कसरी बन्छ रंगशाला ?, स्थानीय तहबाटै असहयोगको गुनासो

 


माघको अन्तिम साता नेपालगन्जमा भव्य समारोह बीच राष्ट्रपतिद्वारा आठांै राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटनको तयारी छ । भौतिक पूर्वाधार निर्माणका कारण मंसिरको तेस्रो साता हुने भनिएको आठौं राष्ट्रिय खेलकुद सारेर माघको २५ गते देखि फागुन ५ गतेका लागि निर्णय गरिएको छ । तर, अझैपनि भौतिक पूर्वाधारको स्थितिका कारण आठांैको अन्योलता यथावत छ ।

 
‘पटकपटक भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक ढुंगा गिट्टी, बालुवाका लागि स्थानीय तहलाई गुहार लगाउँदा कतैबाट सुनुवाई भएन’, सोमबार अबेर राती पनि निर्माणमै खटिएका क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भिम ओलीले निराश हुँदै भने, ‘सरोकारवाला निकायबाटै अपेक्षित सहयोग भएन ।’
सहरमा धमाधम निर्माण कार्य भैरहेका छन् । ठेकेदारहरु आफ्नो संग्रहित निर्माणजन्य सामाग्री होस् वा ‘सेटिङ्ग’मा नदीबाट ढुंगा, गिट्टी, वालुवा भित्र्याएर होस् महंगोमै बेच्ने कुरामा कही कतै अवरोध देखिंदैन । तर, रंगशालामा प्रयोगका लागि ल्याइएको चार ट्रली नदीजन्य पदार्थ प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिइएका ट्याक्टर जिल्ला वन कार्यालय बुझाउँदै आएकोमा सोमबार भने जिल्ला समन्वय समितिलाई बुझायो । जिल्ला समन्वय समितिले डुडुवा गाउँपालिकालाई बुझाएपछि चार वटै ट्याक्टरले जरिवाना बुझाएर छुटेका छन् ।
‘हामीलाई जनप्रतिनिधिबाटै असहयोग भएको अनुभूति भएको छ’, ओलीले बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलसँग गुनासो गरे, ‘प्रहरी प्रशासनबाट सहयोग हुनुपर्यो ।’

 
यसअघि जिल्ला समन्वय समितिले हेर्दै आएको नदीजन्य पदार्थको ठेक्कापट्टामा स्थानीय तहले दाबी गरे । अन्ततः अधिकार सम्पन्न स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन्को अधिकार पायो । अहिले उक्त अधिकारको दुरुपयोग भएको अनुभूति कतिपयले गर्न थालेका छन् । ‘साउन, भदौंमै खोलिनु पर्ने ठेक्का अहिलेसम्म टेण्डर प्रक्रियामै अल्झाइएको छ’, अध्यक्ष ओलीले राष्ट्रिय गौरवका योजनाहरुलाई विशेष व्यवस्था गरेर दिन सकिने कुरालाई स्थानीय तहले उपेक्षा गरेको गुनासो गर्दै भने, ‘६/६ महिनासम्म टेण्डर प्रक्रिया अल्झाउनुको उद्देश्य के होला ?’ अध्यक्ष ओलीको आशंका जस्तै धेरैलाई लागेको छ, खुलेआम भैरहेको नदीजन्य पदार्थको तस्करीबाट तत्तत् निकायका जनप्रतिनिधिले अनुचित फाइदा लिइरहेका छन् ।

