सीमाबाट सम्झाउँदै घर फर्काउँदै

यौन धन्दाको अँध्यारो कोठामा जीउन बाध्य नेपाली चेलीहरुलाई भारतका विभिन्न कोठीबाट उद्दार गर्न थालिएको छ । सीमाबाट नेपाली चेलीहरु भारतमा नबेचिउन् भनेर निगरानी गर्दै आएको माइती नेपालले भारतमै गएर पनि उनीहरुलाई कोठीबाट उद्दार गर्न थालेको हो ।

 
पछिल्लो बर्ष मात्रै भारतका कोठीमा नारकीय जीवन बिताउन बाध्य ७८ नेपाली चेलीलाई उद्दार गरिएको तथ्यांकले देखाएको छ । ‘सुरुङ्गमा लुकाएर राखिएका चेलीहरुलाई उद्दार गर्न सफल भएका हौं’, माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले सन् २०१८ मा गरिएका उद्दारको तथ्यांक जानकारी दिंदै भने, ‘विदेशी भूमिबाट मानव देहको व्यापार गर्नेहरुको चङ्गुलबाट चेलीमुक्त गर्न सक्यौं ।’

 
माइती नेपाल नेपालगन्जका संयोजक कोइराला सन् २०१८ मा आफै चेलीहरुको उद्दार गर्न पाँच पटक भारत पुगेका छन् । माइती नेपालले परिवारबाट प्राप्त जानकारी, बेचिएका चेलीहरुले गरेको सम्पर्क तथा सम्भावित भारतका सम्भावित स्थानहरुमा नेपाली चेलीको खोजी गर्दै आएको छ । ‘गोप्य तरिकाले आफ्नै च्यानलबाट खोज्छौं’, संयोजक कोइराला भन्छन्, ‘त्यसपछि उद्दारका लागि योजना बनाउने गरेका छौं ।’

 
विदेशी भूमिकाबाट यौनधन्दा चलाउनहरुको चङ्गुलबाट नेपाली चेली फर्काउनु कम चुनौति पूर्ण छैन । देह व्यापार विरुद्ध भारतीय प्रहरी तथा विभिन्न निकायहरुले सघाउने गरेपनि दलालहरुको स्थानीय प्रहरीसँगको साँठगाँठका कारण कतिपय बेला माइती नेपाल चुक्नु परेको छ । ‘हामीले छापा मारेका केही ठाउँमा फेला पर्ने निश्चित गरिएका पनि नभेटाएको स्थिति छ’, संयोजक कोइराला त्यसको कारक सूचना चुहिंदा हुनसक्ने अनुमान गर्छन् । गत बैशाखामा दिल्ली जेबी रोड ६४ र ७० मा माइती नेपालले ७ जना नेपाली युवती रहेको रेकी गरी छापा मार्यो । तर, फेला भने ३ जना मात्र परेका थिए । ‘भारतको प्रहरी प्रशासन र संस्थाहरुबाट सहयोग पाएका छौं’, उनी भन्छन्, ‘तर, कही न कही त्यो सूचना चुहिंदा खोजे अनुसार चेलीहरु फेला पर्दैनन्, कोठी सञ्चालकले भगाइ सकेका हुन्छन् ।’

 
संयोजक कोइरालाले भारतमा उद्दारका क्रममा घरको तल्लाहरुमा सुरुङ्ग बनाएर लुकाउने गरेको फेला पारेको जानकारी दिएका छन् । उनले माइती नेपालको टिमले सन् २०१८ मा भारतको दिल्ली, आगरा, मेरठ, सिमला लगायतका ठाउँमा छापा मारेको बताएका छन् । ‘रेण्डमली पनि चेली खोज्दै आएका छौं’, उनी भन्छन् ।
‘कोठीमा भोगेको नारकीय जीवन र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्दारलाई अस्वीकार गर्न खोज्छन्’, कोइराला भन्छन्, ‘त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानुनी उपचार र पुनस्र्थापनामा पनि सहयोग गछौं ।’ माइती नेपालले भारतमा कोठी सञ्चालक विरुद्ध मुद्दा दायर गर्न पनि सहजीकरण गर्दै आइरहेको छ । ‘मुद्दाका क्रममा चेलीहरुलाई भारतकै सुरक्षित सेल्टमा आश्रयको व्यवस्था पनि मिलाउने गरेका छौं’, संयोजक कोइराला भन्छन् ।

