५० लाख जनसंख्या रहेको प्रदेश ५ मा प्रहरी दरबन्दी भने झण्डै १० हजार मात्र । प्रहरी प्रमुख भन्छन्, ‘संगठित अपराध विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुन्छ ।’
प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले आम जनताको सुरक्षा प्रत्याभूतिका लागि प्रहरीको संख्याभन्दा प्रविधिको पहुँचमा जोड दिएका छन् । मंगलवार नेपालगन्जमा पहिलो पटक पत्रकार माँझ प्रस्तुत भएका डिआइजी अधिकारीले सुरक्षा प्रभावकारिताका लागि ‘प्रहरी संख्या भन्दा प्रविधिमा जोड दिइएको’ बताए ।
अपराध अनुसन्धान वैज्ञानिक ढंगले गर्ने आफ्ना योजना पत्रकार माँझ राख्दै डिआइजी अधिकारीले शान्ति सुरक्षा कायम राख्नेदेखि खबर संकलनमा विशेष जोड दिइरहेको बताए । १२ जिल्ला कार्यक्षेत्र रहेको ५ नम्बर प्रदेशमा ५० लाख हाराहारीको जनसंख्या रहेपनि प्रहरी दरबन्दी भने ९ हजार सात सय आसपासमा र पाँच सय बढी प्रहरी इकाई मार्फत सेवा प्रवाह भइरहेको जानकारी दिंदै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रविधिमार्फत सेवा प्रभावकारी बनाइने प्रष्ट पारे ।
हतियारधारी अपराधी बिरुद्ध कडारुपमा प्रस्तुत हुने भन्दै डिआइजी अधिकारीले हतियार बोकेर आउने अपराधीसंग हतियारबाटै नियन्त्रण गर्नुपर्ने तर्कसहित प्रस्तुत भए । उनले हतियार सहितका संगठित अपराध, चन्दा आतंक, महिला हिंसा, हत्या जस्ता विषयमा प्रहरी उच्च संवेदनशील भएको बताए ।
प्रदेशमा छुट्टै विशेष अनुसन्धान व्युरो बनाएर काम गरिरहेको खुलासा गरेका डिआइजी अधिकारीले ‘ठूला, जघन्य, संगठित अपराधका घटनामा’ विशेष अनुसन्धान ब्यूरोले प्रदेश तहबाट निगरानी र अनुसन्धानलाई सहयोग पु¥याउने गरेको बताए ।
तीन महिना अघिमात्र प्रदेश ५ को प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी अधिकारीले पछिल्लो ६ महिनामा ९४ थान अवैध हतियारसहित २९ जना पक्राउ परेको जानकारी दिए । ‘यो संख्या घट्दो छ,’ अधिकारीले अघिल्लो वर्षको तुलनामा अवैध हतियारसहित पक्राउ पर्नेको संख्यामा कमि आइरहेको खुलाउँदै भने, ‘प्रदेशका १२ वटै जिल्लाका सबै प्रहरी इकाइलाई अवैध हतिहार नियन्त्रण गर्न निर्देशन दिइएको छ ।’ प्रहरी सक्रियताले यो वर्ष सबैभन्दा बढी ७५ वटा भरुवा बन्दुक बरामद भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
डीआइजी अधिकारीले बढ्दो सवारी साधन दुर्घटना, लागु औषध नियन्त्रण, लैंगिक हिंसा, संगठित अपराध नियन्त्रणका लागि कार्ययोजना बनाएर अघि बढेको बताए । प्रदेश प्रहरीले पूर्व–पश्चिम राजमार्ग सुरक्षाका लागि बर्दघाटदेखि चिसापानीसम्मका विभिन्न स्थानमा सिसिटिभी राख्ने योजना बनाएको जानकारी दिए ।
‘प्रहरीले पपुलर हुने दृष्टिले भन्दा आधारभूत कुरामा केन्द्रीत भएर काम गर्नुपर्छ,’ बाँके प्रहरी प्रमुख, एसपी अरुण पौडेल सहितका जिल्ला स्थित प्रहरी अधिकारीहरुसहित प्रस्तुत भएका डिआइजी अधिकारीले भने, ‘समुदायमा आफ्नो उपस्थिति र घटनास्थलमा समयमै पुग्ने, परिचालित हुने कुरामा गम्भीर हुनुपर्छ ।’ संगठित अपराध विरुद्ध कडा हुनुपर्ने अवस्था रहेको उनले औल्याए ।