बाँकेका क्याम्पसका विद्यार्थी नेतृत्व रोज्ने तयारीमा

स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पसमा विद्यार्थीहरुको आधिकारिक साझा रुपमा प्रतिनिधित्व गर्ने संस्था हो । क्याम्पसमा विद्यार्थीका गुनासा, समस्यालाई आधिकारिक रुपमा उठाउने र त्यसलाई समाधानसम्म पुर्याउने दायित्व स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को हुन्छ । क्याम्पसमा हुने प्रशासनिक गतिविधिमा समेत विद्यार्थीको तर्फबाट स्ववियूको दरिलो उपस्थिति हुने गर्दछ ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज मध्यपश्चिमकै अग्रणी क्याम्पसका रुपमा रहेको छ । तर, यसै क्याम्पस भित्र विद्यार्थीहरुको साझा संगठनका रुपमा रहेको स्ववियु दशक भन्दा बढीदेखि निष्क्रिय अवस्थामा रहेको छ । अन्तिम पटक २०६५ सालमा स्ववियु निर्वाचन भएको थियो । २०७० सालमा स्ववियु निर्वाचन हुने भनिएपनि देशभरीका त्रिवि क्याम्पसमा स्थगित भयो । २०७३ सालमा केही क्याम्पसमा निर्वाचन भए । तर, केही क्याम्पसमा विद्यार्थी र अन्य कारणले रोकियो । मब क्याम्पस नेपालगन्जमा पनि त्यसबेला निर्वाचन हुन सकेन ।
‘लामो समयदेखि क्याम्पसमा विद्यार्थीको साझा नेतृत्व हुन सकेन’, अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह भन्छन्, ‘अब त्यो अवसर आएको छ, यो विद्यार्थीका लागि उत्सव जस्तै हो ।’ स्ववियुको महत्व बुझेका विद्यार्थी नेता छान्न आतुर रहेपनि ग्यापका कारण क्याम्पसका धेरै विद्यार्थीले स्ववियु बारे सुनेर मात्रै बिदा भए । ‘स्ववियु किन र केका लागि भन्ने धेरै विद्यार्थीहरुले देख्नु भएन’, अध्यक्ष शाह भन्छन्, ‘हामी क्याम्पसका विद्यार्थीलाई स्ववियुको महत्व बुझाउँछौं ।’
क्याम्पसका विद्यार्थीहरुको आधिकारिक संस्था स्ववियु नेतृत्वविहीन हुँदा बेथिति मौलाएको धारणा राख्छन् नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश देवकोटा । ‘लामो समय स्ववियु आधिकारितामा नरहँदा विद्यार्थीहरुले त्यसबारे चासो राख्न छोडिसकेका छन्’, विद्यार्थी नेता देवकोटा भन्छन् । उनी क्याम्पसलाई व्यवस्थित रुपमा अगाडि बढाउन स्ववियुको महत्वबारे अब विद्यार्थीलाई बुझाउने योजना रहेको बताउँछन् ।
लामो समय क्याम्पसमा विद्यार्थी संगठनहरु पनि खासै सक्रिय भएनन् । स्ववियु निर्वाचन नहुँदा क्याम्पसमा विद्यार्थी संगठनहरुको क्रियाशिलता पनि आधिकारिकतामा मात्रै सीमित रह्यो । कुनै विवाद हुँदा विद्यार्थी संगठन एकठाउँ जुटेपनि अन्य बेलामा खासै चासो राखिएन । निर्वाचन अघि क्याम्पसका हरेक फ्याकेल्टीमा सबै जसो विद्यार्थी संगठनले आफ्ना इकाइहरु बनाएर सक्रिय पाथ्र्ये । तर, अहिले भएका संगठन निष्क्रिय र नयाँ इकाइहरु संगठित छैनन् ।
‘स्ववियु निर्वाचन केन्द्रित गतिविधिका लागि रणनीति बनाइरहेका छौं’, नेविसंघ मब क्याम्पस इकाइका कार्यवाहक सभापति देवकोटाले भने, ‘केही दिनभित्र विद्यार्थी भेटघाट र अन्तरक्रियाले तिव्रता पाउनेछ ।’ अनेरास्वयुवि बाँके अध्यक्ष मोहित शाहले पार्टी एकीकरण भएकाले जिल्लामा पनि संगठनको संयुक्त टिम बनाएर निर्वाचन केन्द्रित हुने बताउँछन् । ‘केही दिनमै संयुक्त टिम घोषणा गरी स्ववियुमा केन्द्रित हुनेछौं’, उनले भने । फागुन १४ गतेसम्म निर्वाचनको तिथि रहेकाले बिस्तारै क्याम्पसमा चहलपहल बढ्छ ।
महेन्द्र बहुमुखी क्याम्पस बिबिएस प्रथम बर्षमा अध्ययनरत् विष्णु प्रसाद न्यौपाने विद्यार्थी राजनीतिक बुझेका विद्यार्थीहरु स्ववियु निर्वाचनको प्रतिक्षारत् रहेको बताउँछन् । उनी भन्छन्, ‘क्याम्पसमा आगामी नेतृत्वबारे चर्चा सुरु भैसकेको छ ।’ न्यौपानले क्याम्पसले प्रशासन जिम्मेवार भएर निर्वाचनका प्रक्रियाहरु समयमै सुरु गर्ने विश्वास व्यक्त गर्छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा करिब ४ हजार विद्यार्थी रहेका छन् । बाँकेमा रहेको नर्सिङ क्याम्पस नेपालगन्ज, खजुरा स्थित ज्ञानोदय क्याम्पस र राप्तीपारीको सिद्धेश्वरी बहुमुखी क्याम्पस स्ववियु निर्वाचन हुनेछ । लामो समय स्ववियु आधिकारिकतामा नरहँदा विद्यार्थीहरुमा त्यसप्रति मोहभंग हुनु स्वभाविक रहेको विद्यार्थी नेताहरु बताउँछन् । ‘विद्यार्थीले बुझेपछि पहिलेकै रौनक स्ववियु निर्वाचनमा देखिनेछ’, विद्यार्थी नेता भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया