हत्या कि आत्महत्या !

माधुरी वर्णवालको असामयिक निधनपछि आरोप–प्रत्यारोप, प्रहरी भन्छ, पोष्र्टमार्टम रिपोर्टपछि बाँकी कुरा खुल्छ

प्रतिष्ठित व्यवसायी गोपिचन्द्र वर्णवालको घरमा भएको एउटा घटनालाई लिएर आरोप–प्रत्यारोप सुरु भएको छ । बुधवार राती वर्णवालकी बुहारी माधुरीको निधन भएको घटनालाई लिएर आरोप प्रत्यारोप सुरु भएको हो ।
एक बर्ष अघि वीरगन्जबाट विवाह गरी ल्याइएकी माधुरी वर्णवालका जेठा छोरी मनिषकी धर्मपत्नी हुन् । उनलाई वर्णवाल परिवारले झुण्डिएर आत्महत्या गर्न खोजेको भन्दै अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । ‘झुण्डिएको अवस्था देखेपछि हामी कानुनी भन्दा मानवीय दृष्टिकोणबाट ज्यान जोगाउन तिर केन्द्रित भयौं’, वर्णवालले दैनिक नेपालगन्ज भने, ‘उनको ज्यान जोगियोस् भन्नेमा ढोका फोडेर उनलाई अस्पताल पुर्याइएको हो ।’
माधुरीको माइती पक्षले भने छोरीको हत्या भएको आशंका गरेको छ । माइती पक्षले शनिबार पत्रकार सम्मेलन गरी प्रहरीलाई जानकारी नै नदिई ढोका तोडफोड गरी अस्पताल लगेको विषयलाई नै आशंकाको आधार देखाएको छ ।

 

श्रीमान् मनिष सहित तीन जना विरुद्ध किटानी जाहेरी दिएका माइती पक्षले पत्रकार सम्मेलन गरी निष्पक्ष अनुसन्धानका लागि सहयोग गरिदिन आव्हान गरे । ‘कुनै पनि छोरीले अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने कुराका लागि यो घटनाको न्यायिक छानविन र गम्भीर प्रहरी अनुसन्धान जरुरी छ’, माधुरीका बुबा वेद प्रकाशले पत्रकारहरुसँग भने । पत्रकार सम्मेलनमा माधुरीका माइती पक्षले सासु र बुहारी बीचको सम्बन्ध सुरु देखि नै राम्रो नरहेको दाबी गर्यो ।
वर्णवाल परिवारले भने घरकी जेठी बुहारी सबैको दृष्टिमा राम्रो रहेको र कुनै ‘अनवन’ नरहेको जनाएको छ । ‘बुधबार बेलुकी खानापछि श्रीमान् श्रीमतिबीच सामान्य विवाद भएको देखिन्छ’, ससुरा गोपिचन्द्र वर्णवालले आफ्नो परिवार पुरै स्तब्ध रहेको प्रतिक्रिया दिंदै भने, ‘मोबाइल चलाउने र नचलाउने बीचको अनबनमा पनि सुलह भैसकेपछिको केही बेरमा एक्कासी बुहारीलाई त्यो अवस्थामा देखियो ।’ उनका अनुसार, श्रीमान्, श्रीमति बीच मोबाइलको सामान्य विवादमा मोबाइल फोडेपछि सुलह भएको थियो ।
‘माइतीले आफ्नी छोरी गुमाएर शोकमा छ, हामी बुहारी गुमाए शोकाकुल छौं’, पत्रकार सम्मेलनमा आफ्नो परिवारमाथि लागेको आरोपबारे आफु दुःखी भएको भन्दै वर्णवालले दैनिक नेपालगन्जसँग भने, ‘एक महिना अघि मात्रै धुमधामले प्रथम विवाह उत्सव मनाएको बुहारीले एक्कासी यस्तो निर्णय किन लिइन् भन्नेमा हामी नै स्तब्ध छौं ।’
पोष्टमार्टम पछि शुक्रबार दाह संस्कार पनि गरिएको छ । ‘हामीले निकै अनुरोध गर्दा पनि दाह संस्कारमा माइती पक्ष सहभागी भएन’, श्रीमान् मनिषले दागबत्ती दिएको जानकारी दिंदै वर्णवाल परिवारले भन्यो । माइतीले भने हतारहतार आफुहरुलाई जानकारी नै नदिई दाहसंस्कार गरेको आरोप लगाएका छन् ।
घटनालाई लिएर प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले घटना स्थल प्रकृति मुचुल्का, शव जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानबाट यसै भन्न सक्ने अवस्था नरहेको बताए । ‘पोष्टमार्टम रिपोर्ट पछि एकिन कुरा भन्न सकिएला’, प्रहरी उपरीक्षक पौडेलले भने ।

प्रतिक्रिया

प्रतिक्रिया