 
‘त्यसो होइन, प्रक्रियामै समय लागेको हो’, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘सबै प्रक्रिया पुर्याएर माघको पहिलो साताबाट नियमित औपचारिक रुपमै नदीजन्य पदार्थको उत्खनन् सुरु हुन्छ ।’ उनका अनुसार, माघ ४ गते टेण्डर खोलिंदैछ । बाँकेमा राप्तीसोनारी र डुडुवाले नदीपदार्थ उत्खनन्का लागि प्राकृतिक स्रोत साधनको उपलब्धता हासिल गरेको छ । ‘राप्तीसोनारी र डुडुवाको सम्भवत एकैदिन टेण्डर परेको छ’, अध्यक्ष चौधरीले भने । राप्तीसोनारीका अध्यक्ष लाहुराम थारुले आइइका कारण समय लागेको बताउँदै आएका छन् ।
डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरीले अत्यावश्यक आपूर्तिका लागि अमानतमा उत्खनन् दिने प्रस्ताव अघि सारिएपनि जिल्ला समन्वय समितिले नमानेको तर्क गरे । ‘त्यसमा कर्मचारीतन्त्रका कारण सहयोग पुगेन’, जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले दैनिक नेपालगन्जसँग भने, ‘यो सबै प्रक्रियामा खेलकुदका पूर्वाधार निर्माणमा परेको असरबारे म गम्भीर भएको छु ।’ प्रमुख श्रीवास्तवले तत्काल सरोकारवालाहरु बीच समन्वय गरी समाधान खोजिने कुराको प्रतिबद्धता व्यक्त गरे ।

 
यस्तै, अवस्था अझै केहीदिन रहे कुनै हालतमा पनि भौतिक पूर्वाधार निर्माण समयमा गर्न नसकिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीको भनाइ छ । ‘नेपालगन्जको समग्र विकासमा ऐतिहासिक प्रभाव पार्ने आठौंलाई सफल पार्न सिङ्गो बाँके जिल्ला एकजुट हुन जरुरी छ’, अध्यक्ष ओलीले भने, ‘त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा तिव्रता दिनुपर्ने अवस्था छ ।’

 
पटकपटक आठौंको पूर्वाधार निर्माणमा ढुंगा, गिट्टी, बालुवाको अभावलाई लिएर समस्या सिर्जना भएको विषय आफुकहाँ आइपुगेको बाँके प्रहरी प्रमुख पौडेलले बताए । ‘यसको तत्काल निकास खोजिनु जरुरी छ’, प्रहरी उपरीक्षक पौडेलले दैनिक नेपालगन्जसँग भने । अध्यक्ष ओलीले आवश्यक पहलका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई समेत पटकपटक आग्रह गरिएको जानकारी दिए ।

 
सम्बद्ध स्रोतका अनुसार, आठौंको भौतिक पूर्वाधारका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा निकासीका लागि निश्चित ठाउँ प्रयोग गर्न सबै पक्ष सहमत छन् । ‘राजश्व तिरेर ल्याउने कुरा भएकाले कहीकतैबाट बाधा नहुनुपर्ने’, अध्यक्ष ओलीले भने, ‘तर, खै किन अप्ठ्यारो परिस्थिति मात्रै सिर्जना गरिएको छ ।’ स्रोतका अनुसार, गाउँपालिकाले जिल्ला समन्वय समिति मार्फत अमानतको व्यवस्था गर्न अनुरोध गरेका थिए । ‘कानुनको अप्ठ्यारो देखाएर समन्वय समितिका कर्मचारीले असहयोग गरे’, जनप्रतिनिधि भन्छन् ।

 
आठौंको मुख्य आयोजना स्थलदेखि उद्घाटन समारोहसम्मको केन्द्र रहेको नेपालगन्ज रंगशालामा करोडौंका पूर्वाधारहरु निर्माण भैरहेका छन् । अत्याधुनिक रंगशाला, पौडी पोखरी, सुटिङ्ग रेन्ज, भारोत्तोलन एकेडेमी लगायतका करोडौंका पूर्वाधार निर्माण सकेर प्रतियोगिता उद्घाटनको लक्ष्य राष्ट्रिय खेलकुद परिषद्ले लिएको छ । ‘झण्डै पौने एक अर्ब लागतको पूर्वाधारमा अधिकांस नेपालगन्जमै छ’, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया