आठौं राष्ट्रिय खेलकुद २०७५ को ब्यानर टाँसेपछि मिसनमा सक्रिय राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट यति लामो शायदै खटेका थिए होलान्, जति आइतबार नेपालगन्ज रंगशालाको खेलकुद मैदानमा खटिए ।
पछिल्लो एक महिनामात्रै चौथो पटक नेपालगन्ज आइपुगेका सदस्य सचिव विष्ट सरासर नेपालगन्ज विमानस्थलबाट रंगशाला पुगेका थिए । विहान साढे ९ बजे रंगशालाको मैदानमा पुगेका सदस्य सचिव विष्टले ठिक १२ घण्टापछि मैदान छोड्दै गर्दा दैनिक नेपालगन्जसँग भने, ‘आज धेरै महत्वपूर्ण काम भएका छन् ।’ त्यसबीच, उनी एक मिनेटपनि नेपालगन्ज रंगशाला परिसर छोडेनन् ।
‘यसअघि आउँदा साइटका लोकेशन भिजिटदेखि लन्चका लागि होटल पुग्ने गर्नुहुन्थ्यो’, सदस्य सचिव विष्टसँगै मैदानमा खटेका क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘आजको पुरै समय रंगशालामा बित्यो ।’
नेपालगन्ज रंगशाला अर्थात् मिसन आठौंको मुख्य केन्द्र । राष्ट्रपति ऐतिहासिक र अभूतपूर्व ढंगले उद्घाटन योजना बनाइएको मुख्य पूर्वाधार नै निर्माण कार्य नसकिएपछि घोषित मिति र त्यसपछिको प्रस्तावित मिति पनि सारेपछि आठौंलाई लिएर तमाम प्रश्नहरु उठाइएका छन् । त्यसबीच, सदस्य सचिव विष्टले मिसन आठौंको ‘डेडलाइन’नै बनाएर नेपालगन्जमा सचिवालय स्थापना गरे । अनि सुरु भयो सदस्य सचिव विष्टको नेपालगन्ज ‘दौरा’ ।
‘यसरी दुई महिनाअघि काम किन हुन सकेन ?’, सदस्य सचिव विष्टलाई दैनिक नेपालगन्जले फिल्डमै प्रश्न तेस्र्यायो । ‘समस्याका धेरै तगारा आइलागे’, विष्टले दुई बर्षअघि नेपालगन्ज केन्द्र बनाएर साविकको मध्यपश्चिममा आठौं आयोजना गर्ने घोषणादेखि घोषित मिति स्थगित गर्नेसम्मका समयान्तरमा भएका समस्या सुनाए । बजेट विनियोजनदेखि काम गर्नका अप्ठ्यारासम्म आइपुग्दा नेपालगन्ज रंगशाला स्तरोन्नतीमा अत्यावश्यक ढुंगा, गिट्टी, बालुवाकै अभाव विद्यमान छ । निर्माण ठेक्का लिएका ठेकेदारको गुनासो थियो, ‘दाङदेखि कैलालीसम्मबाट निर्माण सामाग्री ल्याएर काम गर्नुपरेको छ ।’
आइतबार दिनभर आठौंको सचिवालय र वरिपरिका भौतिक पूर्वाधार निर्माणमा खटेका सदस्य सचिव विष्टले सेन्थेटिक ट्रयाक निर्माणका लागि थप ६ करोड बजेट विनियोजन गरिएको जानकारी दिंदै टेण्डर प्रक्रिया अगाडि बढाउने निर्णय सुनाए । विष्टले पुरानो दर्शक प्याराफिटलाई मर्मत कार्य तत्काल सुरु गर्न नयाँ टिम परिचालन गर्ने निर्णय मात्रै लिएनन् रंगशालालाई उज्यालो पार्ने हाइम्याक्स लाइट जडानको प्रक्रिया अगाडि बढाए ।
‘तत्काल सेन्थेटिक ट्रयाक र हाइम्याक्स लाइट जडानको काम अगाडि बढ्छ’, नेपालगन्ज रंगशालालाई देशकै महत्वपूर्ण खेलकुद केन्द्रका रुपमा विकास गर्न आठौंले महत्वपूर्ण भूमिका खेलिरहेको संकेत दिंदै राखेपका सदस्य सचिव विष्टले भने, ‘रंगशालाका मैदान नेपालकै उत्कृष्ट बनाइँदैछ ।’ मैदानमा जिओटेक्सटायल विछ्याउने काम सकेर त्यसमाथि बलौटे माटो राखिएको छ । त्यसमूनि ग्राभेल, बालुवा र ठाउँठाउँमा भूमिगत पाइप विछ्याउने काम सकिइसकेको छ ।
नेपालगन्ज रंगशाला मैदानको सेरोफेरोमा मात्र १९ करोडको भिआइपी प्याराफिट निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको छ । ट्रयाक एण्ड फिल्डमा ६ करोड रुपैयाँ खर्च भैरहेको छ । ‘अब सेन्थेटिक ट्रयाकका लागि ६ करोड बजेट आयो’, उत्साहित हुँदै अध्यक्ष ओलीले भने, ‘दुई÷तीन दिनमै मैदानमा घाँस रोप्ने काम अगाडि बढ्छ ।’ ओलीका अनुसार, बिहीबारबाट मैदानमा घाँस रोप्ने काम सुरु गर्ने समझदारी भैसकेको छ ।
यतिबेला नेपालगन्ज रंगशालाका चौतर्फी पूर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको छ । प्याराफिट सहितको पौडी पोखरी, सुटिङ रेन्ज र भारोत्तोलन एकेडेमी निर्माण कार्य अन्तिममा छ । कबर्ड हलको स्तरोन्नती तिव्र रुपमा भैरहेको छ । ‘दैनिक २५ वटा पिलर ढलान कार्य अगाडि बढ्ने व्यवस्था मिलाइएको छ’, आइतबारसम्म दैनिक १५ वटा पिलरमा काम भैरहेकोमा सदस्य सचिव विष्टले थप जनशक्ति र प्रविधिको प्रयोग गर्न निर्देशक दिएको जानकारी दिंदै प्राविधिकहरुले भने, ‘सार्वजनिक शौचालयका बारेमा पनि रहेको अन्योल समाप्त भएको छ ।’
मिसन आठौंको डेडलाइनमा केन्द्रित सदस्य सचिव विष्टले सम्पूर्ण जनशक्तिलाई नेपालगन्ज रंगशालामा केन्द्रित गरेका छन् । आइतबार दिनभर सचिवालय सम्हालेका विष्टले आठौंको ऐतिहासिक स्मरण रहने गरी ओलम्पिक टर्चको स्तम्भ निर्माण कार्यका लागि स्थान र डिजाइनको टुंगो लगाएका छन् । ‘हात्तीको सँुडमा ज्वाला बाल्ने डिजाइनलाई स्वीकृत गरेका छौं’, सदस्य सचिव विष्टले आठौंको मस्कट हात्ती भएकाले त्यसैको सुँडलाई ओलम्पिक टर्चका रुपमा डिजाइन गरिने जानकारी दिंदै भने ।
बाँकेको नेपालगन्जमा मात्रै होइन कोहलपुर र खजुरामा पनि आठौंलाई मध्यनजर खेलकुदका भौतिक पूर्वाधार निर्माण भैरहेका छन् । झण्डै १ सय करोडको खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण भैरहँदा त्यसैमा आठौंको प्रतियोगिता सञ्चालनको चुनौतिको पहाड सदस्य सचिव विष्टले उठाउन खोज्दैछन् । ‘भएका पूर्वाधारमा प्रतियोगिता आयोजना गर्नु र पूर्वाधार निर्माण गरेर मिसन समयमै पूरा गर्नु अत्यन्तै फरक कुरा हो’, विष्टले दुई बर्ष लगाएर पनि अन्तिममा भैरहेको चटारोबारे सोधिएको प्रश्नमा भने, ‘नेपालको निर्माण सम्बन्धी नीति, बजेट व्यवस्थापनका समस्या र प्रक्रिया आदीले नयाँ भौतिक पूर्वाधार तयार गरेर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने डेडलाइन दुई बर्ष अपुग हो ।’ यद्यपि, विष्ट भन्छन्, ‘२०७५ भित्रै नेपालगन्जमा आठांैको आयोजना कसैले रोक्न सक्दैन ।’ सम्बद्ध स्रोतका अनुसार, फागुन २५ गतेबाट आठौं आयोजनाको सम्भावनाबारे प्रक्रिया अगाडि बढाइएको छ ।