आसन्न आठौं राष्ट्रिय खेलकुदका लागि बाँकेको कोहलपुरमा क्रिकेट ग्राउण्ड तयार भएको छ । पुरुषतर्फको राष्ट्रिय प्रतियोगिता सञ्चालनको लागि मैदान तयार भएको हो । ‘मैदान खेल्न लायक भयो’, प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको छेउमा प्राक्टिस पिच निर्माणमा सक्रिय मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले दैनिक नेपालगन्जसँग भने, ‘यो पश्चिम नेपालकै शानका रुपमा तयार गरिनुपर्छ ।’
क्रिकेट क्लब अध्यक्ष थापासँग मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओली उत्साहित हुँदै भने, ‘कोहलपुर क्रिकेट मैदान त्यति सजिलै तयार भएको होइन ।’ उनले केही महिना अघिका विवाद सम्भंmदै भने, ‘मलाई नचिनेर कोहलपुर क्रिकेट मैदानको वेवास्ता भयो भनेर आलोचना गर्नेहरु नै अहिले मैदान निर्माणमा सक्रिय हुनुहुन्छ ।’
कोहलपुर क्रिकेट मैदान खेल्न लायक बनिसक्दा डेढ करोडबढी खर्च भैसकेको छ । ‘मैदानका नाममा खाल्टाखुल्टी भएको डाँडो मात्र थियो’, अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘डेढ करोड रुपैयाँ खर्च गरिसक्दा खेल्न लायक बनेको छ ।’ ओलीले पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता निश्चित गरिसकिएको जानकारी दिंदै भने, ‘अन्तर्राष्ट्रिय स्तरको पिच तयार भएको छ, बाँकी मैदान काम चलाउन योग्य भैसकेको छ ।’
राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा प्रस्ताव गरेको कोहलपुर क्रिकेट मैदानमा माटो पटानका सुरुमा २५ लाख रुपैयाँ छुट्याएको थियो । ‘त्यसपछि तटबन्ध र मैदान स्तरोन्नतीका लागि ३० लाख रुपैयाँ छुट्यायौं’, अध्यक्ष ओलीले पिचका लागि मात्रै १० लाख बजेट खर्च भएको जानकारी दिंदै भने, ‘मैदान संरक्षणका लागि ९० लाख रुपैयाँ खर्च गरी पर्खाल लगाइएको छ ।’ पर्खालसँगै मैदानको चार विगाह १८ कठ्ठा दुई धुर क्षेत्रफलको जग्गा पूर्ण रुपमा खेलकुदको स्वामित्वमा आएको जानकारी दिंदै अध्यक्ष ओलीले त्यसको संरक्षण र विकासको दायित्व स्थानीय सरकारले लिने विश्वास व्यक्त गरे ।
‘प्रतियोगितापछि मैदानको थप स्तरोन्नती गर्न ग्रेडिङ आवश्यक छ’, मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष थापाले कोहलपुर नगरपालिका, नगर विकास समिति र कोहलपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा मैदान स्तरोन्नतीका लागि सहयोग प्राप्त भैरहेको जानकारी दिंदै भने । थापाका अनुसार, क्रिकेट मैदान बाहिरको तारबार नगरपालिका लगायतको आर्थिक सहयोगमा सम्पन्न भैसकेको छ । ‘यसले नेपालगन्ज र कोहलपुरलाई जोड्छ’, थापाले बाँके जिल्लाको महत्वपूर्ण खेलकुद मैदानका रुपमा कोहलपुर क्रिकेट मैदान तयार हुँदै गएकोमा खुशी व्यक्त गर्दै भने, ‘विभिन्न देशमा कयौं किलोमिटर टाढा प्राक्टिसका लागि खेलाडीहरु पुग्छन्, यहाँ त १६ किलोमिटर मात्रै छ ।’ थापाले आठौं सँगै कोहलपुर क्षेत्रका क्रिकेट प्रेमीहरुमा ठूलो उत्साह देखिएको प्रतिक्रिया पनि दिए ।
खेलकुद विकास समितिका अध्यक्ष ओलीका अनुसार, आठौंमा महिला तर्फको क्रिकेट प्रतियोगिता भने लमही खेलमैदानमा हुनेछ । ‘त्यसका लागि ७५ लाख रुपैयाँ राखेपले पूर्वाधारमा खर्च गरेको छ’, लमही क्रिकेट मैदानबारे जानकारी दिंदै अध्यक्ष ओलीले भने, ‘तर, मैदानको स्तरोन्नतीका लागि लमही नगर विकास समितिले मात्रै विभिन्न चरणमा चार करोड लगानी गरिसकेको छ ।’
कोहलपुर क्रिकेट मैदानका लागि स्थानीय सरकारले लमहीबाट सिक्नु पर्ने धारणा राख्दै अध्यक्ष ओलीले भने, ‘राखेपले कोहलपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक स्टेडियम निर्माण गर्न डिपिआर तयार गरिसकेको छ ।’ सबै पूर्वाधार तयार गर्न ६८ करोड खर्च लाग्ने बिस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको जानकारी दिंदै अध्यक्ष ओलीले भने, ‘स्थानीय सरकारको इच्छा शक्ति र पहलले यो डिपिआरले कार्यान्वयन पाउन सहजता ल्याउँछ ।’ कोहलपुरमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सहितको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिमय निर्माणका लागि डिपिआर तयार गरिएको हो । ‘यसले बाँकेकै भविष्य उज्यालो बनाउन सक्छ’, अध्यक्ष ओली र थापाले उज्यालो अनुहार लगाउँदै खेलमैदानमा भने ।