खजुरामा ढाई करोडको भलिबल स्टेडियम, आधा दर्जन खेल मैदानको स्तरोन्नती

खेलकुद हबका रुपमा विकास गर्ने घोषणा गरेको खजुरा गाउँपालिकामा यो बर्षमात्रै साढे २ करोड बढीका पूर्वाधारहरु निर्माण भैरहेका छन् । आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर आधुनिक भलिबल स्टेडियम निर्माण सहित आधा दर्जन खेल मैदानहरुको स्तरोन्नती गरिएको हो ।

 
‘स्थानीय सरकारले पनि खेल मैदान र खेल गतिविधिलाई प्राथमिकतामा राखेको छ’, क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले गाउँपालिकाको पछिल्लो घोषणा सम्झदै भने । गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले आठौंको सेरोफेरोमा खजुरालाई बाँकेका गाउँपालिकाहरु मध्ये खेलकुद हबका रुपमा विकास गर्ने घोषणा गरेका थिए । ‘नमूना गाउँपालिका बनाउने हाम्रो अभियानमा खेलकुद पनि उच्च प्राथमिकतामा छ’, कक्षपतिको भनाइ थियो ।

 
आसन्न आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर खजुरा–२ सितापुरमा भलिबल स्टेडियम निर्माण कार्य अन्तिममा पुगेको छ । १ करोड बजेट पुगिसकेको स्टेडियममा थप १ करोड ५० लाख रुपैयाँ माग गरिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिए । आठौंलाई मध्यनजर निर्मार्णाधिन दर्जनौ परियोजना मध्ये भलिबल स्टेडियम उत्साहजनक ढंगले निर्माण भैरहेको पूर्वाधार हो । त्यसका लागि धनीराम ओलीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति अहोरात्र खटिइरहेको छ ।

 
आठांैमा महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्र भलिबल स्टेडियम सितापुरमै आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद्को योजना छ । ‘त्यसैले माघ मसान्तभित्र पूर्वाधारलाई सम्पूर्ण रुपमा निर्माण कार्य सक्दैछौं’, अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘उत्साहजनक ढंगले काम भैरहेको छ ।’

 
क्षेत्रीय खेलकुद विकास समितिका अनुसार, स्टेडियमको पर्खाल लगाउने काम धमाधम भैरहेको छ । दर्शक प्याराफिट निर्माण कार्य सकिएको छ । ‘भिआइपी प्याराफिट निर्माण कार्य सुरु भएको छ’, राखेपका सदस्य सचिव केशव कुमार विष्टले पछिल्लो पटक भलिबल स्टेडियमको निर्माण कार्यको अनुगमनका क्रममा भिआइपी प्याराफिटको आवश्यकता औंल्याएपछि काम अगाडि बढाइएको हो । ‘३ हजार ५ सय दर्शक क्षमताको प्याराफिटसँगै १ सय भिआइपी अट्ने प्याराफिट थप निर्माण कार्य अगाडि बढाइएको छ’, ओलीले भने ।


शुक्र भलिबल स्टेडियम देशकै उत्कृष्ट खेलकुद भेनुका रुपमा विकसित गर्ने योजना स्थानीयबासीसँगको छ । ‘वास्तवमा भलिबल एकेडेमीको हाम्रो सुदूर योजनामा स्टेडियमले महत्वपूर्ण इट्टा थपेको छ’, नेपालगन्जमा प्रधानमन्त्री कप आयोजना गर्दै आएका बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘आठौंले हाम्रा लागि उत्साहजनक अवसरको सिर्जना गरिदिएको छ ।’ स्थानीयबासी समेत रहेका अध्यक्ष ठकुरीले आगामी प्रधानमन्त्री कप सितापुर स्थित शुक्र भलिबल स्टेडियममै गर्ने बारे सोंच बनाइरहेको खुलासा पनि गरे ।

 
दुई वटा प्रतियोगिता एकसाथ खेल्न मिल्ने गरी भलिबल कोर्ट निर्माण गरिएका छन् । त्यसका लागि छुट्टाछुट्टै दुई वटा गेट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय, चेन्जिङ्ग रुम, अफिस रुम निर्माण कार्य अन्तिममा पुगेको छ । ‘ढलान सकेर प्लाष्टरको काम अगाडि बढेको छ’, अध्यक्ष ओलीले मैदानमा सुर्की (इट्टाको धुलो) हाल्ने प्रक्रिया सुरु भएको जानकारी दिंदै भने, ‘माघ मसान्तसम्म निर्माण कार्य पूरा हुनेछ ।’

खजुरामा ‘प्राक्टिस भेनु’
खजुरा गाउँपालिका भित्र आधा दर्जन खेल मैदानलाई स्तरोन्नती गरिएको छ । खजुरा–२ सितापुरमा सितापुर स्पोर्टस् टे«निङ्ग सेन्टर निर्माण गरिएको छ । ‘खजुरा क्षेत्रका विद्यालयहरुमा रहेका दर्जनौं खेलकुद मैदानहरुलाई खेलकुद मैत्री बनाउने कुरामा स्थानीय सरकारदेखि खेलकुद प्रशासनलाई ध्यानाकर्षण गराइएको छ’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले समग्रमा आठौंको सेरोफेरोले खेलकुद क्षेत्रका लागि माहोल सिर्जना गरोस् भन्ने उद्देश्य राखिएको धारणा राख्दै भने ।

 
अध्यक्ष ओलीका अनुसार, सितापुर स्पोर्टस् टे«निङ सेन्टरलाई आठौं राष्ट्रिय खेलकुदको प्राक्टिस भेनुका रुपमा पनि अघि सारिएको छ । खजुरा–२ कै नेरा पशुपति खेल मैदान, खजुरा–३ को नेराप्रावि र नेरा शान्ति खेल मैदान, खजुरा ४ स्थित मनकामना विद्यालयको खेल मैदान र नेराप्रावि डि गाउँ खेल मैदानलाई आठौंको प्राक्टिस भेनुका रुपमा खेल मैदान स्तरोन्नतीका लागि बजेट दिइएको हो । बाँकेमा विभिन्न १३ वटा प्रस्तावित खेल मैदान स्तरोन्नती गरी आठांैको खेल मैदानका रुपमा विकसित गरिएको छ । त्यसका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष ओलीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया