खजुरामा औद्योगिक मेला तयारी

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म बाँकेको खजुरागाउँपालिकामा औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन एवं तीनका उत्पादन बजारीकरण, प्रोत्साहनका लागि आयोजना गर्न लागेको औद्योगिक व्यापार मेला नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको चौथो संस्करण हो । घरेलु तथा साना उद्योगका लागि केन्द्रका रुपमा रहेको खजुरामा महोत्सव भने पहिलो पटक आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
‘खजुरा क्षेत्रको पर्यटकीय पहिचानमा समेत सघाउ पुगोस् भन्ने उद्देश्यले खजुरा गाउँपालिकाको मुसवेटवा बाबाको मजार परिसरमा महोत्सव आयोजना गर्ने निर्णय गरियो’, महासंघका सचिव मधु कुमारी खड्काले दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यसको भव्यता र सफल आयोजनाका लागि सचिवालय निर्माणदेखि उपसमितिहरु गठनसम्मका प्रक्रिया अगाडि बढाइँदैछ ।’ बुधबार महासंघका जिल्ला अध्यक्ष समर बहादुर खत्रीको अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर भण्डारी, केन्द्रीय सदस्य कुँवेर रिजाल, पूर्व अध्यक्ष जीवनाथ सापकोटा लगायत कार्यसमितिका पदाधिकारीहरु बीच बसेको विशेष बैठकले खजुरामा महोत्सव गर्ने टुङ्गो लगाएको हो ।


यसअघि आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नेपालगन्जको सडक डिभिजन परिसरमा आयोजना गर्ने प्रस्ताव गरिएपनि नेपालगन्ज उद्योग वाणिज्य संघले त्यसलगत्तै औद्योगिक महोत्सव आयोजना गर्ने तयारी गरिरहेकाले नजुधाउने योजना बनाइएको महासंघको भनाइ छ । ‘उत्पादन, श्रम र सिर्जना मेरै नेपालको भन्ने मूल नाराका साथ स्वदेशी श्रम, सीप र उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आयोजनाको उद्देश्य हो’, महासंघका सचिव खड्काले १ सय ७५ देखि २ सयसम्म स्टल राख्ने योजना गरिएको जानकारी दिंदै भनिन्, ‘मुसवेटवा बाबाको परम्परागत महत्व र खजुराको इतिहासलाई देशैभरी पुर्याउन पनि आयोजना सहयोग पुग्ने विश्वास लिएका छौं ।’
महासंघमा बाँकेका ६ हजार बढी साना उद्योग मध्ये २ हजार संगठित छन् । ‘यो नाफा कमाउने उद्देश्य भन्दा पनि हाम्रा उद्योगका उत्पादनहरुलाई उपभोक्ता माझ पहिचान दिने कुरामा बढी केन्द्रित हुन्छौं’, सचिव खड्काले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया