प्रदेश ५ को राजधानी नेपालगन्ज माग्नेहरु पनि छन् । त्यो भन्दा ठूलो संख्या बाँके र बर्दियालाई कर्णालीसँग मिसाउनु पर्छ भन्नेहरु छन् । जसले जे भनेपनि सबैको सरोकार नेपालगन्जको भविष्य हो । होटल तथा पर्यटन व्यवसायका लागि कर्णाली प्रदेशको आधारभूमि नेपालगन्ज बन्न सक्छ भन्ने तर्कका साथ नेपालगन्जलाई पश्चिम क्षेत्रको ‘गेट वे अफ टुरिजम’ बनाउनु पर्छ भन्नेको संख्या पनि उत्तिकै छ ।
यति कुरा पक्का हो । अहिलेकै अवस्थामा नेपालगन्जको भविष्य सुरक्षित छैन । ‘५० प्रतिशत कारोबार घटेको छ’, अधिकांस होटल व्यवसायीहरुको एउटै स्वर छ । अझ ठूला लगानीका होटलहरु बर्षेनीको बैंक ब्याज तिर्न भएभरका थप सम्पत्ति बेच्दैछन् ।
व्यवसायमा कसरी टिकिरहने त ? व्यवसायीहरु भन्छन्, ‘सरकारले दीर्घकालीन योजना बनाएर पूर्वाधारको विकासमा जोड दिनुपर्छ ।’ यतिबेला नेपालगन्ज दिल्ली उडानदेखि सुख्खा बन्दरगाह निर्माणका कुरा ‘आशाका त्यान्द्रा’ बनेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले भारत तर्फ सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरेपछि औपचारिक आव्हान गरेको छ, ‘नेपालगन्जको भाग्य र भविष्य सुनिश्चितताका लागि सुख्खा बन्दरगाह निर्माण कार्य नेपालतर्फ पनि सँगसँगै अगाडि बढाउनु पर्छ ।’ ‘यसका लागि नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडासँग मैले बारम्बार कुरा पनि गरिरहेको छु’, संघका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘यसले नेपालगन्जलाई आर्थिक केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पूर्वाधार तयार हुन्छ ।’
‘होटल चल्यो भने बजार चल्छ’, होटल व्यवसायी घनश्याम थापा तर्क गर्छन्, ‘होटलमा बास बस्न आउने मान्छे बजारका अरु खरिददारीसँग जोडिन्छ ।’ उनले पछिल्ला दिनमा नेपालगन्जमा कसरी होटल व्यवसाय चलाउने भन्नेबारे ठोस पहल हुन नसकेको चिन्ता गर्दै दैनिक नेपालगन्जसँग भने, ‘एउटा गम्भीर बहस आवश्यक छ ।’
नेपालगन्जलाई धार्मिक पर्यटनको सहरका रुपमा पूर्वाधार तयार गरेर यहाँको होटल व्यवसाय फष्टाउने दीर्घकालीन समाधान खोज्न सकिने तर्क होटल व्यवसायी संघ बाँके नेपालगन्जका महासचिव भीम लाल कंडेलको छ । ‘प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्रका रुपमा नेपालगन्जलाई विकास गर्न सकिन्छ’, कंडेल भन्छन्, ‘तर, सरकारले यसका लागि योजना बनाएर अगाडि बढ्नु पर्छ ।’ त्यसका लागि निजी क्षेत्रले दशौं करोड लगानी गरिसकेको उनको भनाइ छ । ‘नेपालगन्ज उपमहानगरपालिका गम्भीर ढंगले पहलकदमीमा लाग्नु पर्छ’, संघका अध्यक्ष निम बहादुर थापा भन्छन् । अध्यक्ष थापाले विभिन्न होटलका चेन निर्माण भैरहेकाले नेपालगन्जले वातावरण मात्रै बनाउन सके संकटमा परेको होटल व्यवसाय बिस्तारै माथि उठ्ने कुरामा ढुक्क छन् ।
अर्बौ लगानी रहेको होटल व्यवसाय क्षेत्रको व्यवसायिक सुरक्षा, विकास र प्रवद्र्धनका लागि राज्यले अभिभावकत्व लिनुपर्ने धारणा व्यवसायीहरुको छ । ‘बहुजाती, धर्म, संस्कृतिले भरिपूर्ण यस जिल्लामा हिन्दु, मुस्लिम, बौद्ध, सिख, इसाइ आदि धर्ममा आस्था राख्ने मनिसहरुको आपसी सद्भाव, कला र संस्कृतिको बिकास गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने सम्भावना छ । त्यसैका लागि पर्यटन व्यवसायमा लगानी पनि थपिंदै गएको अवस्था देखिएको हो’, होटल व्यवसायी भन्छन् ।
बाँकेमा सम्भावना देखेरै व्यवसायीहरुले करोडौं लगानी गरेका छन् । तर, त्यो लगानी सुरक्षित गर्न चुनौति देखिंदै गएको छ । मानसरोवरलाई लक्षित गरेर खोलिएका होटल सिजनमा भरिभराउ भएपनि अन्य बेलामा भने सञ्चालनमै चुनौति थेग्दै आएका छन् ।
बाँकेको विकासका लागि पर्यटक आकर्षित गर्ने खालका पूर्वाधार निर्माण आवश्यक रहेको बताउँछन् संघका पूर्व अध्यक्ष काफ्ले । ‘धेरै सम्भावना छ, तर त्यसलाई कार्यान्वयन गर्न व्यवसायी र सरकारले मिलेर योजना बनाउनु पर्छ’, उनी भन्छन्, ‘आउने र जाने बाटो भएर मात्रै यहाँको व्यवसाय फष्टाउने होइन, मानिसलाई रोक्ने र आकर्षित गर्ने खालका प्याकेज बनाउन आवश्यक छ ।’
छिमेकी राष्ट्र भारतको जनसंख्या ठूलो छ । धार्मिक पर्यटनका लागि लाखौं भारतीय नागरिक यहाँ आउँछन् । उनीहरुलाई यहाँ घुम्ने र रमाउने ठाउँ बनाउने हो भनेपनि यहाँका होटल राम्रोसँग चल्ने व्यवसायीहरु बताउँछन् । ‘भारतीय पर्यटक भित्र्याउने हो भने प्याकेज बनाउनु पर्छ’, काफ्ले भन्छन्, ‘राज्य र निजी क्षेत्रले पर्यटकीय क्षेत्रको प्रवद्र्धन पनि गर्न सक्नुपर्छ ।’
पर्यटकहरुलाई टिकाइ राख्नका लागि नेपालगन्ज आसपास अझै सम्म पर्यटकीय स्थलहरु छैनन् । जानकारहरु भन्छन्, ‘बाँके राष्ट्रिय निकुन्जले पर्यटकहरुको बसाइलाई नेपालगन्जमा लम्व्याउन सकिन्छ ।’ भाष्कर काफ्ले भन्छन, ‘अब होटलहरुले समेत पर्यटकीय प्रचार प्रसारका लागि बजारीकरण गर्नुपर्छ । उहि पुरानो ढाँचाले त अब होटलहरु संचालन गर्न सकिदैन ।’