बाँकेको जयसपुर नेपाल–भारत सीमासँग जोडिएको गाउँ हो । कुनै बेला लागुऔषध कारोबारको ‘अड्डा’ मानिने जयसपुरमा २०६७ साल चैत्रमा प्रहरीले छापा मारेर केही व्यक्तिलाई पक्राउ गरेपछि त्यहाँ हुने ब्राउन सुगरको संगठित कारोबारमा विराम लागेको थियो । त्यसयता ‘डिलर’कै रुपमा जयसपुरमा कसैले ब्राउन सुगरको कारोबार गर्न नसके पनि शुन्य भने हुन सकेको छैन । प्रहरीले निगरानीले जयसपुरमा संगठित लागुऔषधको कारोबार त हुन सकेन तर भारत नै पुगेर लागुऔषध सेवन गर्ने र त्यहाँबाट ल्याएर नेपालका विभिन्न जिल्ला लगेर बेच्नेहरुको कमी छैन । सीमामा निगरानी बढेपछि लागुऔषध कारोबारीहरुले गुप्ताङमा समेत लागुऔषध लुकाएर ल्याउने गरेको विगतमा प्रहरीले फेला पारिसकेको छ ।
बाँके प्रहरीले जिल्लाको प्रमुख समस्याका रुपमा लिएर लागु औषध कारोबार नियन्त्रणका लागि निगरानीमा भने कमी गरेको छैन । भारतसँग सीमा जोडिएकै कारण बाहिरी जिल्लाहरुमा समेत बाँकेबाट लागुऔषधको अवैध कारोबार हुने गरेको प्रहरीको फन्दामा पर्नेहरुको बयानबाट पुष्टि हुने गरेको छ । प्रहरीका थुनुवामा र मुद्दा लागुऔषधकै बढी हुने गरेको पाइन्छ ।
प्रहरी निगरानी र कारवाहीले मात्रै लागुऔषधको कारोबार नियन्त्रणमा आउन नसकेपछि प्रहरीले सचेतनामूलक कार्यहरुलाई अगाडि बढाएको छ । जिल्लामा प्रहरीले विद्यालय स्तरबाट नै लागुऔषधले पार्ने नकारात्मक प्रभावबारे विद्यार्थीहरुलाई सचेत पार्ने अभियान थालेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमको ब्यानरमा विद्यालयमा पुगेर विद्यार्थीहरुलाई प्रहरीले विद्यार्थीहरुलाई सम्झाउने गरेको हो ।
‘लागुऔषधको कुलतमा फँस्नेमा युवाहरु बढी हुने गरेका छन्’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैले विद्यार्थीहरुलाई टार्गेट गरेर सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको हो ।’ उनले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई सम्झाउने योजना रहेको जानकारी दिए । ‘कुलतबाट युवालाई जोगाउने प्रयास गरिरहेका छौं’, प्रहरी उपरीक्षक पौडेल भन्छन्, ‘त्यसैले उनीहरु हाम्रो अभियानमा समेटिएका हुन् ।’ उनले बाँके प्रहरीले साइबर क्राइम, ट्राफिक नियम, घरेलु हिंसाबारे सचेतीकरण लगायतका कार्यक्रम समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिरहेको जानकारी दिए ।
९÷१० कक्षाका विद्यार्थीहरुलाई अभिमूखिकरण गर्दै आएको प्रहरीले ५ कक्षादेखिका बालबालिकालाई पनि कुलतमा नफसुन् भनेर सम्झाउने गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरले बुधबार मात्रै कक्षा ५ देखि ८ सम्मका जयसपुरका विद्यार्थीलाई लागुऔषध विरुद्ध अभिमूखिकरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यलय जमुनहा र सामुदायिक प्रहरी सेवा केन्द्र जयसपुर बाँकेको संयुक्त आयोजनामा हनुमान आधारभूत विद्यालय जमुनाहका ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई अभिमूखिकरण गरिएको हो । ४५ जना विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक बसन्त कुमार बस्नेतले प्रशिक्षण दिएका थिए । सानै उमेर देखि बालबालिकालाई सम्झाउँदा कुलतमा फँस्ने जोखिम कम हुने भएकाले अभिमूखिकरण गरिएको प्रहरीले बताएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद श्रीवास्तव र शिक्षक पूर्ण प्रसाद उपाध्यायले पनि बोलेका थिए ।
जिल्ला प्रहरी कार्यालयले सोमाबर नेपालगन्जको एबिसी स्कुलका विद्यार्थीहरुलाई लागु औषध दुरुपयोग न्यूनिकरण तथा सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा लागुऔषध नियन्त्रण प्रहरी व्युरो नेपालगन्जका प्रमुख प्र.नि.बिर बहादुर थापा र साहारा हाउस पुनरस्थापना केन्द्र नेपालगन्जका प्रमुख अविराज क्षेत्री, प्रयास नेपालका दिपक राज श्रेष्ठले लागुऔषध दुव्र्यसनीले पार्ने असरबारे विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । बाँके प्रहरीले जयबागेश्वरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा पनि विद्यार्थीहरुलाई अभिमूखिकरण गरिसकेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले पनि अभिमूखिकरणको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले पनि मापसे गर्ने, गाँजा सेवन गर्ने, होहल्ला गर्दै हिड्ने युवाहरुलाई नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगाउने गरेको छ । त्यसक्रममा प्रहरीले युवाहरुलाई सपथ खुवाउने, विद्यालयका शिक्षक तथा अभिभावकलाई कुन अवस्थाबाट युवालाई नियन्त्रणमा लिइएको हो जानकारी दिने, अभिभावकलाई आफ्ना सन्तानको निगरानी गर्न आग्रह गर्ने गरेको छ । कोहलपुर प्रहरीले सय बढी युवालाई नियन्त्रणमा लिई लागुऔषध विरुद्ध अभिमूखिकरण गरेका छाडेको छ । कोहलपुर प्रहरीले पनि विभिन्न विद्यालयमा लागुऔषध विरुद्ध अभिमूखिककरण गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालयको त्रि–वर्षिय तथ्याङ्कको बिश्लेषण गर्ने हो भने २० देखि २५ वर्ष उमेर समूहका तन्नेरीहरु लागुऔषधको लतमा बढी डुबेको पाइन्छ । आर्थिक वर्ष ०७०/७१ मा पक्राउ परेका १ सय ३६ मध्ये ३९ जना २० देखि २५ वर्ष उमेरका छन भने आर्थिक वर्ष ७१/७२ मा १ सय ५१ पक्राउ परेका मध्ये ५५ जना उक्त उमेरका तन्नेरी छन् । ०७२/७३ मा पनि ३६ जना २० देखि २५ वर्ष उमेरकै छन् । आ.व. २०७३/०७४ मा १ सय ३७ मुद्दा, २०७४/०७५ मा १ सय ४७ लागुऔषधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ ।
बढ्दो लागुऔषधका मुद्दा
समाचारदाता
दैनिक नेपालगन्ज
प्रदेश ५ प्रहरीको तथ्यांकले प्रदेशमा लागुऔषधका घटनामा वृद्धि भैरहेको देखाएको छ । प्रदेश प्रहरी कार्यालय अनुसार, प्रदेश नं. ५ मा लागुऔषधका घटना वृद्धि हुँदै गएको छ । चालु आ.व.को ६ महिनामा प्रदेश भरी लागुऔषधका ३ सय ५३ मुद्दा दर्ता भएको प्रहरी अभिलेख छ ।
प्रदेश ५ मा साउनमा ५१, भदौमा ४७, असोजमा ५३, कार्तिकमा ६०, मंसिरमा ५९ र पुसमा ८३ लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ । प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले लागुऔषध सम्बन्धी कारोबार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘लागुऔषध समाजको जटिल समस्या बन्दै गएको छ’, उनल भने, ‘त्यसलाई नियन्त्रण गर्न समुदायसँगको सहकार्यमा सचेतना कार्यक्रम अघि बढाइएको छ ।’