बाँकेको खजुरा स्थित क्यान्सर अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । अस्पतालको जननी संस्था, प्रखर परोपकार मिसन नेपालले बुधबार अस्पतालबारे औपचारिक धारणा सार्वजनिक गर्दै सरकारलाई अस्पताल सञ्चालन प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको हो ।
‘अस्पताल सञ्चालन प्रक्रिया अलमलमा परेको र डेडलकको अवस्थामा रहेकाले यो अवस्थाको अन्त्य गरी अस्पतालको भविष्य सुनिश्चित गर्न’ मिसन नेपालले माग गरेको छ । प्रखर परोपकार मिसन नेपालका कार्यवाहक अध्यक्ष शिवराज श्रेष्ठले आम जनताले चन्दा सहयोग गरेको रकम र खजुराबासीको अथक प्रयास, खुन पसिनाबाट निर्मित क्यान्सर अस्पताललाई तत्काल सञ्चालनमा ल्याइ सेवा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘अस्पताल सञ्चालनमा ढिलाई गर्ने हो भने समुदायको सम्पत्ति फिर्ता गरे अस्पताल निर्माण सुरु गर्ने संस्था प्रखर परोपकार मिसन नेपाल अस्पतालसँग सहकार्य गरेर अस्पताल सञ्चालन गर्न तयार छ’, कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत भनेका छन् ।
अस्पताल निर्माण सुरु गर्ने संस्था प्रखरले क्यान्सर अस्पताललाई संघीय सरकार अन्तर्गत चलाउन उपयुक्त हुने लिखित सुझाव पनि पठाएको छ । ‘अस्पताल जसरी हुन्छ यथाशक्य सञ्चालनमा ल्याइनुपर्छ’, संस्थाका महासचिव राजेन्द्र आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘यो डेडलकको अवस्था धेरै दिन रहनु हुँदैन ।’
प्रखर परोपकार मिसन नेपालले २०६३ वैशाख १७ गते अस्पतालको शिलान्यास गरी आवश्यक रकम जुटाउन महायज्ञ सञ्चालन गरेको थियो । ‘जनताले महायज्ञमा बोलकबोल गरेको ५ करोड रकमबाट अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो’, श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘अस्पताललाई गठन आदेश मार्फत सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका रुपमा सञ्चालनका लागि अघि बढाइयो, तर अहिले सञ्चालन प्रक्रिया अलमलमा पारिएको छ ।’ उनले सरकारले अलमल गर्ने हो भने समुदायको सम्पत्ति फिर्ता गरिदिए प्रखरले नै समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने अठोट लिइएको बताए ।
प्रखरका सचिव सतिश निरौलाले निशर्त सरकारले आफुले गरेको प्रतिबद्धता अनुसार तत्काल सञ्चालन प्रक्रिया सुरु गर्न आफुहरुको माग रहेको बताए । अनाहकको किचलो र राजनीतिमा अस्पताललाई सिकार बनाइ नहुने प्रखरका पदाधिकारीहरुको भनाइ छ । केन्द्र सरकारको मातहतमा रही अस्पताललाई पूर्व योजना अनुसार नै सञ्चालनमा ल्याइनु पर्ने उनीहरुको माग छ ।
पछिल्लो पटक सरकारले मुलुकका ११ वटा मुख्य अस्पतालहरु मध्ये ९ वटालाई संघीय सरकार मातहत राख्ने र दुई वटा बारे निर्णय नलिएपछि विभिन्न सञ्चारमाध्यमहरुमा अस्पताल विघटनको चर्चा गर्न थालिएको छ । त्यसबारे पहिलो पटक धारणा सार्वजनिक गरेको प्रखरले ‘अस्पताल विघटनको हल्लाका पछाडि नलाग्न’ पनि कार्यवाहक अध्यक्ष श्रेष्ठको प्रेस विज्ञप्ति मार्फत बोलेको छ ।
खासगरी सरकारलाई अस्पताल विघटन गर्न लागेको आरोप लगाउँदै नेपाली काँग्रेसले केन्द्रीय रुपमा वक्तव्यबाजी थालेपछि अन्योलता बाहिर आएको हो । सरकारले भने क्यान्सर अस्पताल लगायतका दुई वटा अस्पताल सञ्चालन प्रक्रियाबारे निर्णय गर्न बाँकी रहेको बताउँदै आएको छ । ‘काँग्रेसले अनाहकको राजनीति गर्न खोजेको’ टिप्पणी गर्दै प्रखरका संस्थापक अध्यक्ष समेत रहेका खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा स्थित क्यान्सर अस्पताल नियमित ढंगले सञ्चालनमा रहेको र सरकारले अझ विशेष ध्यान दिएर अगाडि बढाउने कुरामा ढुक्क हुन अपिल गरेका छन् । ‘अनाहकको हल्लाको पछाडि नलागौं’, कक्षपतिले कुन मोडालिटिमा जाने भन्नेबारे छलफल चलिरहेकाले केही दिनमै निर्णय आउने बताए ।
‘अस्पताल सञ्चालनका लागि तत्कालीन विशेष कार्यदलले दिएको सुझावको आधारमा नयाँ मोडालिटिमा पनि जान सक्ने सम्भावना छ’, विघटित अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘यही बीच काँग्रेसले काठमाडौंमा सरकारको विरुद्धको अस्त्रका रुपमा क्यान्सर अस्पताललाई प्रयोग गर्न खोजेको हो ।’