आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस
१९९० मा आजकै दिन ठूलो विनाश निम्त्याउने भुकम्प आयो । उक्त दिनलाई राष्ट्रिय भुकम्प सुरक्षाका दिवसका रुपमा नेपालमा मनाइँदै आएको छ । २०७२ वैशाख १२ गते ७.८ रेक्टर स्केलको अर्को विनाशकारी भुकम्प आयो । जसमा हजारौं व्यक्तिको ज्यान गयो, कैयौं घाइते भए, अर्बौको सम्पत्ति क्षति भयो ।
भुकम्पले भौतिक क्षति गराएपनि त्यसले ज्यान लिंदैन । निर्माण गरिएका कमजोर भौतिक संरचनाका कारण अकालमा ज्यान गुमाउनु पर्छ । २०७२ सालको भुकम्पले आफैले निर्माण गरेका कमजोर संरचनाले आफ्नै ज्यान लिन सक्ने भन्ने सिकाएको छ । उक्त भुकम्प पछि सरकारले मापदण्ड बनाएर कडाईका साथ लागु गरेको छ भने सर्वसाधारणले पनि बलियो संरचनाले ज्यान जोगिनसक्ने बुझेका छन् । तर, व्यवहारमा अझै पनि घर बनाउँदा त्यसलाई पूर्ण रुपमा पालना गर्न कञ्जुस्याई गर्ने गरेको पाइन्छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राष्ट्रिय भवन संहिता २०६० तथा भवन सम्बन्धी परिमार्जित मापदण्डहरुलाई सहरी विकास मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा सबै स्थानीय तहमा सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक आवास, व्यवस्थित बसोबास प्रवद्धर्नको लागि वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ जारी गरेका छन् । स्थानीय तहले पनि स्थानीय परिवेश हेरेर भवन निर्माण संहिता बनाएका छन् । संहितामा भवन निर्माण गर्दा अपनाउनु पर्ने मापदण्ड स्पष्ट रुपमा लेखिएको छ । । ठूला, अग्ला भवनहरु बनाउँदा अनिवार्य माटो, भौगर्भिक परीक्षण र भूकम्पीय विश्लेषणसहितको प्रतिवेदन नक्सापासको अनुमतिका लागि आवश्यक हुने व्यवस्था गरिएको छ ।
नयाँ बन्ने भौतिक संरचना तोकिएको मापदण्ड अनुसार बनाउनुको विकल्प छैन । तर, दशकौं पुराना घरहरु मापदण्ड अनुसारका छैनन् । थोरै जग्गा तीन÷चार तल्ला सम्मका घरहरु रहेको नेपालगन्जमै देख्न सकिन्छ । भविष्यमा सानो भुकम्प आएपनि त्यस्ता घरहरु आफ्नै लागि पासो नबन्लान् भन्न सकिंदैन ।
भुकम्पको जोखिमलाई मध्यनजर नेपालगन्ज उपमहानगरपालिकाले आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रममा ‘संरचना बलियो बनाऔं, जीवनभर सुरक्षित होऔं’ भन्ने नीतिलाई अभियानका रुपमा अगाडि बढाउने उल्लेख गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बाटोको अवस्था हेरेर निश्चित क्षेत्रफल छाडेर मात्र घर बनाउन सकिने व्यवस्था गरेको छ । ‘घर निर्माण गर्दा भवन संहिता अनुसार सेट ब्याक र नक्सा अनिवार्य हो’, नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्मा भन्छन् ।
इन्जिनियर शर्मा कमजोर संरचनाले आफैलाई समस्यामा पार्न सक्ने भएकाले भौतिक संरचना निर्माण गर्दा बलियो बनाउनु पर्ने बताउँछन् । ‘भवन मापदण्डलाई मिचिए त्यो कानुनको उल्लंघन मात्रै होइन भविष्यमा आफ्नै लागि घातक पनि हुनसक्छ’, उनी भन्छन्, ‘नियम मिचेर बनेका संरचना कुनै पनि बेला उपमहानगरपालिकाले भत्काउन सक्छ ।’
घरधनीहरु घर निर्माण गर्दा आफु अनुकुल र सस्तो मापदण्ड अपनाउन खोज्छन् । डिजाइन अनुसार घर बनाउँदा महंगो पर्ने हुँदा आफ्नै योजना अनुसार घर बनाउने गरेको पाइने राजेश्वर शर्मा बताउँछन् । ‘बलियो बनोस् भन्ने चाहना सबैमा पाइन्छ तर, लगानी न्यूनीकरण गर्ने लोभमा उनीहरु त्यसो गर्दैनन्’, उनी भन्छन् ।
नेपाल इन्जिनियर्स एशोसिएसन नेपालगन्ज केन्द्रका अध्यक्ष ओम प्रकाश सापकोटा बलियो घर बनाउँदा, भवन संहिता पालना गर्दा महंगो पर्छ भन्ने भ्रम मात्रै भएको बताउँछन् । ‘इन्जिनियरहरुबाट डिजाइनमा दक्ष प्राविधिकबाट घर बनाउँदै बलियो हुन्छ’, उनी भन्छन्, ‘निर्माण सामाग्रीको सदुपयोग हुन्छ, खेर जाँदैन यसबाट लागत धेरै बढ्दैन ।’ ‘कमजोर संरचनाले कति जनधनको क्षति पुर्याउँछ भन्ने हामीले २०७२ सालको भुकम्पले सिकाइसकेको छ’, अध्यक्ष शर्मा भन्छन्, ‘आज सजग नहुँदा भविष्यमा आफै वा अरुलाई ठूलो नोक्सान हुनसक्छ ।’
भुकम्पबाट बच्नका लागि पहिले जानकारी गराइएका उपायहरु पनि सान्दर्भिक नभएको २०७२ सालको भुकम्पले पुष्टि गरेको छ । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता जानकारीका कारण २०७२ सालको भुकम्पमा धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन नसकेको उदाहरण भेटिएको थियो । वास्तवमा समय र परिस्थितपरक भूँईचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्न जरुरी देखिन्छ ।
‘विल्डिङ र भुकम्प सुरक्षा’ अन्तरक्रिया गरिंदै
राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसर पारेर आज बुधबार नेपालगन्जमा ‘विल्डिङ र भुकम्प सुरक्षा’ सम्बन्धी अन्तरक्रिया आयोजना गरिंदैछ । नेपालगन्ज उपमहानगरपालिका र नेपाल इन्जिनियर्स एशोसिएसन नेपालगन्ज केन्द्रले संयुक्त रुपमा अन्तरक्रियाको आयोजना गर्न लागेका हुन् ।
बाँके, बर्दिया लगायत यस क्षेत्रमा रहेका इन्जिनियर, कन्सल्टेन्ट र प्राविधिहरु बीच अन्तरक्रियाको आयोजना गरेको एशोसिएसनका अध्यक्ष ओम प्रकाश सापकोटाले जानकारी दिएका छन् । अन्तरक्रियामा नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्मा ,काठमाडौं विश्व विद्यालयका सहप्रध्यापक डा. प्रचण्ड मान प्रधान, जियो हजार इन्टरनेशलका इन्जिनियर दिनेश जोशी, गोर्खा इको प्यानका प्रमुख, इन्जिनियर कृष्ण भक्त दुलाल, भुकम्प मापन केन्द्र काठमाडौंका इन्जिनियर शोभाराम भट्टराई विधागत प्रस्तुति राख्ने आयोजकले जानकारी दिएका छन् ।
यसअघि पुस २० गते नेपालगन्ज उप–महानगरपालिकामा ईन्जिनियर तथा सब–ईन्जिनियरका लागि ३ दिने भुकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माण सम्बन्धि आधारभूत तालिम आयोजना गरिएको थियो । तालिममा नेपालगन्ज, गुलरिया नगरपालिका, कोहलपुर नगरपालिकामा कार्यरत प्राविधिक र परामर्शदाताको सहभागिता रहेको थियो ।
‘भवन निर्माण संहिताको बारे सैद्धान्तिक ज्ञानको आदानप्रदान गर्नका लागि तालिम आयोजना गरिएको थियो’, नेपालगन्ज उप–महानगरपालिकाका इन्जिनियर सुरज शर्माले भने ।