सुर्खेतका व्यवसायीहरुले बाँके, बर्दिया कर्णाली प्रदेशमा मिसिन चाहेमा त्यसका लागि पहल गर्ने बताएका छन् । व्यवसायिक समस्याका बारेमा छलफल गर्न नेपालगन्ज आएको सुर्खेत उद्योग वाणिज्य संघको टोलीले नेपालगन्ज उद्योग वाणिज्य संघसँगको भेटमा सुर्खेतको व्यवसायिक क्षेत्र बाँके, बर्दियालाई कर्णालीमा स्वागत गर्न तयार रहेको बताएको हो ।
बाँके, बर्दिया कर्णाली प्रदेशमा मिसिनु आर्थिक दृष्टिकोणले लाभदायक हुने धारणा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले राखेका थिए । ‘बाँके र बर्दिया तयार हुनुपर्छ हामी प्रक्रियाका लागि पहल गर्न तयार छौं’, उनले भने ।
प्रदेश सरकारले घोषणा गर्ने प्रदेश राजधानी बाँके, बर्दियालाई अपायक भएमा कर्णालीमा मिसिनु पर्नेबारे चर्चा भैरहँदा सुर्खेतका व्यापारीहरुले आर्थिक दृष्टिकोणले पनि त्यो उपयुक्त हुने धारणा राखेका हुन् । ‘कर्णाली विना बाँके, बर्दिया बलियो हुन सक्दैन र बाँके, बर्दिया विना कर्णाली कमजोर छ’, दुवै एकअर्काको आवश्यकता रहेको छलफलमा सहभागी व्यवसायीहरुको धारणा रहेको थियो ।
छलफलमा कर्णाली प्रदेशसँग नेपालगन्जको व्यवसायिक सम्बन्ध ऐतिहासिक रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका थिए । उनले बाँके र बर्दियाबासी आफ्नो भविष्यबारे चिन्तित रहेको बताएका थिए । ‘दुवै जिल्लाले छिट्टै कसरी अगाडि बढ्ने निर्णय गर्नेछ’, अध्यक्ष वैश्यले भने, ‘हामीलाई अपायक पर्ने स्थानमा प्रदेश राजधानी तोकिए प्रदेश ५ छाड्नुको विकल्प छैन ।’ अध्यक्ष वैश्यले बाँके, बर्दियाले कर्णालीमा मिसिनका लागि आन्दोलन गर्नुपर्ने स्थितिमा सघाउन आग्रह गरेका थिए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष रावतको नेतृत्वमा नेपालगन्ज आएको २६ सदस्यीय टोलीले व्यवसायिक समस्यामा संगठित भएर अगाडि बढ्नका लागि आव्हान गरेको थियो । नेपालगन्ज र सुर्खेतको औद्योगिक तथा व्यवसायिक अवस्थाबारे समेत छलफल भएको कार्यक्रममा सुर्खेत वाणिज्य संघको टोलीले नेपालगन्ज भन्सारमा कडाई नहुँदा सुर्खेतको समेत व्यापार चौपट भएको बताएका थिए । सुर्खेतका व्यवसायिक क्षेत्रका अगुवाहरुले नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई नेपालगन्ज भन्सारमा कडाईका लागि दबाब सिर्जना गर्न आग्रह समेत गरेका थिए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, सल्लाहकार इश्वर पोखरेल लगायत उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।
‘सलाम ठोकेर छाड्न सक्छौं प्रदेश’
प्रदेश ५ को नाम र स्थायी राजधानीका लागि सुझाव संकलन गर्न प्रदेश सांसदहरु टोली बनाइएको छ । प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि प्रदेश संसदबाट गत साउनमा गठित विशेष समितिको बैठकले कार्यविधि पारित गरेअनुसार सांसदहरू जिल्ला जाने भएका हुन् । समितिको बैठकले १२ जिल्लामा जान ६ वटा संसदीय टोली बनाएको हो । जसमा १० जना लुम्बिनीका र ५ जना अन्य जिल्लाका प्रदेशसभा सदस्य रहेको बताइएको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठित समितिमा बाँकेबाट प्रदेशसभा सदस्यको प्रतिनिधित्व गराइएको छैन । महत्वपूर्ण संसदीय टोलीमा बाँकेलाई छुटाइएपछि बाँकेमा छलफल नै हुन नदिने तयारीमा बाँकेका प्रदेश सांसदहरुले गरेका छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य आइपी खरेलले प्रदेशसभामा समितिमा बाँकेलाई छुटाइएको प्रति आक्रोश व्यक्त गर्दै बाँके, बर्दियाको राष्ट्रिय महत्व बुझ्न चेतावनी दिएका थिए । त्यसक्रममा प्रदेश सभा सदस्य खरेलले बाँके र बर्दियाको महत्व प्रदेश ५ नरहेको भए प्रदेशसभाबाट त्यो निर्णय गर्न चुनौति समेत दिएका छन् । आफ्नो सम्बोधनमा खरेलले भनेका छन्, ‘बाँके र वर्दिया दुई जिल्ला प्रदेश पाँचको आवश्यकता भित्र पर्दैन भनेर यो सम्माननीय सदनले निर्णय गरोस् हामी सर्वसम्मत सलाम ठोकेर मुठ्ठी कसेर जान्छौं ?’
प्रदेशसभा सदस्य खरेलले प्रदेशको राजधानी बाँके, बर्दियालाई पायक पर्ने स्थानमा हुनुपर्ने बताएका छन् । उनले बाँकेमा राजधानी हुनुपर्छ भनेर कहिल्यै आन्दोलन नगरेको र जिल्लाका जनतालाई पनि पायक पर्ने स्थानमा राजधानी हुनुपर्छ भनेर सम्झाएको बताए । उनले काँग्रेसलाई बुटवलमा राजधानी हुनुपर्छ भनेर आन्दोलन नगर्न सुझाव दिएका थिए ।