नेपालगन्ज सुर्खेतरोडको धम्बोझीचोकमा निर्माण गर्ने भनिएको आकाशे पुल सम्भाव्यता अध्ययनका लागि परीक्षण गर्न मंगलबार माटो निकालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आकाशे पुल निर्माणका लागि डिपिआर प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझी चोकमा ‘फ्लाइओभर ब्रिज’ बनाउने निर्णय गत भदौंमा गरेको थियो । उपमहानगरपालिका नगर कार्यपालिका बोर्ड बैठकले गत भदौंमा धम्बोझी चोकमा फ्लाइओभर ब्रिज बनाउने निर्णय गर्दै त्यसका लागि डिपिआर बनाउने तयारी गरेको थियो । उपमहानगरपालिकाले फ्लाइओबर ब्रिजका लागि तत्काल १ करोड बजेट छुट्याइसकेको छ ।
उपमहानगरपालिकाले नेपालगन्ज–१४ भवानीयापुरमा करोडौं लागतको बहुउद्देश्यीय नगर भवन निर्माणको निर्णय पनि गरेको छ । ‘त्यसका लागि केन्द्र सरकारले २८ करोड बजेट उपलब्ध गराउने सुनिश्चित भैसकेको छ’, चार विगाह क्षेत्रफलमा बहुउद्देश्यीय प्रकृतिको अत्याधुनिक नगर भवन बनाइन लागेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।