 
माइती नेपालले सन् २०१६ मा २६ र सन् २०१५ मा माइती नेपालले १६ जना बेचिएकाहरुको उद्दार गरेको थियो । भारतमा बंगलादेश, भारतकै विभिन्न ठाउँ तथा नेपालबाट युवतीहरु लगेर बेचिने गरेको पाइन्छ । तर, त्यहाँको सरकारले मानव बेचबिखन विरुद्ध कुनै ठोस कारवाही गरेको पाइँदैन । नेपाल सरकारले पनि मानव बेचबिखन विरुद्ध र विदेशी भूमिमा बेचिएकाहरुलाई नेपाल फर्काउन उल्लेख्य काम गरेको पाइँदैन ।
मानव बेचबिखन विरुद्ध सक्रिय संस्थाहरु सरकारले नै भारतमा बेचिएका चेलीहरु फर्काउन र उनीहरुलाई पुनस्र्थापित गर्न बृहत अभियान चलाउनु पर्ने धारणा राख्छन् । ‘सरकारी उदासिनताले पनि बेचिएका चेलीलाई नेपाल फर्काउन सहज छैन’, उनीहरु भन्छन् ।

 
माइती नेपालले सीमामा निगरानी गर्नुका साथै नेपाल भित्रै मानव बेचबिखन गर्दै सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । ‘दलालहरुले कसरी फसाउन सक्छन् भन्नेबारे सचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौं’, संयोजक कोइराला भन्छन्, ‘नेपाली चेलीलाई सचेत बनाउन सकियो भने बेचबिखनका घटना न्यूनीकरण गर्न सकिन्छ ।’
पछिल्लो समय सामाजिक सञ्जाल, फोन लगायतका प्रविधि पनि दलालहरुका लागि सहज माध्यम बन्दै गएको छ । ‘कम उमेरका युवतीहरु वैदेशिक रोजगारी र प्रेम बहानामा फँस्दै आएका छन्’, संयोजक कोइराला भन्छन्, ‘यसमा प्रविधिको दुरुपयोग पनि भैरहेको पाइन्छ ।’

 

सीमाबाट सम्झाउँदै घर फर्काउँदै

नेपालबाट भारत जाने नाकाहरुबाट जोखिमपूर्ण यात्रामा कोही पनि नजाउन् भनेर संघ, संस्थाहरुले चेक पोष्ट राखेका छन् । उनीहरु आशंका लागेकालाई रोक्ने, सम्झाउने र घर फर्काउने गर्दै आएका छन् । मानव बेचबिखन विरुद्ध सक्रिय रहेको संस्था माइती नेपालले मात्रै सन् २०१८ मा सीमाबाट परामर्श दिई ३ सय ८४ जनालाई घर फर्काएको छ ।

 
माइती नेपालले सन् २०१८ मा जोखिमपूर्ण यात्रामा रही सीमानाबाट उद्दार गरी आवधिक गृहमा ९२० जनालाई राखेको तथ्यांक छ भने मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुनर्मिलन ९ सय १८ जनालाई गरेको छ । ‘सीमामा हाम्रो निरन्तर निगरानी छ’, माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला भन्छन्, ‘जोखिमपूर्ण यात्रामा रहेकालाई सम्झाउने र घर फर्काउने, अभिभावकलाई बोलाएर सम्झाएर जिम्मा लगाउने काम गरिरहेका छौं ।’

 
अवैधानिक रुपमा भारतीय बाटो तेस्रो मुलुक जानेहरुलाई पनि माइती नेपालले रोक्ने गरेको छ । जोखिमपूर्ण रुपमा तेस्रो मुलुक जान हिडेकालाई सम्झाउन भने निकै कठिन हुने गरेको संयोजक कोइराला बताउँछन् । ‘दलालले पहिले नै सीमामा सोधपुछ भएमा के भन्ने भनेर सिकाएका हुन्छ’, कोइराला भन्छन्, ‘उनीहरुलाई विगतमा भएका बेचबिखनका घटना, असुरक्षित यात्राबाट भोलि हुन सक्ने जोखिमबारे जानकारी दिंदै सम्झाउने गरेका छौं ।’ रोजगारीका लागि हिडेकालाई सम्झाउँदा कि त रोजगारी देउ, कि जान देउ भन्ने गरेको संयोजक कोइराला बताउँछन् । ‘हाम्रो प्रयास जोखिमपूर्ण रुपमा रोजगारीका लागि नबिदेसिउन् भन्ने हो’, संयोजक कोइराला भन्छन्, ‘विदेशी भूमिमा गैसकेपछि समस्या भए उद्दार गर्न नै कठिन हुन्छ ।’

