नक्कली ‘लट्री’को धन्दा

ठगीका लागि इमोमा पठाइएको नक्कली चिट्ठा
तपाई फेसबुक, भाइबर, ह्वाट्स एप, इमो जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्नुहुन्छ ? कतै तपाईलाई त्यस्ता सामाजिक सञ्जालमा चिठ्ठा परेको म्यासेज, तस्विर र भ्वाइस मेसेज त आएको छैन ! यदी त्यस्ता मेसेज तपाईलाई आएका छन् भने सजग हुनुहोस्, त्यसो म्यासेज, कलहरु तपाईलाई ठगीको शिकार बनाउने उद्देश्यले गरिएका हुनसक्छन् ।

 
प्रविधिको युगमा अपराधिक कार्यमा संलग्न हुने, ठगी गर्नेले इन्टरनेटको दुरुपयोग गर्दै ठगीको प्रयास गरेको खुल्दै आएको छ । भारतमा मोबाइल टावर, ‘कौन बनेगा करोडपति’, एटिएम राख्न तथा पेट्रोलपम्पका लागि जग्गा आवश्यक भएको र त्यसका लागि लाखौं रुपैयाँ प्रति महिना लाभ दिने भन्दै रकम असुली गर्दै आएको घटना सार्वजनिक हुँदै आएका छन् । ठगीमा संलग्नहरुले पुरस्कार तथा अन्य लाभका लागि न्यूनतम कर लगायतको शुल्क बुझाउनु पर्ने भन्दै रकम असुल्ने गरेका हुन् । नेपालमा पनि ठगीको प्रयास भएको पाइन्छ । गत बर्ष मोरङ्गमा भारत, पाकिस्तान र दुबईबाट चिठ्ठा पर्यो भनेर ठगी गर्ने भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बाँकेमा त्यस्तो ठगीका कुनै पनि उजुरी जिल्ला प्रहरी कार्यालयमा नपरेपनि नागरिकबाट ठगीको प्रयास भएको गुनासो भने सुनिन थालेको छ ।

 
आइतबार बाँके बैजापुरका भीम थारुलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको जानकारी इमोमा आयो । इमोमा म्यासेज सँगै उनलाई दर्जनौं पटक कल आयो । इमोमा पठाइएको नक्कली चिठ्ठामा २५ लाख रुपैयाँ परेको र एउटा नेपाली नम्बरलाई राजविर सिंहका नाममा सेभ गरी कल गर्न भनिएको थियो । भीमले केबीसी नेपालको नाम देखिएको इमोबाट आएको कल रिसिभ गरे । कलमा भनियो, ‘पुरस्कारका लागि आफ्नो नागरिकताको फोटोकपी पठाउनुहोस् हामी आइएमइ गरी तपाईलाई रकम पठाइ दिने छौं ।’ थारुलाई राजविर सिंहलाई फोन गरी बिस्तृतमा बुझेर रकम प्राप्त गर्न सुझाव समेत दिइएको थियो, चिठ्ठाबारे कसैलाई नबताउन कलरले चेतावनी पनि दिएका थिए ।
भीम २५ लाखको चिठ्ठा परेको भनेपछि खुशीले गद्गद् भए । तर, रकम प्राप्त गर्न माग गरिएको ३५ हजार उनीसँग थिएन । उनले आफ्नो दिदीलाई फोन गरे र ३५ हजारमा ५ हजार अपुग रहेकाले दिन अनुरोध गरे । उनकी दिदीले उक्त कल ठगीको भएको जानकारी दिएपछि उनको २५ लाख पाउने आशा मर्यो, ठगिनबाट जोगिए । भारतमा यस्ता ठगीका घटना धेरै भएका छन् । भारतमा भएका घटनाले नेपाली सजग छन्, त्यसैले होला जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीको उजुरी परेको छैन, तर ठग्ने प्रयास भने भैरहेको देखिन्छ ।

 
भारतमा ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्नेहरु नेपालमा को बन्छ करोडपति सुरु भएपछि त्यसै बहानामा ठग्न सुरु गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मेहनत विनाको आकस्मिक लाभमा विश्वास नगर्न अनुरोध गरेको छ । ‘पार्सल, इमेल, सामाजिक सञ्जालबाट ठगीको प्रयासका घटना सुनेका छौं’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘तर, बाँकेमा त्यस्तो उजुरी भने परेको छैन ।’ उनी अपराधीहरु ठग्नका लागि जुक्ति निकालिरहने भएकाले नागरिक आफै पनि सचेत हुनुपर्ने बताउँछन् । ‘पसिनाको फलमा विश्वास गर्नुस्, रातारात धनी बन्ने, आकस्मिक रुपमा लाखौं रुपैयाँ कसैले दिन्छ भन्ने सोंच नराख्नुस्’, प्रहरी उपरीक्षक पौडेलले भने, ‘कसैले कुनै पनि बहानामा आकस्मिक लाभका नाममा रकम माग्छ भने उजुरी गर्नुस्, हामी कारवाही गर्छौ, यसले अरुलाई पनि ठगीबाट बचाउँछ ।’ प्रहरी उपरीक्षक पौडेलले सामाजिक सञ्जालबाट हुने ठगीबाट जोगिन नचिनेका व्यक्तिहरुबाट साथी बन्न आउने अनुरोध अस्विकार गर्न सुझाव दिए । ‘प्रविधिको प्रयोग गरिसकेपछि चनाखो हुनुपर्छ’, उनले भने ।

 
सामाजिक सञ्जालबाट ठगीको प्रयास बाहिर आएपछि फोन तथा इन्टरनेट सेवा प्रदायस संस्था एनसेलले त्यसबारे सजग बनाउन सेवाग्राहीलाई म्यासेज समेत गर्ने गरेको छ । ‘ह्वाटसप, भाइबर र इमो जस्ता एपहरुबाट ठूलो धनराशीको पुरस्कार परेको भन्दै फोन वा म्यासेजबाट ठगी गरेको पाइएकोले यस्ता प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ’, एनसेलले म्यासेजमार्फत सेवाग्राहीलाई सचेत गराएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया