनाउनका लागि यसखालको दुबो लगाइएको हो’, सदस्य सचिव विष्टले दैनिक नेपालगन्जसँग भने । विष्टका अनुसार, नेपालगन्ज रंगशालालाई मिसन आठौंले देशकै सुविधा सम्पन्न र आकर्षक बनाइँदैछ ।
अभियन्तालाई सम्मान
आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर प्रचारप्रसारमा सक्रिय एक जना अभियन्तालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सम्मान गरेका छन् । बिहीबार निर्मार्णाधिन रंगशाला मैदानमै सदस्य सचिव विष्टले मेराज हुसेन सिद्दिकीलाई सम्मान गरेका हुन् । उनलाई सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुदको लोगो अंकित मायाको चिनोबाट मैदानमै सम्मान गरेका थिए ।
आठौं घोषणा भएसँगै नियमित रंगशाला पुगेर निर्माणदेखि खेल गतिविधिसम्मलाई नियमित सामाजिक सञ्जालमार्फत सकारात्मक प्रचारप्रसारमा सक्रिय हुसेन क्रिकेट र हक्कीका पूर्व खेलाडी हुन् । ‘मेरो रगतमै खेलकुद छ’, हुसेनले सदस्य सचिव विष्टबाट मायाको चिनो ग्रहण गरेपछि हर्षित हुँदै भने, ‘त्यसैले हरेक दिन मैदान आउँछु ।’ ५१ बर्षीय हुसेन लामो समय नेपालगन्जमा विभिन्न क्लबहरुसँग जोडिएर क्रिकेट र हकीका नामी खेलाडीका रुपमा स्थान जमाउन सफल रहे ।
‘अहिले पनि खेल्ने भनेपछि हुुरुक्कै हुन्छु’, हरेक दिन मैदानमा भेटिने हुसेनले भिडियो बनाउनेदेखि तस्वीर लिनेसम्म काम गर्दै सामाजिक सञ्जालमा सकारात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् । ‘नेपालगन्जको इतिहासमै खेलकुदका लागि ठूलो उपलब्धी हासिल भैरहेको छ’, हुसेनले आफ्नो उत्साह सामाजिक सञ्जालबाट नेपालगन्जबासीबाट दिन खोजेको प्रतिक्रिया दिंदै भने ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले हुसेन जस्ता पूर्व खेलाडी, बहालवाला खेलाडी, प्रत्येक बाँके बासीले यतिबेला रंगशाला पुगेर खेलकुद क्षेत्रमा भैरहेको ऐतिहासिक विकास क्रमलाई साथ दिनुपर्ने बताए ।