 
माइती नेपाल नेपालगन्जको पछिल्ला बर्षको तथ्यांक हेर्ने हो भने जोखिमपूर्ण रुपमा विदेशिनेको संख्या बढ्दो छ । सन् २०१७ मा मात्रै नेपालगन्जको रुपैडिहा नाकाबाट १ हजार ७१ जनाको उद्दार गरी आवधिक गृहमा पठाएको माइती नेपालको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो बर्ष सन् २०१६ मा १ हजार २ र २०१५ मा ५६६ थियो ।
माइती नेपालले सिमानाकाबाट परामर्श दिएर घर फिर्ता गराइएकाहरुको संख्या सन् २०१७ मा २२३ जना छ भने उक्त सन् २०१६ मा ५८७, सन् २०१५ मा ३५३ थियो ।

 
पछिल्ला बर्ष मानिस हराएर खोजिको आग्रह गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । माइती नेपाल नेपालगन्जको तथ्यांक अनुसार, सन् २०१८ मा ८७५, सन् २०१७ मा ८ सय ३४ जनाले खोजीका लागि निवेदन दिएका थिए । जसमध्ये सन् २०१८ मा १ सय ४० र सन् २०१७ मा १ सय ५४ जनालाई फेला पारिएको संयोजक कोइराला बताउँछन् । सन् २०१६ मा खोजीका लागि ७ सय ३१, सन् २०१५ मा ४ सय ६१ जनाले खोजीका लागि निवेदन दिएका थिए । जसमध्ये सन् २०१६ मा १ सय १३ र सन् २०१५ मा ५१ जना फेला पारेको तथ्यांक माइती नेपाल नेपालगन्जमा छ ।

 
माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले कसैले झुक्याएर बेचबिखनमा पार्न सक्छ भन्ने मूल्यांकन गर्न नसक्दा बेचबिखनको जोखिम बढेको बताउँछन् । कोइरालाका अनुसार, प्रेममा फसाएर, रोजगारीको वहाना, घरबाट भागेर भारत जानेहरु श्रम तथा यौन शोषणका लागि बेचिने गरेको पछिल्लो समय उद्दार गरिएकाहरुबाट खुल्दै आएको छ । त्यस्तै, मानव अङ्ग प्रत्यारोपरण, सर्कल लगायत अन्य कामका लागि पनि मानवबेचबिखन हुने गरेको घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।

 
पछिल्ला बर्षमा हराउने र जोखिमपूर्ण यात्रामा रहनेहरु मध्ये १८ बर्ष मूनिकाका बालिकाको संख्या पनि डरलाग्दो छ । माइती नेपाल नेपालगन्जको तथ्यांक अनुसार, सन् २०१८ मा १८ बर्ष मूनिका ४ सय १२ बालिकाहरुलाई आवधिक गृहमा प्रवेश गराइएको छ । सोही अवधीमा आवधिक गृहमा प्रवेश गर्ने बालकको संख्या ३१ र सो उमेर समूह भन्दा माथिकाको संख्या ४ सय ७७ रहेको छ ।

 
माइती नेपाल नेपालगन्जमा हराएकाहरुको खोजीका लागि आउने गरेको निवेदनमा बालिकाहरुको संख्या पनि ठूलै रहेको छ । सन् २०१८ मा १८ बर्ष मूनिका बालबालिकाहरुका खोजिदिनका लागि ३ सय ३२ वटा उजुरी आएका थिए । सोही अवधीमा १८ बर्ष मूनिका १ सय २८ बालक र सो उमेर समूह भन्दा माथिका ४ सय ९५ को खोजीका लागि निवेदन माइती नेपालमा परेको थियो ।

 
आधुनिकता, प्रेम, प्रविधिको दुरुपयोग, विलासिताप्रतिको बढ्दो आकर्षणले प्रलोभन लगायतका कारण १८ बर्ष मूनिका बालबालिकाहरु जोखिपूर्ण यात्रामा जाने तथा हराउनेहरुको उल्लेख्य संख्या रहेको संयोजक कोइराला बताउँछन् । ‘लहैलहैमा लागेर घर छाड्ने टिनएजरहरु धेरै पाइन्छन्’, उनी भन्छन्, ‘पछि पछुताउनु भन्दा अभिभावकले सन्तानको निगरानी गर्नुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया